बैशाख १९, २०७६ ताप्लेजुङ / तीस किलो अलैंची बोकेर सदरमुकाम फुङलिङ आएका मेरिङ्देन गाउँपालिका–५ का पेम्बा शेर्पाले दुई दिन बजार घुम्दा पनि बेच्न सकेनन् । ‘प्रत्येक व्यापारीलाई किनिदिन आग्रह गरें,’ बिहिबार बिहान निरास हुँदै शेर्पाले भने, ‘धेरै जनाले त नराख्ने भन्नुभयो। एक–दुई जनाले उधारोमा राख्ने भन्नुभयो। तर, भाउ पछि काट्ने गरी।’ तत्काल पैसा चाहिएकाले उधारोमा दिन नसकेको शेर्पाले बताए। श्रीमती बिरामी रहेकीले उपचारमा आवश्यक रकम जुटाउन उनी अलैंची बोकेर समरमुकाम आएका रहेछन्। त्यसैले अलैंची बजारमै थन्क्याएर ऋण खोजेरै भए पनि श्रीमतीको उपचार गर्ने मनस्थितिमा पुगेको शेर्पाले बताए। यस्तो अप्ठ्यारो शेर्पालाई मात्र परेको होइन। सबथोक छोडेर अलैंची खेती गरिरहेका जिल्लाका अधिकांश कृषकलाई नै परेको छ। अलैंचीको निरन्तर घट्दो मूल्यले किसानका साथै व्यापारी पनि समेत निराश भएका छन्। पछिल्लो साता फुङलिङमा अलैंचीको मूल्य प्रतिमन (४० किलो) २४ हजार रुपैयाँ भयो। व्यापारी अलैंची किन्न तयार छैनन्। ‘हामीले मन मारिसक्यौं,’ अलैंची व्यावसायी संघका जिल्ला अध्यक्ष बालमणि बराल भन्छन्, ‘४० हजार रुपैयाँ प्रतिमनका दरले गतवर्ष खरिद गरेको अलैंची गोदाम मै छ, त्यसयता ३५ मा झर्‍यो, ३० मा झर्‍यो त्यो पनि किनियो, हुँदाहुँदा अहिले २४ हजारमा आइपुगेको छ, माग आउँदैन, गोदाममा थुपारेर मात्रै के गर्नु ?’ बाँझो रहेको पाखा र जंगललाई हरियाली बनाएको अलैंचीले कृषकलाई लहलह धान फल्ने खेत र कोदो फल्ने बारीसम्म डोर्‍यायो। खेत र बारीमा खाद्यान्न बाली लगाउन छाडेर कृषकले अलैंची लगाए। केही वर्ष राम्रो आम्दानी पनि लिए। तर, लगातार ओरालो लागेको भाउले अहिले अलैंचीको भविष्यको विषयमा कृषक र व्यावसायी दुवै अन्योलमा छन्। अलैंचीको मुख्य बजार अन्तर्रा्ष्ट्रिय बजार नै हो। मुलुकभित्र उत्पादन भएको पाँच प्रतिशत पनि खपत हुँदैन। तर, अन्तर्रा्ष्ट्रिय बजारमा निर्यात दिनानु दिन घटिरहेको छ। मूल्यको उतारचढाव र बजार अभावले यतिबेला कृषकहरु अलैंची खेती छाड्ने अवस्थामा पुगेको बताउँछन्। कतिपय व्यपारी खरिद गरेको अलैंची बिक्री नहुँदा टाट पल्टेका छन्। आठराई त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्षसमेत रहेका पूर्ण सिटौला अलैंचीको व्यापारबाट ६ करोड घाटा भएको बताउँछन्। ‘राम्रो होला भनेर ठूलो परिणाममा अलैंची खरिद गरेको थिएँ, एक्कासी मूल्य घटेपछि ऋण लाग्यो,’ सिटौलाले दुखेसो पोखे, ‘झापाको बिर्तामोडमा रहेको घर बेचेर उक्त ऋण तिरेँ।’ अलैंचीले नराम्ररी डुबाएपछि व्यावसाय परिवर्तन गरेर उनले अहिले सुन्तला र रुद्राक्ष खेती सुरु गरेका छन्। पहाडी जिल्लामा उत्पादित सबै अलैंची झापाको बिर्तामोड र सुनसरीको धरानमा भण्डारण हुने गरेको छ। ती अलैंची विराटनगरको जोगबनी भन्सार भएर भारत निर्यात हुन्छ। भारत पुर्‍याएपछि मुम्बईमा भण्डारण गरिने व्यापारीहरु बताउँछन्। त्यहाबाट विभिन्न मुलुक निर्यात हुने गर्दछ। समुद्र सतहबाट आठ देखि एक हजार ८०० मिटरसम्मको उचाइमा राम्रो उत्पादन दिने अलैंची दुई हजार ४०० मिटरसम्म पनि फलेको छ। वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिमिटरसम्म वर्षा हुने ठाउँमा अलैंची फस्टाएको विज्ञहरु बताउँछन्। यस्तै, आठ देखि २० डिग्री तापक्रम र भिरालो चिस्यानयुक्त ओसिलो जमिन अलैंचीका लागि उपयुक्त हुने गर्दछ। ताप्लेजुङका गतवर्ष चार हजार २०० हेक्टर क्षेत्रफलमा भएको खेतीबाट दुई हजार ९०० मेट्रिक टन अलैंची उत्पादन भएको थियो।

Facebook Comments Box