कक्षा ७का विद्यार्थीले बनाए विद्युतीय गाडी

दूधे / झापा, शिवसताक्षी -११, दूधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत तीन जना विद्यार्थीले विद्युतीय जीप गाडी बनाएका छन् ।
विद्युतीय गाडीको आज विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक लालमणि सुवेदीले बताए ।उक्त गाडी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नगरमाया कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात विद्यार्थीहरुले सोही गाडीमा राखेर नगरप्रमुख थोप्रालाई दूधे बजार परिक्रमा समेत गराएका थिए ।
विद्यालयमा अध्ययरत प्रशन्न दवाडी, निशान शंकर र सन्देश बरालले स्थानीय बस्नेत गृलमा गाडी निर्माण गरेका हुन् । अध्ययनको समयबाहेक फूर्सदको समय मिलाएर करिव एक महीनाको अवधिमा विद्यार्थीहरु मिलेर चार पाङग्रे गाडी तयार गरेका हुन् । चार पाङ्ग्रे विद्युतीय गाडी निर्माण गर्न करिब रु १ लाख ५० हजार खर्च भएको विद्यार्थी निशान शंकरले जानकारी दिए । उनीहरुले यसअघि पनि विद्यालयमा रकेट, वाटर पम्प, सानो रिमोट कन्ट्रोल कार लगायतका सामाग्रीहरु बनाएका थिए । यस गाडी निर्माणका लागि केहीबाट सहयोग जुटेमा मोटरसाइकलको इन्जिनबाट चल्ने गाडी निर्माण गर्ने ती विद्यार्थीहरुको दावी छ ।
विद्यार्थी प्रशन्न दवाडीका अनुसार तीनजना सवारी गर्न सकिने उक्त गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टका चारवटा ब्याट्री र कन्ट्रोलर राखिएको छ । गााडी प्रतिघण्टा ३० किलोमिटरको गतिसम्म कुद्न सक्छ । गाडी बनाउन कार्टुन, प्लाइलगायतका सामान प्रयोग गरिएको छ ।
गाडीमा सवार पछि शिवसताक्षी नगरप्रमुख थोप्राले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले गाडी निर्माण गरेको कामको प्रशंसा गरे । त्यस्तै, उपप्रमुख कार्कीले विद्यार्थी नानीहरुले गाडी निर्माण गरेर नगर भित्रका सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्टता हासिल गरेको महशुष भएको बताईन् ।

