काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार साँझ आधा घण्टाको फरकमा दुई सत्ता साझेदार दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्तिले अलग–अलग अल्टिमेटम दिएका छन् । नागरिक उन्मुक्तिले साँझ ८ बजेतिर बक्तब्य जारी गरेरै आफ्ना सांसद अरुणकुमार चौधरीलाई रिहाइ गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ भने रास्वपाले गृहमन्त्रीबारे निर्णय लिन २ दिनको समय दिएको छ ।

रास्वपाका नेताहरु बिहीबार नै सरकार छाड्ने तयारीमा थिए । केन्द्रीय सदस्य र सांसदहरुको बैठक चलिरहेका बेला प्रधानमन्त्रीसँगै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोन गरेपछि रास्वपा सभापति रवि लामिछाने रोकिएका छन् ।

प्रधानमन्त्रीलाई २ दिनको समय दिएको रास्वपाको प्रष्ट अडान छ, गृह मन्त्रालय आफ्नो दलले पाउनुपर्छ । नभए सरकारबाट अलग हुने निर्णय हुनसक्छ । यसले सत्तारुढ गठबन्धनमा आएको फुट त रोकिएको छ, तर टरेको छैन ।

बरु प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुकै काउण्टडाउनमा परेका छन् । अब उनले रास्वपा र नागरिक उन्मुक्तिको माग पूरा गर्र्ने वा समर्थन गुमाउने विकल्प मध्ये एक रोज्नुपर्ने हुनसक्छ । तेस्रो विकल्प चाहिँ प्रचण्डसँग नभएर रास्वपा र नागरिक उन्मुक्तिकै निर्णयमा भर पर्नेछ । त्यो भनेको दुबै दल अहिलेको अडानबाट पछाडि हट्दै सहकार्य जारी राख्ने निर्णयमा पुग्ने हुनसक्छ ।

Facebook Comments Box