एक महिने मध्यपहाडी यात्रामा डा. बाबुराम भट्टराईले देखेको चित्र

काठमाडौं, फागुन १९/   नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक महिना लामो मध्य पहाडी राजमार्ग (पुष्पलाल लोकमार्ग) को यात्रा पूरा गरेका छन् ।

माघ १५ गते पाँचथरको चिवा भञ्ज्याङबाट सुरु भएको आफ्नो ‘जनसंवाद यात्रा’ फागुन १५ गते बैतडीको झुलाघाट पुगेर टुङ्गिएको घोषणा भट्टराईले ट्वीटर मार्फत गरेका छन् ।

एक दशक लामो सशस्त्र द्वन्द्व–कालमा देशका अधिकांश पहाडी भेगको पैदल यात्रा गरेका डा. भट्टराईले शान्ति प्रक्रिया सुरु भएको १३ वर्षपछि पुनः ती क्षेत्रको यात्रा गरेका हुन् ।

एक महिना लामो अभियानको क्रममा डा. भट्टराईले प्रायः हरेक दिन रोचक जानकारी र तस्वीरहरू सार्वजनिक गरे । द्वन्द्वकालमा बास बसेका घर, त्यसबेलाका राजनीतिक सहकर्मीसँग भेटघाटका रोचक तस्वीर पनि उनले सार्वजनिक गरे ।

यात्राका क्रममा डा. भट्टराई र उनका सहयात्रीहरू स्थानीयकै घरमा बास बसेका थिए । आफ्नै पैसाले खाना खाएका थिए । पहिलो रातको बासबारे उनले ट्वीट गरे, ‘पाँचथरको च्यांगथापुमा स्थापित बौद्धिक व्यक्तित्व तथा शिक्षक जोडी डिल्ली दाहाल र योगमाया दाहालको घरमा रात्रीबास गरी बिहानबिहानै पुष्पलाल लोकमार्गको पूर्वी उद्गमस्थल चियोभञ्ज्याङतिर लागियो !’

भट्टराईले दोस्रो रात फिदिममा बिताएर हिँड्ने क्रममा ट्वीट गरे, ‘अरूण तरेर नाना तमोर तरेर …’ को धून सुन्दै दोश्रो दिनको यात्रा निम्ति तेह्रथुमको चुहानडाँडातिर लागियो !’ चुहानडाँडास्थित पहाडी गाउँको सम्भवतः सबभन्दा पुरानो क्याम्पस (स्थापित वि सं. २०१७ ) मा अत्यन्त रोचक र सार्थक अन्तक्र्रिया भएको ट्वीट गरे, ‘धन्यवाद प्राचार्य हिक्मत रायमाझी लगायतका मित्रहरू !’

माघ १६ मा उनले लेखे, ‘जनसम्बाद यात्राको दोश्रो दिन तेह्रथुमका विभिन्न स्थानमा सही अर्थको जनसम्बाद भयो ! आम जनता र जनप्रतिनिधिसँग एकअर्काका कुरा खुलस्थ ढंगले सुन्ने काम भयो ! विकासको अभावमा जिल्लाको जनसंख्या वर्षे्नि घट्दै गएको सुन्दा नमिठो अनुभूति भयो ! यहाँको लोकमार्गको निर्माणको गति पनि सुस्त देखियो !’

माघ १७ (जनवरी ३१) गते तेह्रथुमबाट भट्टराईले ट्वीट गरे, ‘२०१५ सालमा काङ्ग्रेसबाट निर्वा्चित सांसद ९३ वर्षीय तेजमान तुम्बाहाम्फेसँग राजनीतिको भ्रष्टीकरणवारे चिन्तापूर्वक छलफल ।’ आफूले सुरु गरेको पुष्पलाल लोकमार्गबारे उनले लेखे, ‘आम जनता र जनप्रतिनिधिसंग एकअर्काका कुरा खुलस्थ ढंगले सुन्ने काम भयो ! विकासको अभावमा जिल्लाको जनसंख्या बर्षेनी घट्दै गएको सुन्दा नमिठो अनुभूति भयो ! यहाँको लोकमार्गको निर्माणको गति पनि सुस्त देखियो !’

जनसम्बाद आकर्षक भएको उल्लेख गर्दै भट्टराईले त्यसको व्यवस्थापननिम्ति मेयर अर्जुन माबुहाङ्ग र समस्त नगरपालिका परिवारलाई धन्यवाद दिए । उनले पुराना शहरको संरक्षण गर्न पुष्पलाल लोकमार्गको चौडाइ ३१ मिटरबाट घटाउन र सिरिजङ्गा विश्वविद्यालय स्थापना गर्न माग गरेको ट्वीटरमा लेखे ।

जनसम्बाद यात्राको चौथो दिन पूर्व प्रधानमन्त्री भट्टराईले माघ १८ गते धनकुटा नगरपालिका– ३ मा लोपोन्मुख आठपहरिया राईको बस्ती र त्यहाँस्थित पर्यटकीय विकासको सम्भावना बोकेको चमेरे ओडारको अवलोकन गरे । उनले ट्वीटरमा लेखे, ‘यो जातिको भाषा लोप हुने खतरा रहेकाले स्थानीय आधारभूत विद्यालयमा आठपहरिया राई भाषा पढाउने व्यवस्था गर्न युवा वडाध्यक्ष विकास घिमिरेलाई आग्रह !’

धनकुटामा आधा दर्जन विविध प्रकृतिका कार्यक्रमपछि भोजपुरको जरायोटार हुँदै अबेर साँझ अरूण गाउँपालिकाको प्याउली पुगेको बताउँदै उनले लेखे, ‘स्थानीय तहसँगको अन्तरसम्बादमा जोड दिइएको यस अभियानमा सबै पार्टीका निर्वा्चित प्रतिनिधिहरूले देखाउनु भएको सद्भाव र दिनुभएको सहयोगनिम्ति आभारी छौं ।’

धनकुटाबाटै अर्को ट्वीट गरे, ‘विख्यात् अन्तर्रा्ष्ट्रिय धावक मीरा राईको जन्मथलो रहेको यस गापामा स्डेडियम बनाउने कुरा उचित लाग्यो !’

पाँचौं दिन भोजपुरको प्याउलीमा भेटघाट गरेको उल्लेख गर्दै डा. भट्टराईले लेखे, ‘अरूण गाउँपालिकामा पानी र बाँदरको समस्या प्रमुख रहेको थाहा पाउँदा बिडम्बनापूर्ण लाग्यो !’

जनताबाट सिक्ने र आफैँ रूपान्तरित हुने एकमहिने अभियान थियो– मध्यपहाडी जनसंवाद यात्रा । पाँचथरदेखि भोजपुरसम्म पहिलो पाँच दिने यात्रापछि भट्टराईले लेखे, ‘आमजनता तथा विभिन्न दलका स्थानीय जनप्रतिनिधिहरूको भूइँतहको सुझाव र न्यानो सद्भावबाट हामी अत्यन्त प्रज्वलित छौं ! भोजपुरको श्यामशीलामा सानो नानी सामुन्ने नतमस्तक हुँदाको भावुक क्षण अविस्मरणीय रह्यो !’

यात्राको छैटौँ दिन भोजपुरमा डा. भट्टराईको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीले पढेको भोजपुर बहुमुखी क्याम्पस र आफ्नो पालामा स्थापना भएको सुम्निमा पोलिटेक्निक इन्स्टीच्युटका शिक्षक र विद्यार्थीसँग जनसम्बाद गरे । उनले ट्वीटरमा लेखे, ‘शिक्षक भन्दा विद्यार्थी बढी तेजिलो देखेर थप खुशी लाग्यो !’

भोजपुरको अन्नपूर्ण गाउँपलिकाद्वारा आयोजित कार्यक्रममा भट्टराईले भने, ‘एउटा रुखको जरा जति माटोमुनि झाङ्गियो त्यति माटो माथी बलियो र राम्रो हुन्छ । त्यस्तै लोकतन्त्र पनि जति जनताको बिचमा पुग्छ त्यति मज्बुत र उपयोगी हुन्छ ।’

खोटाङको साकेला गापा–१, सेखुवामा भुटेको मकै–भटमास र मही–दहीको खाजा खाँदाको अनुभव साटे, ‘पुराना गाउँले दिनका रमाइला याद आए ! हाम्रा अभियन्ताहरू यसरी नै जनजीवनमा भिजेर असल राजनीतिको व्यावहारिक अभ्यासमा लाग्न प्रतिबद्ध बन्दैछन् !’

खोटाङको नुनथलामा २०५२ सालमा ‘जनयुद्ध’ को तयारीका बेला पैदलयात्रा गरेका रहेछन् भट्टराईले । २३ वर्षपछि अर्को यात्रापछि उनले लेखे, ‘ त्योबेला सहयोग गर्ने हर्कराज तामाङ अहिले जनसम्वाद यात्राको क्रममा उही जोशजाँगर तर उही दीनहीन अवस्थामा देख्दा निकै भावुकताको अनुभूति भयो ! हाम्रै जीवनकालमा ‘समृद्धि स् सबैका लागि, सधैँका लागि’ प्राप्त गर्ने अठोट अरू दृढ बन्यो !’

खोटाङबाट ओखलढुङ्गा हुँदै सिन्धुलीको ग्वालटार आइपुग्दा उनले ठूला नदी तरे तर खानेपानीको समस्या यस भेगको ठूलो समस्यो हो । यात्राको सातौँ दिन ग्वालटारबाट भट्टराईले ट्वीटरमा लेखे, ‘मध्यपहाडको दक्षिणी भेगमा पानीको समस्या सबभन्दा गम्भीर देखियो ! जबकि तमोर, अरूण, दूधकोशी, सुनकोशीमा पानी त्यत्तिकै बहिरहेछ ! राज्यको गम्भीर ध्यान जानुपर्यो !’

डा. भट्टराई २०५० सालमा ‘जनयुद्ध’ को पूर्वतयारीका क्रममा सिन्धुलीको ग्वालटार पुगेका रहेछन् । त्यसबेला खाना खाएकोर बसेको घरमा भीमबहादुर थापा र परिवारलाई भेट्दा रोमाञ्चक अनुभूति भएको उनले ट्वीटरमा लेखे, ‘पानी, स्वास्थ्य केन्द्र र व्यवस्थित बसोबास मुख्य समस्या !’

ग्वालटारमा २००७ सालको परिवर्तन अपूर्ण रहेको भन्दै संघर्षलाई निरन्तरता दिने क्रममा २००८ सालमा शहादत प्राप्त गर्नुभएका बाबुराम बरालप्रति श्रद्धाञ्जली पनि दिए ।

यात्राको आठौं दिन माघ २२ गते रामेछापको मन्थलीमा गजबको अन्तरसम्बाद सम्पन्न गरे । कार्यक्रममा नेकपाका नेता पूर्वसांसद देवशंकर पौडेल, मेयर रमेश बस्नेत, काङ्ग्रेस जिल्ला सभापति लवश्री न्यौपाने, उवासं महासचिव जनकनाथ दाहाललगायत सहभागी भए । सहभागीलाई धन्यवाद दिँदै डा भट्टराईले ट्वीटरमा लेखे, ‘पानी र सुक्खाग्रस्तको मुद्दा रामेछापमा झन् जटिल देखियो !’

माघ २४ गते काभ्रेको भकुण्डेबेसी पुग्दा मायाको चिनो र न्यानो सद्भाव नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मालाई धन्यवाद दिँदै भट्टराईले लेखे, ‘हामी यो यात्रामा बढीभन्दा बढी स्थानीय तहका जनप्रतिनिधिहरूबाट स्थानीय वस्तुस्थिति र संघीयता तथा भूइँतहको लोकतन्त्रको अवस्था बुझ्न चाहन्छौं !’

पाँचखालका मेयर महेश खरेलसहित नगरपालिका परिवारलाई धन्यवाद दिए । नगरपालिका परिवारलाई शुभकामना दिँदै लेखे, ‘पाँचखालमा मेरो पालामा शुरूवात भएको ‘सेज’ सहित व्यवस्थित नगर विकास होस् !’

पाँचखालकै सर्वमङ्गला क्याम्पसका विद्यार्थी र शिक्षकसँग ‘नेपालको विकास र समृद्धिको मार्ग्चित्र’ बारे गहन अन्तक्र्रिया भएको उल्लेख गर्दै डा भट्टराईले ट्वीट गरे, ‘समृद्धिको मार्ग्चित्रबारे यसरी देशभर बहस चले समृद्धि हाम्रै पालामा हुन्छ है !’ भट्टराईले काभ्रेबाटै सोनाम ल्होसारको उपलक्ष्यमा सबैमा प्रदेश ३ को काभ्रेबाट ‘ज्यावाडान्बा’ (शुभकामना) दिए– तामाङको साँस्कृतिक पहिरन लगाएको फोटो सार्वजनिक गरेर ।

चिवाभन्ज्यांगदेखि मेलम्चीसम्मका दशदिने जनसम्बाद यात्राको पहिलो चरण सम्पन्न गरेर एक दिनको विश्रामका निम्ति टोलीसहित डा. भट्टराई काठमाडौं आए । आफ्नो अनुभव ट्वीटरमा लेखे, ‘अत्यन्त सार्थक, रोमाञ्चक र उपयोगी यस ऐतिहासिक यात्रा । पाँचथरदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म पुग्दा पहाडी कृषि अर्थतन्त्रको ह्रास सबभन्दा टड्कारो देख्यौं ! काभ्रेको मन्डनदेउपुर र केही फाटफुट क्षेत्रबाहेक सर्वत्र बाँझो र सुक्खा छ ! अनि तरकारी र खाद्यपदार्थमा परनिर्भर नभए के हुने ? कृषिबारे गम्भीर बनौँ !’

एक दिनको काठमाडौं विश्रामको क्रममा केएमसीको डेन्टल कलेज हस्पिटलमा ‘दाँत तिखार्ने काम’ गरेको बताउँदै उनले लेखे, ‘ताकि माघ २६ देखि फागुन १५ सम्मको पश्चिम नेपालको बाँकी जनसम्बाद यात्रामा मकै र भटमास राम्ररी चपाउन सकियोस् !’

डा भट्टराई सहितको नयाँशक्ति पार्टीको टोलीले फेरि माघ २६ गते नुवाकोटको विदुर हुँदै दोस्रो चरणको यात्रा अघि बढायो । उनले ४८ वर्षअघि हिँड्दाको अनुभवसँग तुलना गर्दै लेखे, ‘निर्माणाधीन पुष्पलाल लोकमार्गको बाटो सामरीभञ्ज्याङतिर लागियो ! देउडी र कागुनेमा स्वस्फूर्त जनभेटघाट र कोणसभा भए ! मनमा चाहिं २०२७ सालमा अस्कलमा पढ्दा तीन दिन पैदल हिँडेर गोरखा पुगेको याद आइरह्यो ! ४८ वर्षमा खासै फरक लागेन !’
सोही दिन पूर्वप्रधानमन्त्री भट्टराईले अर्को ट्वीट गरे, ‘केही मुठ्ठीभर कमिशनखोरहरू छन् जसको कुनै पार्टी हुँदैन । कांग्रेस सत्तामा आए कांग्रेस कम्युनिस्ट आए कम्युनिस्ट बन्छन् । त्यही वर्गले सत्तासँग मिलेर भ्रष्टाचार गर्छ र अलिकति कमिशन नेतालाई बुझाउँछ र साथीहरू त्यसैबाट चुनाव जित्नुहुन्छ र सत्तामा जानुहुन्छ ।’

बाह्रौं दिनको जनसम्वाद यात्रालाई पानीले केही बाधा पुर्‍यायो । उनले लेखेका छन्, ‘वर्षासँगै निकै तल ओर्लेको हिमालको दृश्यास्वादन ! वर्षादेवीले टोखा–छहरे–त्रिशुली मार्ग अवरूद्ध गरिदिएकाले गल्छीतिरबाट गर्नुपर्‍यो ! छहरेको भेटघाट छुट्नेभो । यति महत्वको रणनीतिक बाटो पूरा गर्न नुवाकोटका वरिष्ठ नेताहरू र राज्यको ध्यान किन नपुगेको होला ? वर्षौंदेखि छहरे मार्ग अलपत्र छ ! अब ध्यान पुगोस् !’

यात्राकै क्रममा उनले संघीय संसद्मा प्रस्तुत शान्तिसुरक्षा सम्बन्धी विधेयकमाथि टिप्पणी गर्न पनि भ्याए । उनले ट्वीट गरे, ‘संघीयताको संवैधानिक प्रावधान,भावना र मर्म्विपरीत मात्र छैन, यसले जिल्ला र सिडिओलाई पञ्चायतकालीन अधिकार पुनस्र्थापना गरेर देश र लोकतन्त्रलाई उल्टो दिशामा फर्काउने प्रयत्न पनि गरेको छ ! यसको सबैतिरबाट सशक्त प्रतिरोध गरौं !’

धादिङको खहरेको कामीगाउँ पुगेका डा भट्टराईले शिल्पी समुदायको आरान, लोपोन्मुख पेशा, बुढीगण्डकीको डुवानबाट उठीवासको त्रास प्रत्यक्ष अवलोकन गरे । उनले ट्वीट गरे, ‘संविधानमा लेखिएका दलित अधिकार कागजको खोस्टो मात्र रहने हो कि भन्ने अनुभूति भयो ! शिल्पी (दलित भन्दा उपयुक्त शब्द?) समुदायको मुक्तिसंघर्ष लामो हुने देखियो है !’

जनसम्बाद यात्राको चौधौं दिन माघ २८ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको जनसम्वादपछि लेखे, ‘बुढीगण्डकी निर्माण नेपाल आफैंले छिटो गर्नुपर्ने र मुआब्जा छिटो उपल्ब्ध गराउनुपर्ने माग ! सल्यानटारको कुमाल बाहुल्य क्षेत्रमा सिंचाइ र रोजगारी प्रमुख समस्या ! यात्रा आजै गण्डकी प्रदेशको आरूघाट प्रवेश !’

गोरखाको आरूघाटदेखि चोरकाटे हुँदै पालुङटार सम्मको यात्रा निकै रोचक र शिक्षाप्रद रहेको भट्टराईले लेखे । त्यसपछि उनले ट्वीट गरे, ‘स्थानीय तहका पदाधिकारी साधनश्रोतको अभावमा खिन्न देखिए भने ठेकेदारहरूको मनोमानीले रणनीतिक सडकहरू अलपत्र पाइए ! पुराना बस्ती बचाउन लोकमार्गको ‘राइट अफ वे’ घटाउनुपर्ने देखियो !’

जनसम्बाद यात्राको मध्यतिर पुग्दा उनले लेखे, ‘गोरखाको पालुङटार, तनहुँको बाइसजँगार र लमजुङको तीनपीपलेमा जनता, स्थानीय तहका जनप्रतिनिधि र दलका स्थानीय नेताहरूको सहभागिता, उत्साह र सहकार्यको भावना बेजोड देखियो ! असल राजनीति र समावेसी विकासको एजेण्डामा जनस्तरको यो उत्साहले अझै गति लिओस् ! नेपाल बन्छ !’

गृहनगर पालुङटार नगरपालिका मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरूसँग अत्यन्त सार्थक भएको उनले उल्लेख गरे । लेखे, ‘ऐतिहासिक लिगलिगकोट र थुप्रै टारहरू रहेको पालुङटारलाई ‘लिगलिगकोट पालुङटार नगरपालिका’ नामाकरण गर्न र देशकै नमूना बनाउन विभिन्न सुझाव !’

लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माविका ९ कक्षाका विद्यार्थीहरूलाई फागुन २ गते छोटो शैक्षिक प्रवचन दिएको उल्लखे गर्दै ट्वीट गरे, ‘निकै सन्तोषको अनुभूति भयो ! सैद्धान्तिक र व्यावहारिक शिक्षाको उचित फ्यूजन र विद्यार्थीहरूमा नवप्रवर्तनात्मक चेत विकास नगरेसम्म हाम्रो समृद्धिको सपना पूरा नहुने कुरामा ध्यान पुगोस् !’

आफ्ना नातेदार सुन्दरबजारका उद्यमी किसान खुशीराम मिश्रको आलु तरकारी विउविजन बारीको अवलोकन गरेपछिको अनुभव शेयार गरे, ‘एकातिर समृद्ध नेपाल बन्छ भन्ने विश्वास जाग्यो भने अर्का्तिर सरकारी अनुदानमा कर्मचारीलाई ५० प्रतिशत घुस दिनुपर्छ भन्ने सुन्दा दिक्क लाग्यो !’

पर्वतको पातीचौरको जनसंवाद सकेपछि फागुन ३ गते उनले लेखे, ‘न कुनै चुनावको रौनक तर कास्कीको नौडाँडा र लुम्ले हुँदै अबेर साँझ पर्वतको पातीचौर पुग्दा जनताको उत्सुकतापूर्वक प्रतीक्षा देखेर निकै जिम्मेवारीबोध भयो ! अहिलेसम्म १९ जिल्लाका झण्डै चार दर्जन गाउँ र नगरपालिक पुग्दा धेरै ठाउँमा पूर्व प्रधानमन्त्री तहको मान्छे पहिलो चोटि पुगेको बताइयो ! धन्य हाम्रो देश !’

पोखरामा पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरूसँग रोचक सम्वादपछि लेखे, ‘विद्यार्थीहरू दलका अन्धभक्तभन्दा आलोचनात्मक र सिर्जनशील बन्नुपर्ने सुझाव !’

बाग्लुङको अन्तरक्रियापछि फागुन ४ गरे डा भट्टराईले ट्वीट गरेका छन्, ‘आकारमा सानो व्यापारिक केन्द्र भए पनि यहाँका उद्यमी÷व्यवसायी र उद्योग–वाणिज्य संघको क्रियाशीलता देशभरमै अग्रणी देखिन्छन् !’

बाग्लुङमा आयोजित ‘मध्यपहाडी लोकमार्ग र बाग्लुङको समृद्धि’ विषयक अन्तक्र्रिया पनि उत्कृष्ट रहेको उल्लेख गर्दै डा भट्टराईले भने, ‘बाग्लुंगमा गजबको जनसम्बाद ! गम्भीर र स्तरीय प्रश्न र सुझाव ! आकस्मिक झरीका बाबजुद विशाल जनसमुदायको धैर्यता ! सबैलाई मुरीमुरी धन्यवाद !’

सोही दिन पर्वत सदरमुकाम कुश्मास्थित उद्योग–वाणिज्य संघ हलमा सर्वपक्षीय जनसम्बाद गरेका उनले ट्वीटरमा लेखे, ‘बन्जीजम्पको रोचक अवलोकन ! गहिरो कालगण्डकी खोंचमा साहसिक पर्यटनको राम्रो सम्भावना !’

मोदी जलविद्युत केन्द्रको गेष्टहाउसमा रात्रीबास गरेर जनसम्बाद यात्रामा अघि बढ्न लाग्दा मोदी खोलामा मात्र सात आयोजनाबाट १२५ मेगावाट जलविद्युत योजना बन्दै गरेको थाहा पाउँदा औधी खुशी लागेको बताउँदै ट्वीट गरे, ‘सार्वजनिक र निजी क्षेत्र दुवैले यसरी उत्पादनमूलक रणनीतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाए देश बन्छ !’

माओवादी जनयुद्ध कालमा पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजार सानो थियो । त्यसको विकास र विस्तार केही वर्ष यता निकै तीब्रतामा भएको देखेपछि उनले ट्वीट गरे, ‘खुशी लाग्यो । एउटा सानो बजारको रूपान्तरणमा लोकमार्गको निर्माणले कति असर पार्छ, मनन गरौं !’

आफैँले नेतृत्व गरेको सशस्त्र जनयुद्धको क्रममा रूकुमकोटमा २०५७ मा भएको भीडन्तमा मारिएका ३२ सुरक्षाकर्मी र आठ माओवादी सेनाका लडकूको स्मृति स्तम्भमा डा भट्टराईले माल्यार्पण गरे । उनले ट्वीट गरे, ‘दुवैतर्फबाट शहीद भएकाहरूको सम्मानमा निर्मित संयुक्त स्मृति स्तम्भमा माल्यार्पण गर्दा शान्तिप्रक्रियाप्रतिको ठूलो दायित्वबोध अनुभूत भयो ! मेलमिलाप आयोगको काम यसरी नै छिटो पूरा गरौं !’

पूर्वी रुकुममा नेपाल टेलिकमले टेलिफोन सुविधा विस्तार नगरेकोका कारण २४ घन्टाजति संसदरबाट बेखबर हुँदाको पीडा पनि डा भट्टराईले महसुस गरे । ‘अर्बौंको मुनाफा गर्ने नटीसीले पूर्वीरूकुमका लुकुमलगायत अधिकांश गाउँमा टेलिफोन सुविधा विस्तार नगरेकाले बरू ठाउँठाउँमा एनसेल चल्ने रहेछ । २४ घण्टासम्म संसारबाट बेखबर रहियो !’, पश्चिम रुकुमको मुसिकोटबाट ट्वीट गरे, ‘जनयुद्धमा ११ जनाको शहादत दिएको खाममगर बाहुल्य लुकुमको मध्ययुगीन अवस्थाले आत्मग्लानी गरायो !’

मुसिकोटमा पूर्वमाओवादी डा. भट्टराईले पुराना साथीहरूसँग भेट्दा साथीहरूसंग भावमय क्षण भन्दै तस्विर शेयर गरे, जसमा विमला के सी (कृषिमन्त्री, कर्णाली प्रदेश), राजकुमार ‘आर्ट’ (सभापति, रूकुम जिल्ला समन्वय समिति), नर ब. पुन ‘तारा’ (सानी भेरी गाउपालिका प्रमुख) लगायत थिए । भेट्दा निकै आत्मीय कुराकानी र पुराना दिनका सम्झना भएको उनले उल्लेख गरे । सरकारी संयन्त्रबीचको अभावबारे ट्वीटरमा लेखे, ‘जिल्ला कार्यालयहरू, नगर र गाउँपालिकाहरूबीच समन्वयको समस्या सर्वत्र देखियो ! मुसीकोटमा कर्मचारी र नगरपालिकासँगको अन्तक्र्रियामा यो प्रष्टियो ! ध्यान पुगोस् !’

मुसीकोटमा सर्वपक्षीय जनसम्बादपछि उनले लेखे, ‘गम्भीर र उच्च कोटीको अर्थ–राजनीतिक छलफल ! समृद्धिको राष्ट्रिय अभियान पूरा गर्न सबै पार्टी र नागरिकहरू नयाँ सोचका साथ अघि बढ्न आवश्यक भएको ठहर !’

लामो समयपछि रुकुम पुगेका भट्टराईले तत्कालीन सशस्त्र द्वन्द्वको ‘आधारक्षेत्र’ को तीव्रबारे उल्लेख गरे । ‘रूकुमको मुसीकोट अत्यन्त प्रतिकूल भौगोलिक स्थानमा भएर पनि निकै तीव्र गतिमा विकास र विस्तार भएको देखेर खुशी लाग्यो’, उनले लेखे, ‘केही वर्ष पहिलेसम्म नाङ्गो पहाडको रूपमा रहेको वडा–१ को चन्दननाथ टोलमा अहिले क्लिन र ग्रीन होमस्टे बनिसकेछ ! त्यहाँ रात बिताएर राम्रो सेवासुविधा र आतिथ्यको अनुभव गरियो !’

नयाँ शक्ति पार्टीको उत्पादन तथा रोजगार विभागका प्रमुख भक्तबहादुर शाहको जाजरकोट खलङ्गानजिक कृषि उत्पादन केन्द्रको फोटो ट्वीटरमा राखेर भट्टराईले लेखे, ‘अरू गर्छन् कुरा हामी गर्छौं पूरा भन्ने हाम्रो चुनावी नाराको सम्झना भयो ! धन्यवाद, शाहजी ! सबैले वहाँबाट सिके कसो होला !’
डा भट्टराईले फागुन ९ गते रुकरमको चौरजहारीसम्म हिँडेपछि पानीको समस्याबारे फेरि ट्वीटरमा लेखे, ‘पूर्वको आठराईदेखि हलेसी, मन्थली,

सल्यानटार, पालुङटार हुँदै पश्चिमको चौरजहारीसम्म आइपुग्दा तल अरूण, दुधकोशी, तामाकोसी, बुढीगण्डकी, मस्र्याङ्दी र भेरीमा पानी बगेर जाने तर माथि टार र बस्तीमा खाने र सिंचाइ गर्ने पानीको हाहाकार देखियो ! राष्ट्रिय पानी उपयोग नीति चाहियो ! टाउके सबैको ध्यान पुगोस् !’

डा भट्टराईले जीवनमै पहिलोपल्ट दौरासुरुवाल लगाएर कर्णाली प्रदेश प्रवेश गरेको फोटो पोष्ट गरे जाजरकोटबाट । यो तस्विरले सामाजिक सञ्जालमा निकै चर्चा पायो । उनले तस्विरसहित गरेको ट्वीटमा लेखे, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा–सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो !’

जाजरकोटको तुलनामा दैलेखमा मध्य पहाडी (पुष्पलाल) लोकमार्गको निर्माण र समग्र विकास केही अघि देखिएको डा भट्टराईको मूल्याङ्कन छ । उनले भने, ‘तर दुल्लु नगरपालिका क्षेत्रमा देखिएका केही प्राकृतिक ग्यासका सम्भावनाहरूलाई अनुसन्धान र प्रयोगमा ल्याउनु सट्टा ‘ज्वालादेवी’ को रूपमा पुज्नु २१औं शताब्दीमा कति उपयुक्त होला ?’

आफ्नो पालामा सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको जाजरकोट खण्डको काम सन्तोषजनक नदेखिएको उनले ट्वीटरमा लेखे, ‘विशेषतः कार्कीगाउँदेखि झाप्रासम्मको खण्डमा ट्रयाक नै नखुलेको र गलत रिपोर्ट पेश गरेर भुक्तानी लिएको देखियो र सुनियो ! त्यस्तै अति आवश्यक चौरजहारी–कुदु पुल निर्माण वर्षौंदेखि अलपत्र देखियो ! तुरून्त छानवीन र निर्माण होस् !’

टेलिफोन सम्पर्कको अभावमा डा. भट्टराई पश्चिमी जाजरकोटमा फेरि सम्पर्क्बिहीन भए । उनले ट्वीट गरे, ‘पश्चिमी जाजरकोटमा टेलिफोन, बिजुली, बाटो, पानी आदि अत्यावश्यक पूर्वाधारको अभावमा जनसम्वाद यात्राको क्रममा पूरै एक दिन फेरि सम्पर्क्बिहीन भैयो ! तैपनि फागुन ९ गते दशेराको जनप्रिय माविमा हामीलाई दिइएको स्वागत अविस्मरणीय रह्यो ! धन्यवाद स्कूलका प्रधानाध्यापक र व्यवस्थापन समितिलाई ! आज दैलेख पुगियो !’
दैलेखको दुल्लुबाट डा भट्टराईले ट्वीट गरे, ‘तँ चिता,म पुर्याउँछु’ भनिन्छ ! हामी पनि पूर्वपश्चिम अठोटका साथ हिँड्दै गयौं, बीचमा साथीहरू भेटिदै जानुभयो ! खसराज्यको हिउँदे राजधानी दुल्लु (दैलेख)मा ४० बर्ष पहिले दिल्लीमा संगै पढ्ने साथी (घहाँ संस्कृत पढ्नुहुन्थ्यो) घनश्याम आचार्य भेटिनुभयो ! उहाँकै घरमा बसियो !’

दुल्लुबाटै अर्को ट्वीट गरे, जसमा एक हजार वर्षभन्दा अघिका स्तम्भ त्यसै पडिरहेको थियो । ’, उनले ट्वीटरमा लेखे, ‘‘प्राचीन खसराज्यको गृष्मकालीन राजधानी दैलेखको दुल्लुमा १०३८ विसंको दामुपालको अभिलेख, १४१४ को कीर्तिस्तम्भ, १२७६ को पाथर नाउली इ. अमूल्य ऐतिहासिक र पुरातात्विक सम्पदा त्यत्तिकै मिल्किएको पाइयो ! कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणि’ भनेजस्तै ! नगरपालिका मात्र भन्दा पनि संघ र प्रदेशको ध्यान पुगोस् !’

अछामको मंगलसेन र विनायकको जनसम्वादको क्रममा गजबको जनसहभागिता र उत्साह रहेको उल्लेख गर्दै डा भट्टराईले ट्वीटरमा लेखे, ‘द्वन्दकालमा ध्वस्त ऐतिहासिक दरबारको पुनर्निर्माण अलपत्र रहेकोमा स्थानीयको ठूलो आक्रोश पाइयो ! मंगलसेन बजारको आर्थिक पुनर्जागरणनिम्ति संघ र प्रदेशले समेत विशेष लगानी गर्नुपर्ने देखियो ! जिल्लाका ठूलाबडा कता ?’

डा भट्टराईले मध्य पश्चिम नेपालका केही पनि सुविधा नभएका गाउँहरू मिलाएर नगरपालिका घोषणा गरिएकोबारे फागुन १२ गते ट्वीट गरे, ‘दैलेखको दुल्लु, चामुण्डा÷विन्द्रासैनी र आठबीस नगरपालिकहरू हुँदै अछामको पञ्चदेवल विनायक नगरपालिका पुगियो तर नाउँ नगरपालिका भए पनि बाटो, बिजुली, पानी, सञ्चार लगायत कुनै पूर्वाधार नभएका यी ठाँउँमा पूरै एक दिन सञ्चारविहीन भइयो ! गरीबको नाउँ धनबहादुर र धनमाया राख्दैमा के फरक पर्छ र ! भन्ने ठट्टा पनि चल्यो !’

डोटीको सिलगडीमा आकर्षक जनसम्बाद र कोणसभा गरेपछि उनले त्यस भेगको छाउपडी प्रथाबारे ट्वीटरमा लेखेका छन्, ‘मेयर मञ्जु मलासी सावदका अनुसार नगरपालिकाभित्र मात्रै २०० भन्दा बढी छाउपडी गोठ छन् ! कमसेकम यो मध्ययुगीन कुप्रथालाई सबै मिलेर तुरून्त अन्त्य गर्न सुझाव दिइयो !’

अछामको बयालपाटा अस्पताल भने देशकै नमूना अस्पताल लागेका डा भट्टराईको मूल्याङ्कन छ । ‘अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा नेपालकै निजीक्षेत्र र सरकारी अनुदानमा सञ्चालित यस अस्पतालले वर्षेनी एक लाख बिरामीको उपचार, पूर्ण डिजिटल प्रविधि, सामुदायिक र दिगो स्वास्थ्य र पूर्ण निःशुल्क सेवा दिएको पाइयो । बधाइ युवा डाक्टरहरू !’

आइतबार, १९ फागुन, २०७५, बिहानको ०९:०६ बजे

सम्बन्धित खवर