कात्तिक १६, २०७६  झापा : जङ्गली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी मामा भान्जाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय अभिनाश राई र भोजपुर जिल्ला साल्पाचुली गाउँपालिका–५ का करिब ३५ वर्षीय मणिराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। मणिराम र अभिनाश मामा भान्जा हुन्।
बुद्धशान्ति–४ का परेसीकुमार राईको घरमा पाहुना आएका मणिराम र अभिनाश शनिवार बिहान माछा मार्न गएका थिए। सोही गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय नजिकै राखिएको जङ्गली हात्ती धपाउन विद्युतीय धराप लगाइएको थियो। कार्यालय नजिकैको खोलामा माछा मार्ने क्रममा धरापमा राखिएको बिजुली तारले पानीलाई छोएकाले मामा–भान्जाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।
घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box