निर्वाचनताका गरिएको प्रतिबद्धता अनुसारनै काम गरिरहेको छु : मेयर खड्ग फागो

बैकल्पिक खवर

           खड्गबहादुर फागो, उर्लाबारी नगरपालिकाका नगरप्रमुख । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रदेश नं. १ मै दोस्रो बढी मतअन्तरले विजयी हुनु भएका प्रमुख फागो नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ को सभापति समेत रहनु भएको छ । उर्लाबारी नगरपालिकालाई समृद्ध बनाउने अभियानमा खटिरहनु भएका फागो बुबा चञ्चलाल फागो, ठूली आमा जयकाली फागो र नरमाया फागोमध्ये आमा नरमायातर्फका कान्छो छोरा हुनुहुन्छ । उहाँका दुई दाजु र पाँच दिदीहरू हुनुहुन्छ । दुई छोरा र श्रीमतीका साथ उर्लाबारी–५ मा बसोबास गर्दै आउनुभएका फागो नगर प्रमुखमा विजयी भएपछि निरन्तर जनताको सेवामा अहोरात्र खटिरहनु भएको छ । सडक कालोपत्रे, ग्राभेल, ड्रेन, बिजुली, पोल, कल्भर्ट, खानेपानी, बाटो, नहर, खोला, तटबन्धन, सिचाईलगायत, कृषि आधुनिकीकरण, उज्यालो नगर बनाउने अभियान लगायत जनताको दैनिकी आवश्यकता तथा समस्या समाधानमा निरन्तर खटिरहनु भएका नगर प्रमुख फागोसँग समसामयिक विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :                                                                                           
                                                                          लामो समय जनप्रतिनिधिविहीन स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनतामा कस्तो अपेक्षा पाउनुभयो ?
– जनप्रतिनिधि आएपछि जनताले अपेक्षा गर्नु स्वभाविक हो । जनताका अपेक्षा धेरै नै छन् । तीमध्ये स्रोत साधनले भ्याएसम्म अतिआवश्यक कार्यलाई प्राथमिकिकरण गरेर कार्यहरु अघि बढाइरहेको छौ । सबै भूगोललाई मध्यनजर गरी सबै क्षेत्र र तहको सामाजिक र पुँजीगत क्षेत्रको विकास छिटो होस् र दुरुस्त होस् भन्नेमा हामीले जोड दिइरहेका छौं ।
नगरको नेतृत्व सम्हालेपछि तपाईंले कस्तो अनुभव गर्नुभएको छ ?
– स्थानीय सरकारको नेतृत्व गर्न नगरवासीले अभिमत दिनुभएको छ । हामी संघीय प्रणालीको पहिलो स्थानीय जनप्रतिनिधि भएको हुनाले विविध विषयगत कानून निर्माण गर्दै नगर, वडा कार्यालय व्यवस्थापन, भवन व्यवस्थापन, कर्मचारी व्यवस्थापनका कार्यहरु गरिरहेको छु, त्यसैले धेरै अभाव र चुनौतीका बीचमा नगरको उज्ज्वल भविष्यको रूपरेखा कोर्ने प्रयासमा अघि बढिरहेकोे छु ।

नगरबासीलाई विकासको अनुभूति गर्ने गरी काम गर्नुभएको छ त ?
– हामी जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधि भएकाले नगरबासीलाई विकासको अनुभूति गराउने गरी विकास निर्माण लगायतका कामहरु गरिरहेका छौं । जनताको जनसरोकारका हरेक विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेर अघि बढिरहेको अवस्था छ । हाम्रा योजना छनोट तहमा नै हाम्रा नगरवासीको प्रत्यक्ष टोल–टोलबाट सहभागितात्मक योजना छनोट भएर आउने भएकोले हरेक कार्यको प्रत्यक्ष अनुभूति जनतासम्म पुगेको छ भन्ने लाग्छ । जनताको अपेक्षा धेरै हुनु स्वाभाविक नै हो । मैले जनतालाई छिटो छरितो तरिकाले सेवा दिने वातावरण बनाएको छु । जनताले सहज ढंगले सेवा पाउन सकून् भन्ने उद्देश्यले कर्मचारीहरुलाई सोही अनुसार निर्देशन दिएकोे छु । नगरको चौतर्फी विकासका लागि आर्थिक, सामाजिक, पर्यावरण, कृषि, स्वास्थ्य, शिक्षालगायतका काम भइरहेका छन् ।
तपाईंहरु निर्वाचित भएर आएपछि गरेका महत्वपूर्ण कामहरु के के हुन् ?                                                                                 
– हामीले आर्थिक वर्ष २०७४÷०७५ मा ६.३ किलोमिटर सडक कालोपत्रे, २० किलोमिटर डे«न, ४५ किलोमिटर ग्राभेल, १५ वटा कल्भर्ट तथा १० वटा भवन निर्माण भएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा ५.८१ किलोमिटर सडक कालोपत्रे, ४३ किलोमिटर डे«न, ३५.९१ किलोमिटर ग्र्राभेल, २१ कल्भर्ट, २९ भवन निर्माण भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा १.६४ किलोमिटर सडक कालोपत्रे, २३.२४ किलोमिटर डे«न, ३४ किलोमिटर कालोपत्रे, १० कल्भर्ट र ७ वटा भवन बनेका छन् । यसका अलवा नदी नियन्त्रण, शैक्षिक सुधारका कार्यक्रम, सीप विकास तालिम कार्यक्रम, कृषि उत्पादन बढाउन सिंचाइ, थ्रेसर, पावर टिलर, मिनी टिलर आदि व्यवस्था गरेका छौं । धेरै जनअपेक्षाका कामहरु भइरहेका छन् र यो प्रक्रिया निरन्तर रुपमा हुँदै जानेछ । कृषिमा दीर्घकालीन महत्वका योजना अन्तर्गत किसानलाई सहयोगका काम भइरहेका छन् । सिचाई कार्यका लागि कृषकहरुलाई ३ सय २७ वटा मोटर÷बोरिङ वितरण, उन्नत जातको खाद्यान्न, बिउ वितरण पहिलेभन्दा करिब १५–२५ प्रतिशत बढी उत्पादनमा सहयोग, कृषिमा यान्त्रिकीकरण र ब्यवसायिकरण गर्नका लागि कृषि औजार उपकरण कृषकको माग अनुसार वितरण गरिएको छ । जसमा पावर टिलर २५ वटा, मिनिटिलर ५ वटा, धान रोप्ने मेसिन १ वटा, टिपर ७ वटा, स्प्रेयर १३८ वटा, मकै रोप्ने मेसिन १९ वटा, मकै छोडाउने मेसिन ५४ वटा वितरण गरिएको छ । कृषकहरु सामुहिक र ब्यवसायिक खेतीतर्फ उन्मुख हुन थालेका छन् । गरिबीको रेखामुनी रहेका कृषकहरु समूहगत रुपमा कृषि कर्म गर्न अग्रसर देखिएका छन् । मौरीपालन तथा च्याउखेतीमा कृषकहरुलाई नगरपालिकाबाट कृषकको माग अनुसारको सामग्री प्रदान गर्नाले ब्यवसायमा कृषकहरुको आकर्षण बढेको छ । मौरीपालनको १३७ वटा घार वितरण महदानी ६ वटा, मह प्रशोधन मेसिन १ वटा, च्याउ खेतीमा ट्याक्टरमा जोडेर पराल काट्ने मेसिन वितरण गरिएको छ । नगदेबालीतर्फ तोरी, सूर्यमुखी, उखुलगायतमा आकर्षण बढेको छ । फलफूल खेतीमा कृषकहरुको आषर्कण बढेको छ भने आलुको बिउ उत्पादन गर्ने कार्य सुरुवात गरिएको छ । सीपमूलक र ब्यवहारिक तालिम सञ्चालन गरी ब्यवसायिक खेतीतर्फ उन्मुख गराउने, सामुदायिक खेतीलाई प्राथमिकतामा राखी कृषकको आवश्यकताअनुसार कार्यक्रम सञ्चालन रहेको छ । उन्नत जातको तरकारी खाद्यान्न सूर्यमुखी फलफूलको बिरुवा, लहरे तरकारी बालीको लागि मोहनी पासोलगायत वितरण गरिएको छ । त्यस्तै, वडाभरिका टोलहरुमा ७० वटा महिला समितिहरु गठन, सबै समितिहरुमा बचत परिचालन करिब १ करोड ५० लाख बचत, नगरपालिकाबाट विभिन्न कोषमा वितरण गरी परिचालनमा ७ लाख ७० हजार, २८ जनाले एडभान्स तालिम लिएर १९ जनाले सीपलाई निरन्तरता दिइरहेको अवस्था छ । २३ जनालाई ढाका तालिम दिई तान वितरण गरेको २१ जना उद्यमी भएको मासिक आम्दानी १० देखि १८ हजारसम्म आय आर्जन गर्ने अवस्थामा पुगेको छ । ४ हजार १ सय ७९ जना ज्येष्ठ नागरिक परिचयपत्र, ४ सय ९५ अपाङ्गता परिचय पत्र, १ सय १४ पूर्ण अशक्त अपाङ्गता, २ सय ३० अतिअशक्त, ७२ मध्यम अपाङ्गता र ५३ जना सामान्य अपाङ्गता वितरण गरिएको छ । अपाङ्गता भएका ब्यक्तिहरुको शिविर सञ्चालन गरिएको छ । जसमा ४ सय ९२ जनाले सेवा लिएका छन् । शिविरबाट सहायक सामग्रीको नाप जाँच गरी २ सय १८ वटा माग भएको छ । ३६ जना सहभागीहरुले लेबल २ सिलाई कटाई तालिम लिइरहेका छन् । जसमा १६ जनालाई सिलाई मेसिनको व्यवस्था गरिएको छ । ३० जनाले ब्युटिपार्लर तालिम लिइरहेका छन् भने ४० जना सहभागीहरुलाई स्तरोउन्नतिको लागि तालिमको तयारी भएको छ । ८० जनालाई नयाँ सीप विकास तालिमको तयारी भएको छ । ४० जनालाई ढाका तालिम दिने तयारी भएको छ । जसमा २० जना एड्भान्स तालिम र २० जनालाई बेसिक तालिम दिने तयारी रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकासका काम भइरहेका छन् । त्यस्तैगरी नगरवासीलाई छिटो, छरितो माध्यमबाट प्रदान गर्न एकिकृत सफ्टवेयर प्रणालीको विकास गरी सञ्चालनमा ल्याइएको छ । यी सबै जनताले प्रत्यक्ष अनुभव गर्ने कामहरू नै त हुन् । मैले जिम्मेवारी सम्हालेलगत्तै सेवाग्राहीको काम सहज ढंगले छिटो, छरितो बनाएको छु । जनताले सहजै सेवा लिन सक्ने गरी कर्मचारी परिचालन तथा कार्यालयको व्यवस्थापन गरिएको छ ।
नगर विकासमा तपाईंको प्राथमिकता के हो ?
– पहिलो प्राथमिकता नगरको दीर्घकालीन आन्तरिक स्रोतको व्यवस्थापन गर्ने हो । आन्तरिक स्रोतको व्यवस्थापन गर्न सकियो भने नगरको विकास र समृद्धि धेरै टाढा छैन । उर्लाबारीमा लाग्ने साप्ताहिक बजार व्यवस्थापन, कृषिमा आधुनिकीकरण र कृषि उपजको बजारिकरणका लागि अध्ययन, अनुसन्धानको काम भइरहेको छ । योसँगै नगरपालिकाबाट नगरवासीले दैनिक कामकाजहरू व्यवस्थित ढंगबाट पाउन सकून् । नगरवासीले नगरभित्रै रोजगारी पाउन सक्ने वातावरण निर्माण गर्ने, किसानका लागि उत्पादनमूलक क्षेत्र बनाउन सकियोस् । सामाजिक, आर्थिक, भौतिक रूपमा नगरलाई बलियो बनाउने किसिमका कामहरूमा सक्रिय छु । त्यस्तैगरी सभ्य र स्वस्थ्य नागरिक आवासको क्षेत्रका रुपमा यस नगरलाई परिचित गराउने योजना अनुसार समग्रमा मेरो कार्यकालभित्र नगरपालिकालाई एउटा नमूना नगरपालिकाको रुपमा स्थापित गर्ने सोच छ ।
नगरभित्र सम्भावनाका क्षेत्र के हुन् ?
– सुन्दर पर्यटकीय क्षेत्रले भरिपूर्ण नगरपालिका बनाउन सक्ने सम्भावना छ । नगरभित्र बेतिनी, लाम्पाते, बासेचौरी र बुढा महाराजथान सिमसार छन् । राजमार्ग नजिकै सडक, खानेपानी, विद्युत, सुरक्षा सबै हिसाबले उत्तम रहेकोले यी चार सिमसारलाई व्यवस्थित र व्यवसायिक बनाउन सकियो भने उर्लाबारी नगरपालिकाको दीर्घकालीन आन्तरिक स्रोतको रुपमा विकास गराउन सक्ने अवस्था छ । नगरभित्र पर्याप्त कृषियोग्य जमिन छ । ९ वटा वडा रहेको नगरभित्रका केही वडाबाहेक अधिकांश नगरवासी कृषिमा आश्रित छन् । त्यसैले नगरभित्र आधुनिक प्रणालीबाट कृषि उत्पादन गर्न सक्ने सम्भावना छ ।
पूर्वाधार विकासको अवस्था के छ ?
– खासगरेर अलि बढी पूर्वाधारको विकासमै ध्यान दिएका छौं । योजनामा परेका कामहरु नियमित रुपमा सञ्चालन भइरहेका छन् । १० लाखभन्दा माथिको बजेटका सबै पूर्वाधार विकासका योजनाहरु कालोपत्रे, बक्स कल्भर्टजस्ता योजनाहरु ठेक्का प्रक्रियामार्फत सञ्चालन भइरहेको छ । खास गरेर स्वरोजगार, उद्यमशीलताको कुरा, आर्थिक आयआर्जनतर्फ लाग्न आकर्षित र प्रेरित गर्ने गरी कार्यक्रम पनि अघि बढाइरहेको अवस्था छ । एक वर्षअघिसम्म कालोपत्रे भएको सडक राष्ट्रिय तथा शाखा मार्ग बाहेक घडेरी व्यवसायीले व्यवसायिक प्रयोजनका लागि मात्र केही स्थानमा निर्माण गरेका थिए । नगर पूूर्व दमकदेखि प्रवेश गरेर पश्चिमको सिमाना सुनझोडा पुलसम्मको ४ किमिको दुरी पार गर्दा उर्लाबारी ग्रामीण बजार जस्तो थियो तर एक वर्षपछि सोही मार्गमा यात्रा गर्नेले सबैतिर कालोपत्रे भएको सडक मात्र देख्दा यति छिटो कसरी सम्भव भएको भनेर आश्चर्य प्रकट गर्छन् । नगरमा २० वटा कालोपत्रे, ५२ वटा ड्रेनसहित ग्राभेल, १ सय वटा ग्राभेल र मर्मत सम्भार यो वर्ष भएका छन् ।
गरिबी निवारण सम्बन्धी कस्ता खालका कार्यक्रम छन् ?
– दलित, गरिब, असहायहरूलाई प्राथमिकतामा राखेर स्वरोजगारमूलक तालिमहरु प्रदान गरिरहेका छौं । हामीले नगर प्रोफाइल नै बनाएर गरिबी निवारणका लागि विशेष जोड दिइरहेका छौं । विपन्न परिवारलाई खाद्य सुरक्षा अन्तर्गत राहत सहयोग तथा सीप, क्षमता र सामान्य पुँजीको अभावमा जीविकोपार्जन गर्न कठिन भएका व्यक्ति वा समूहलाई उद्यमशीलतामा अग्रसर गराउने काम नगरपालिकाले गरिरहेको अवस्था छ । त्यस्तै, कृषकहरुलाई मध्यनजर गरी कोल्ड स्टोर स्थापना गर्ने, कृषि बजार स्थापना गरी उत्पादित कृषि उपज कृषकले सहज रुपमा बिक्री वितरण गर्न सक्ने वातारण सिर्जना गर्ने, खाद्यान्न बाली धानको बिउ उत्पादन भण्डारण प्याकेजिङ कार्यलाई प्राथमिकता दिने, प्रत्येक वडामा स्थान विशेष पकेट क्षेत्र छनौट गरी बाली उत्पादनमा आवश्यक सहयोग बिस्तार गर्ने योजना रहेको छ ।
चुनावी एजेण्डा के–के पूरा भए, के के बाँकी छन् ?
– आम नगरवासी समक्ष प्रतिबद्ध रहेका विशेषगरी हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेका अधिकांश कामहरु गरिरहेका छौं । खासगरी सडक, बिजुली बत्ती, कृषि, सिँचाइ, पशुपालनलगायतका कामहरु निरन्तर रुपमा भइरहेका छन् । चुनावका समयमा हामीले गरेका प्रतिबद्धताहरू हाम्रा कार्यकालमा पूरा हुन्छन् । हामीले चुनाव लक्षित विकास मात्रै होइन उर्लाबारी नगरपालिकालाई समृद्ध बनाउने अभियानमा पनि लागि परेको छु ।
समृद्ध नगरपालिका बनाउन के–के गर्दै हुनुहुन्छ ?
– उर्लाबारी नगरपालिकालाई समृद्ध क्षेत्र बनाउँदै यहाँका जनतालाई सुखी बनाउने उद्देश्यअनुरूप हामीले खासगरी विकास निर्माण, कृषि र पर्यटनलाई जोड दिइरहेको अवस्था छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा मूल रूपमा केन्द्रित गरेर विकास गर्दै लैजाने योजना बनाएका छौं । लक्षित वर्गलाई आयमूलक, रोजगारमूलक, सीपमूलक र उद्यमशीलतासँग जोडेर अघि लैजाने छौं ।
नगरको खास पहिचान के हो ?
– हामी उर्लाबारीलाई पर्यटनको गन्तव्य शहरको रुपमा विकसित गर्ने योजनामा छौं । किनकी त्यो सम्भावना उर्लाबारीमा छ । नगरमा भएका जैविक विविधताले भरिपूर्ण बेतिनी सिमसार क्षेत्र छ जहाँ विभिन्न प्रजातिका बनस्पति, वन्यजन्तु, चराचुरुङ्गी छन् । त्यसलाई व्यवस्थित गर्ने कार्य भइरहेको छ । त्यस्तै, मदन भण्डारी संग्रहालय, मञ्जुल संग्रहालय, विभिन्न धार्मिक प्रतिष्ठान, अन्य सिमसार भएकोले पनि अध्ययन र अवलोकनका लागि पर्यटक आउने बलियो सम्भावना छ ।

उर्लाबारीमा चुनौती के छन् ?
– भरपर्दो आम्दानीको स्रोत छैन । २०७१ मा नगरपालिका घोषणा भयो । तत्कालीन मधुमल्ला गाविसका ३ वटा वडा र साविकको राजघाट गाविस पूरै गाभेर २०७३ मा नगरपालिकाको क्षेत्र विस्तार गरियो । मावा, बक्राहा, तेली, सुनझोडा, सोल्टी, मिक्लुक, नुनसरीलगायतका खोलाले वर्षेनि ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको छ । सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायतमा पनि चुनौती कायमै छन् । सुकुम्बासी व्यवस्थापन पनि समस्या छ । हाल सुकुम्बासी आयोगमार्फत तथ्यांक संकलनको काम भएको छ । यसबाट सुकुम्बासी समस्या समाधान हुनेमा आशाबादी पनि छौं । हाम्रो अर्जुनदृष्टि भनेको यस ५ वर्षभित्रमा समुन्नत उर्लाबारीको परिकल्पना नै हो । त्यो कसरी बनाउन सकिन्छ भनेर विज्ञहरुसँग समेत परामर्श गरिरहेको छु ।
केन्द्र र प्रदेश सरकारबाट कस्तो सहयोग पाइरहनु भएको छ ?
–केन्द्र सरकार र प्रदेश सरकारले कानून बमोजिम दिनु पर्ने सहयोग पाइरहेको अवस्था छैन । नीति निर्माण होस् या योजना छनोट र सञ्चालनमा पनि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय भएको छैन । केन्द्रीय तहको सरकारसँग बरु अलिकति बढी छ । तर, त्यो पनि पर्याप्त छैन । प्रदेश सरकारले पनि कतिपय कुरा केन्द्रीय सरकारले गरेपछि गर्ने हुन् । त्यही भएर पनि समस्या भएको होला । तर, प्रदेश सरकारको पनि एकल अधिकारको सूचीका सवालमा स्थानीय तह र प्रदेशबीच समन्वय गर्ने भूमिका हुन सकेको छैन । तीनै तहबीच सहकार्यमा काम हुन सक्दा अझै बढी काम प्रभावकारी हुन सक्थ्यो ।
तपाईंको कार्यकाल पूरा भएपछि उर्लाबारी नगर कस्तो बन्नेछ ?
– नगरवासीले अनुभव गर्ने नमुना नगरपालिका बन्नेछ । चुनावअघि नगरभित्र केही कालोपत्रे सडक थिए, हाल धेरै सडक कालोपत्रे भइसकेका छन् भने कति हुने क्रममा छन् । ग्राभेल, डे«न निर्माणलगायतका काम भइरहेका छन् । विद्युत विस्तार, खानेपानीमा पहुँच, नगरभित्रका विद्यालयका शिक्षामा सुधार, नगरपालिकाको दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्ने गरी पर्यटकीय क्षेत्रको डिजाइन र व्यवस्थापनको काम धमाधम गरिरहेको छु । स्रोत खोजेर खोला तटबन्धनको कामलाई पनि तीव्रता दिएको छु । योजना बनाएरै नगरको आन्तरिक स्रोत जुटाउने काम गरिरहेको छु । किसानलाई उत्पादनमूलक आधुनिक कृषि प्रणालीमा जोड दिइरहेको छु । मेरो कार्यकालभित्र नगरको न्यूनतम विकास गरी आफ्नै आम्दानीमा टिक्न सक्ने समक्ष नगर बनाउन दिनरात नभनी मेहनत गरिरहेको छु ।
स्थानीय तहहरु भष्ट्राचारको अखडा बनेका कुराहरु पनि सुनिन्छ, ठेक्का पट्टामा केही प्रतिशत मेयर वा जनप्रतिनिधिले दिँदा सहज रुपमा काम हुने र नदिँदा बजेट नै रोकिने गरेको पनि सुनिन्छ । उर्लाबारी नगरपालिकामा के कस्तो छ ?
– नीति, नियम र परिधिभित्र रहेर काम गर्दा उर्लाबारीमा कसैलाई एक रुपैयाँ पनि दिनु पर्दैन । र, मापदण्ड विपरीत काम गर्ने कसैलाई छुट हुन्न । जनताले तिरेको करलाई हामीले तलमाथि गर्ने कुरै छैन । मैले अहिलेसम्म एक रुपैयाँ पनि भष्ट्राचार गरेको छैन । र, कसैलाई पनि भष्ट्राचार गर्न दिन्नँ ।

के छ भावी योजना ?
– व्यवस्थित र आधुनिक बसपार्क निर्माण, बक्राहा घाटलाई व्यवस्थापन गरी व्यवस्थित मुक्तिघाटको निर्माण गर्ने, उज्यालो नगर कार्यक्रमलाई निरन्तरता दिई नगरका हरेक क्षेत्रमा विद्युतीकरण गर्ने, आधुनिक कृषि प्रणालीको विकास गर्ने, गुणस्तरीय शिक्षा प्रणालीको अवलम्बन गर्ने, निजी क्षेत्रलाई समेत प्रोत्साहित गरी नगरमा मनोरञ्जन स्थल, पार्क, रिसोर्ट, फन पार्क सञ्चालन गर्ने, आफ्नै कार्यालय भवनमा सम्पूर्ण वडा कार्यालय सञ्चालन गर्ने, सिमसारयुक्त पर्यटकीय उर्लाबारी नगरको रुपमा परिचित गराउन नगरमा रहेका सिमसारस्थललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गरी नगरबाट प्रदान गरिने सेवा घर बसेर सेवाग्राहीले अनलाइन माध्यमबाट कर भुक्तानी र सेवा दिन सक्ने ब्यवस्था मिलाउने लगायत रहेका छन्- कमान्ड खबर बाट साभार

शुक्रबार, २० चैत, २०७७, दिउँसोको ०२:१८ बजे

सम्बन्धित खवर