दमक/  दमकमा अबैधानिक ब्यवसायी बढेपछि दर्तावाला बैधानिक ब्यवसायीले सबैखाले ब्यवसाय करको दायरामा ल्याउन माग गरेका छन् । झापा दमकका फर्निचर तथा फर्निसिगं व्यवसायीहरुले अझै ठुलो संख्यामा भारतीयहरुले करको दायरा बाहिर बसेर दमकमा खुलेआम व्यवसाय सञ्चालन गरिरहेको खुलासा गरेका छन ।
फर्निचर तथा फर्निसिगं व्यवसायी संघ दमकले गरेको अनुगमनका क्रममा विभिन्न घर तथा कार्यलय एवं व्यवसायिक फर्म प्रतिष्ठानहरुमा खुलेआम गैह्रनेपाली ठेकेदारहरुले कामको जिम्मा लिने गरेको पाइएको संघले जनाएको छ । संघले आज ( बुधबार) दमकमा पत्रकार सम्मेलन गरेर त्यस्तो जानकारी गराएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले अधिक साइट ( काम भइरहेको ठाउँ) मा अबैधानिक रुपले काम गर्ने गराउने गरेको पाइएको बताए । उनले सोझै भारतीयहरुलाई कामको जिम्मा दिँदा स्थानीयस्तरमा काम लगाउने पक्ष (उपभोक्ता)हरु ठगिनुका साथै विभिन्न किसिमका जोखिमहरुको सामना गर्नुपर्ने अवस्था आएको बताए ।
संघकी उपाध्यक्ष बिन्दु सिटौला (लक्की)ले शुरुमा नेपाली व्यवसायिक फर्महरुमा कामदारका रुपमा छिरेका गैह्रनेपालीहरुले विस्तारै आफनो चिनजान र सम्पर्कपछि त्यस्ता कामहरु तिनै फर्मका नाममा लिएर ठगी गर्ने गरेको पनि पाइएको बताए ।

संघका अनुसार दमकमा करिब एक सयको हाराहारीमा मात्रै फर्निचर व्यवसायीहरु कानुनी प्रकृया पुरा गरि करको दायरामा रहेर सञ्चालन भइरहेका छन तर पाँच सयको हाराहारीमा भारतीयहरुले यो व्यवसाय गैह्रकानुनी रुपमा करको दायरा बाहिर रहेर सञ्चालन गरिआएका उपाध्यक्ष सिटौलाले बताइन । उनले गैह्रनेपालीलाई समेत काम गर्न र व्यवसाय सञ्चालन गर्न पाउने निश्चित प्रावधानहरु भएको स्मरण गराउँदै ति प्रावधानहरु पूरा गरेर करको दायरामा ल्याई व्यवसाय सञ्चालन गर्न पाउने वातावरण बनाइनुपर्नेमा त्यस तर्फ स्थानीय र माथिल्लो तहका सरकारको ध्यान जान नसकेको उनको भनाई छ ।

संघले त्यस किसिमबाट भइरहेको गैह्रनेपालीहरुको हस्तक्षेपका कारण करको दायरामा रहेर सञ्चालन भइरहेका स्थानीय व्यवसायिक फर्म तथा प्रतिष्ठानहरु बन्द हुने र व्यवसायीहरुनै पलायन हुने खतरा बढेको पनि जनाएको छ । सरकारले यस बिषयमा ध्यान दिन नदिँदा स्थानीयस्तरमा आपराधिक कृयाकलाप तथा राजश्व छलीमा भारतीय तथा गैह्रनेपालीहरुको संलग्नता बढिरहेको पनि उपाध्यक्ष सिटौलाको तर्क छ ।

आम उपभोक्ता सर्वसाधारणले फर्निचर तथा फर्निसिगं सम्बन्धिका कामका लागि कामदारहरुको अनुमति तथा इजाजत पत्र र परिचय पत्र हेरेर मात्रै कामको जिम्मेवारी दिन संघले आव्हान पनि गरेको छ । अन्यथा त्यस्ता अबैधानिक ठेकेदारहरुबाट हुने ठगीका घटनाको जिम्मेवारी संघले लिन नसक्ने पनि संघको चेतावनी छ ।

Facebook Comments Box