भीम पराजुली  महानगरपालिकाका प्रमुख हुन । २० वर्षपछि स्थानीय तहमा जननिर्वा्चित पदाधिकारी आएर कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । पराजुलीले आफ्नो पाँच वर्षे कार्यकालमध्ये एक वर्ष महानगरको प्रमुखको नेतृत्वमा बसी पूरा गरिसकेका छन् । प्रदेश १ को अस्थायी राजधानीसमेत रहेको विराटनगरमा विकासको सम्भावना र चुनौती बराबर छन् । राजनीतिक विरासत र औद्योगिक सहरको परिचय बोकेको विराटनगर पछिल्लो केही दशकयता विकासमा देशका अन्य सहरसँगको प्रतिस्पर्धामा खरो उत्रन नसकेको समेत टिका टिप्पणी हुने गरेको छ । प्रस्तुत छ यही सेरोफेरोमा पराजुलीसँगको कुराकानी=

स्थानीय सरकारको रुपमा व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी पाउनु भएको छ, कस्तो अनुभव भएको छ ? अनि महानगरका प्रमुख प्राथमिकताका क्षेत्र के के हुन ?

हामीले कानुन बनाउने, विकास निर्माण र न्याय सम्पादनको समेत काम गर्नुपर्ने जिम्मेवारी छ । स्थानीय सरकारको रुपमा आएपछि धेरै जिम्मेवारी बढेको छ । स्थानीय सरकारको नेतृत्व लिनु चानचुने विषय होइन । हामीमा अहिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार पनि छ । सबैलाई समन्वय गरेरै अघि बढ्ने योजना छ । शिक्षालाई पहिलो प्राथमिकता दिएका छौं । सामुदायिक विद्यालयलाई शैक्षिक र भौतिक पूर्वाधारको हिसाबले अब्बल बनाउन कामको पनि थालनि भएको छ । नमुना विद्यालय बनाउन पाँचवटा विद्यालयलाई छानेर ५० लाखको दरले सहयोग गर्ने रणनीति बनाएका छौ ।

एउटा मदरसा र एउटा संस्कृत विद्यालयलाई पनि समेटेका छौं । विराटनगरका ५४ वटा सामुदायिक विद्यालयमध्ये ३२ वटा विद्यालयमा आधारभुत तहबाटै अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरिएको छ । आधारभुत विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्ने हाम्रो लक्ष्य हो । कोशी अञ्चल अस्पतालमा टिचिङ अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारसँग लविङ गरिरहेका छौं ।

अस्पतालमा ट्रली लैजाने गरी कालोपत्रे गर्न र ढल व्यवस्थापनमा समेत बजेट दिइएको छ । सरसफाइमा पनि काम गरेका छौ । विराटनगर १९ मा अन्तर्रा्ष्ट्रियस्तरको सभागृह निर्माण गर्न पाँच बिघा जमिन खरिद गरिएको छ । यो महानगरको ‘ड्रिम प्रोजेक्ट’ पजि हो । करिब तीन हजार मानिस अटाउने सभाहल बन्दैछ । महानगरको नेतृत्वमा सम्हालेपछि

पछिल्लो एक वर्षको अवधिमा के कस्ता काम गर्नुभयो ?

विराटनगर औद्योगिक र राजनीतिक इतिहास बोकेको सहर हो । मैले यो सहरको महत्व र गरिमा बुझेको छु । महानगरको नेतृत्वमा आउनु अघि पनि मैले विराटनगरको त्यो साखलाई पुनर्ताजगी गर्छु भनेर उद्घोष गरेको थिए । सपथ ग्रहणकै दिनदेखि सुशान, भ्रष्टचारमा शून्य सहनशीलता र विकासको गतिशिलता भन्ने मन्त्रलाई आत्मसात गर्ने भनेको थिएँ । त्यहीअनुसार अहिले पनि मैले काम गरिरहेको छु ।

सुशासन कायम गराउन महानगरबाट हुने ढिलासुस्तीलाई कम गर्दै सेवाग्रहीको चाहनाअनुसार नै काम गर्ने थिति बसालेको छु । मैले एक वर्षको तलबभत्ता पनि लिइन । मैले पाउने त्यो सुविधा पिछडिएको र विपन्न समुदाय पढ्ने सामुदायिक विद्यालयलाई सहयोग गर्नेछु ।

महानगरका सडक हिंडिसक्नु थिएनन् । पहिलो वर्ष विकाससँग सम्बन्धित जारी कामसँगै खाल्डाखुल्डी पुर्ने काम भयो । मोतिया बिन्दुको निःशुल्क अप्रेसन,छोरी बचाउ छोरी पढाउ अभियान,पहिलो सन्तान छोरी हुनेलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ रकम दिने कामको थालनि भयो । ज्येष्ठ नागरिकहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य उपचारको व्यवस्था गरियो । सुरुवात गर्र्यौ ।

तर, जनताको ढाड नै सेकिने गरी कर वृद्धि भएको भन्दै टिकाटिप्पणी र विरोध पनि भयो नी ?

हामीले करको क्षेत्र बढाएका छैनौं बरु करको दायरामात्र फराकिलो बनाउने भनेर केही निर्णय लिएका हौं । मानिस जन्मदा र मर्दा लिइने प्रमाण पत्रमा समेत नचाहिँदो गरी कर उठाइयो भनेर आलोचना भयो तर त्यसको होइन । मानिस जन्मेको वा मृत्यु भएको तथ्याक स्थानीय तहमा तुरुन्त अद्यावधिक हुनुपर्छ । तर हामी नगरवासीमा समेत यो विषयमा हेलचेक्र्याईं छ । बालबालिका जन्मिएर विद्यालय जाने उमेर नहुञ्जेलसम्म जन्मदर्ता नगराउने विकृति छ । मानिसको मृत्यु भएको पनि प्रमाण पत्र लिन धेरै समय लगाउने चलन बसेको छ ।
यस्तो विकृति रोक्न केही निर्णय भएकै हो । ३५ दिनसम्म दर्ता गराउनु पर्ने सरकारी नियमलाई वास्ता नगर्नेका लागि अवधि कटेर आए थप जरिवाना लिने व्यवस्था भएको हो करको दर थपिएको होइन । अरु करको दर बाहिर भनिए जस्तो बढाइएको छैन् ।
विगतमा अत्यधिक कर वृद्धि भएको विषयमा आन्दोलनको नेतृत्व गरेर दबाब दिने समूहमा म पनि थिए । जनताको पीरमर्का कम गर्न नै हामी नेतृत्वमा आएका हौं ।

एशियाली विकास बैंकको सहयोगमा जारी परियोजनाको काम के कसरी अघि बढ्दैछ ?

विराटनगर महानगरपालिकाभित्र सडक तथा ढल निर्माणको ठूलो परियोजना एशियाली विकास बैंकको सहयोगमा जारी छ । पहिलो चरणको काम ९९ प्रतिशत पूरा भएपछि हाम्रै पहलमा दोस्रो चरणको काम सुरु भएको छ । मझौला शहरी एकीकृत वातावरणीय सुधार परियोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ । सघन सहरी विकास परियोजनाको काम पनि चलिरहेको छ ।
यो विकास परियोजना अन्तर्गत विराटनगरमा भित्री तथा बाहिरी सडकहरु कालोपत्रे गर्ने, बर्खाको पानी नालामार्फत केसलिया र सिंघिया खोलामा मिसाउने । सहरको ढल प्रशोधन केन्द्रसम्म पुर्याएर मल र इन्धनसमेत उत्पादन गर्ने योजना छ । यो कामले पनि गति लिएको छ । अहिले सडकको दूरावस्था कम हुने क्रम सुरु भईसक्यो । धेरै ठाउँमा कालोपत्रे सडक र नाला निर्माणको काम पूरा भई सकेको छ ।
परियोजनाको काम हेरेरै विराटनगर महानगर नेपाल सरकारको तर्फबाट पुस्कृत भएको छ । नेपालभरि शहरी विकास कोषले गरेको योजनामा उत्कृष्ट भई विराटनगरले पुरस्कार पाएको हो । सघन सहरी विकास परियोजनाको अवधि दुई वर्षको हो । एक वर्ष पुरा भएको छ । यो परियोजना अन्तर्गतका काम पनि समयमै पूरा हुनेछ । अत्याधुनिक विराटनगर बसपार्क निर्माणको काम पुरा भएको छ । अब यो उद्घाटन मात्र हुन बाँकी छ ।

पूर्वाधार विकासमा विराटनगर पछि परेको भन्दै आलोचना हुने गरेको छ,पछिल्लो अवस्था के छ ?

जनप्रतिनिधि नहुँदाको अवस्थामा विकासले गति लिन नसकेको सत्य हो । तर, हामी आएपछि पूर्वाधारलाई समेत ध्यान दिएर काम गरिरहेका छौं । महानगरको पश्चिमपट्टिको नहरलाई वैकल्पि सडकको रु पमा विकास गर्ने कामको थालनि भएको छ । त्यहाँबाट औद्योगिक कच्चा पदार्थ बोकेर भारतबाट आउने मालवाहक गाडी पास गराउने योजना छ । यसो गर्न सकियो भने बजार क्षेत्रको ट्राफिक समस्यालाई नियन्त्रण गर्न सकिन्छ । विराटनगर–३ मा भ्यू टावरको डिपिआर हुँदै छ । त्यसको लागि लगभग ५० करोडको लागत अनुमान गरेका छौं ।


विराटनगर–५ मा वल्र्ड बैङक मेघासिटी अन्तरगत आधुनिक पार्क बनाउने तयारी छ । यो ५ विघा सात कठ्ठा क्षेत्रफलमा निर्माण हुनेछ । प्रादेशिक बसपार्कका लागि छिमेकी बुढीगंगा गाउँपालिकामा २२ बिघा जमिनको व्यवस्था गरेका छौ । डिपिआर सुरु भइसकेको छ । विराट राजको दराबार पुर्न्निर्माणको डीपीआरका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको छ । उद्योगी तथा व्यवसायीसँगको सरसल्लाहमा यसको काम अघि बढ्नेछ । उद्योगी सुरेन्द्र गोल्छाको संयोजकत्वमा समिति समेत गठन भएको छ । विराटराजाको दरबारको काम आउँदो ४ वर्ष्भित्र पूरा हुनेछ । यसको अवलोकन गर्न संसारभरका हिन्दू तथा अन्य धर्मालम्बी विराटनगर आउने अपेक्षा छ । विराटनगर १९ र १५ मा १५÷१५ बेड क्षमताका अस्पताल निर्माण गर्न २÷२ करोड रुपैयाँ विनियोजन भएको छ ।

फोहोरको समस्या निकै ठूलो चुनौतीको रुपमा देखिएको छ, यसको व्यवस्थापनका लागि के कस्ता काम हुँदैछन् ?

मोरङको डंग्राहामा फोहोर व्यवस्थापनका लागि महानगरले केही वर्षअघि जग्गाको समेत व्यवस्थापन गरेको थियो तर स्थानीयको विरोध र अववरोधका कारण त्यो परियोजना अघि बढ्न सकेको छैन । त्यसलाई निन्तरता दिन बहुउद्देश्यीय परियोजनाको रुपमा विकास गर्न अरु स्थानीय तहसँग पनि साझेदारीमा काम हुनेछ । हामीले छलफल अघि बढाएका छौं । अहिले विराटनगरको मात्र नभएर नयाँ सहर तथा गाउँपालिकाहरुको लागि पनि फोहोरको व्यवस्थापन निकै ठूलो टाउको दुखाइको विषय हो । सबैसँग साझेदारी हुन सकेमा डंग्राहामा संयुक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गर्न सकिन्छ ।

खानेपानी समस्या अझै उस्तै छ । नगरवासीले धाराको पानी लुगाधुन र चापाकलको पानी पिउन प्रयोग गर्नुपर्ने अवस्था कहिले हट्छ ?

तीन चार वर्षयता खासगरी विराटनगरको भित्री भागहरुमा खानेपानीको समस्या देखिन्छ । पानीमा भन्दा पनि विच्छ्याइएका पुराना पाइकको समस्या हो । २०१७÷०१८ सालतिरका पाइपबाटै पानी उपभोक्ताको घरसम्म पुगेको छ । त्यसबाट पाइप फुट्ने र नाली तथा ढलको पानी मिसिएर जाने गरेको गुनासो छ । खानेपानीको समस्या समाधानका लागि जापानी सहयोग नियोग जाइकासँग लविङ गरिरहेका छौ । एक घर एक धारा अवधारण अनुसार काम गर्ने तयारी छ । दातृ निकायसँग सहकार्य हुने अवस्था हुन्छ भन्ने विश्वास छ । नयाँ सडक तथा नाली निर्माण भएका धेरै ठाउँमा खानेपानीको पाइप सडक छेउको दुबैपट्टीबाट विस्तार गर्ने योजना छ । यति गर्न सकियो भने अहिलेको समस्या समाधान हुन्छ । पुष्पलाल चौकलगायत उत्तरी भेगमा भने खानेपानीको समस्या छैन । तल्ला क्षेत्रहरुमा पनि हामी नयाँ ढंगले काम गर्ने तयारीमा छौं ।

महानगर एक्लैको बजेटले मात्र सबै योजना पूरा गर्न सम्भव छ र ?

हामीले संघीय र प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा अनुदान पाउने व्यवस्था छ । महानगरले आफ्नो आम्दानीबाट पनि विकासका परियोजना चलाउन सक्छ । आन्तरिक स्रोतको सही परिचालन र संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानबाट समेत हामीले विकासलाई गति दिनु परेको छ । विराटनगरलाई बजेट बढाई दिन पनि हामीले लविङ गरिरहेका छौं ।

कर्मचारीबाट कत्तिको सहयोग पाउनु भएको छ ?

कर्मचारी र जनप्रतिनिधिबीच एक अर्काका पर्याय हुन । विवाद गरेर काम अघि बढ्न सक्दैन् । स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र जनताबाट निर्वा्चित भई आएका हामी जनप्रतिनिधिबीच नङमासु जस्तो हुनुपर्छ । महानगरमा कर्मचारीहरुले निकै मेहनत गरेर काम गर्नु भएकोछ । महानगरपालिकाले तय गर्ने सबै योजनालाई सार्थक बनाउन उहाँहरुको पनि ठूलो भूमिका छ । म बफादार भएर काम गरिरहेको छु । जानेर आफूले कहिल्यै गलत काम नगर्ने प्रतिबद्धता मैले जनता सामु नै लिएको छु । त्यी भएर भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने नारासाथ अघि बढेको छु । कर्मचारी वर्ग र अरु जनप्रतिनिधिबाट पनि सकारात्मक सहयोग मिलेको छ ।

तपाइँको कार्यकाल पूरा भइसक्दा विराटनगरको स्वरुप कस्तो होला ?

विराटनगरको स्वरुप नै फेरिएको हुनेछ । यो अवधिमा भारत जोगबनी–किमाथांका सडकको विराटनगर खण्ड पूरा भएको हुनेछ । सुन्दर, सफा र हराभरा विराटनगरको हाम्रो योजनाले धेरै मूर्त रुप पाएको हुनेछ । अनि प्रादेशिक राजधानी, क्षेत्रीय विमानस्थलसहित महानगर आफैले पूरा गर्ने प्रादेशिक सभाहल, क्षेत्रीय रंगशाला, विराट राजाको दरबार, सहरभित्र चिल्ला र फराकिला कालोपत्रे सडक तथा व्यवस्थित खानेपानीको प्रबन्ध भएको हुनेछ । बर्खाको पानीको निकासले डुबानमुक्त र व्यवस्थित नालायुक्त सहर बन्नेछ । त्यसैले म भन्छु मेरो कार्यकाल पूरा भई रहँदा नगरवासीले खोजे जस्तै विराटनगर प्राप्त गर्नु हुनेछ ।

Facebook Comments Box