सौर्यमण्डलमा अन्तरिक्ष यान

एजेन्जी, पुस १८, २०७५ / अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यु हराइजन्स’ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्बिर खिच्न सफल भएको छ । सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको अन्तरिक्ष यान न्यु हराइजन्सले अल्टिमा टुली नामक पिण्ड नजिक पुगेको अन्तरिक्ष यानले तस्बिरसहित कयौं जानकारी संकलन गरेको बीबीसीले उल्लेख गरेको छ । सौर्यमण्डलबाहिर सबैभन्दा धेरै दूरी पार गर्ने पहिलो अन्तरिक्ष यानले अबको केही महिनासम्म अन्तरिक्षमा नै रहेर अध्ययन गर्नेछ। यानले पठाएको सन्देश नाशाको स्पेनमा रहेको एन्टेनाले समातेको थियो। सन्देश पृथ्वीसम्म आइपुग्न समेत छ घण्टा आठ मिनेट लागेको नाशाको भनाइ छ। सौर्यमण्डलको अन्तिम ग्रह यमबाट एक दशमलब पाँच अर्ब किलोमिटर टाढा रहेको सो यानले सन् २०१५ मा नै यम ग्रह पार गरेको थियो। पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो अन्तरिक्ष यान छ अर्ब ५० किलोमिटरको दूरीमा रहेको थियो। यो अभियान पृथ्वीदेखि सबैभन्दा टाढा पुगेको एक सफल अभियान बन्न पुगेको छ। अन्तरिक्ष यानले पठाएको सिग्नल प्राप्त हुनासाथ मैरील्यान्डस्थित जोन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स विश्वविद्यालयको प्रयोगशालामा वैज्ञानिकहरुले ताली बजाएर खुसी मनाएका थिए।

