ओलीविरुद्ध प्रतिबद्ध हुन नेपाल समूहले निकाल्यो संयुक्त वक्तव्य, हस्ताक्षर गर्ने ११ जना

काठमाडौँ / नेकपा एमाले माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को गर्दै स्वेच्छाचारी निर्णय गर्दै गएको भन्दै सम्पूर्ण नेता कार्यकर्तालाई पार्टीको हितप्रति प्रतिबद्ध हुन आह्वान गरेको छ ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यो समूहले पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने प्रधानमन्त्रीको दुराशयकै निरन्तरता भएको उल्लेख गरेको छ ।

अध्यक्ष ओलीकै कारण चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला बाध्य हुनुपरेको पनि उल्लेख गरिएको छ ।

११ जनाद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ– ​

नेपाल कम्युनिष्ट पार्टी (एमाले)–नेकपा (एमाले), को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ । राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास भइरहेको छ । आफैले गोप्य सम्झौताका साथ घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँगको एकीकरणका विरुद्ध अनेकौँ षडयन्त्र गर्दै पार्टी एकतालाई भङ्ग गर्न उद्दत केपी शर्मा ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुनर्जिवित नेकपा (एमाले) लाई समेत विभाजन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुस्प्रयत्न भइरहेको छ । नेपाली जनताले पाँच बर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्।

वक्तव्यमा हस्ताक्षर गर्ने ११ जना

झलनाथ खनाल – वरिष्ठ नेता, केन्द्रीय कमिटी
माधव कुमार नेपाल – वरिष्ठ नेता, केन्द्रीय कमिटी
युवराज ज्ञवाली – उपाध्यक्ष, केन्द्रीय कमिटी
अष्टलक्ष्मी शाक्य – उपाध्यक्ष, केन्द्रीय कमिटी
भीम रावल – उपाध्यक्ष, केन्द्रीय कमिटी
घनश्याम भुसाल – उपमहासचिव, केन्द्रीय कमिटी
भीम आचार्य – सचिव, केन्द्रीय कमिटी
गोकर्ण बिष्ट – सचिव, केन्द्रीय कमिटी
योगेश भट्टराई – सचिव, केन्द्रीय कमिटी
मुकुन्द न्यौपाने – सदस्य, स्थायी कमिटी
सुरेन्द्र पाण्डे – सदस्य, स्थायी कमिटी

शनिबार, २१ चैत, २०७७, बिहानको ०९:३३ बजे

सम्बन्धित खवर