मोरङको रंगेलीबाट ३ सय केजी गाँजासहित दुई पक्राउ

विराटनगर / प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।


प्रहरीले रंगेली नगरपालिका – १ बबियाका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
१५ वटा बोरामा ‘प्याक’ गरेर लुकाएको अवस्थामा बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि साँझ विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।
गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशीसहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए। राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी कोइरालाले दिए। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।