प्रधानमन्त्री हावाहुरी प्रभावित क्षेत्रमा, पूर्वी जिल्ला भ्रमण छोट्याएर काठमाडौं फर्किदै

१८ चैत, २०७५ काठमाडौं /  विभिन्न कार्यक्रममा सहभागि हुन पूर्वी जिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भ्रमण छोट्याएर काठमाडौं फर्किने भएका छन् । आइतबार आधा दर्जन कार्यक्रमका लागि पूर्व गएका प्रधानमन्त्री ओली राति बारा र पर्सामा कम्तिमा २७ जनाको ज्यान लिने गरी आएको हावाहुरीको घटनापछि राजधानी फर्किन लागेका हुन् । प्रधानमन्त्री ओली आज झापाको कार्यक्रमलाई स्थगित गरेर बारामा हावाहुरीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्नका लागि त्यसतर्फ जान लागेको प्रेस संयोजक चेतन अधिकारीले समाचार दैनिक डटकमलाई जानकारी दिए । प्रधानमन्त्री ओली आज दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रम, दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन, भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा सहभागि हुने कार्यतालिका भएपनि सबै कार्यक्रम स्थगित गरेर हावाहुरीले क्षति पुर्याएको प्रभावित क्षेत्रमा जान लागेका हुन् । प्रधानमन्त्री ओली हावाहुरीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि पीडित परिवारसँग भेटघाट गरी काठमाडौं फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए । उनले राजधानी फर्केर घटनाबारे आवश्यक निर्णय लिने बुझिएको छ । प्रधानमन्त्री ओली आएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने र बारा र पर्साको घटनाबारे केन्द्र सरकारका तर्फबाट निर्णय लिने तयारी छ ।

सोमबार, १८ चैत, २०७५, बिहानको १०:२४ बजे

सम्बन्धित खवर