मंसिर, १७, २०७५ विराटनगर / मंसिरको धमाधम सकिएसँगै किसानहरू हिउँदे बालीलगायत व्यस्त छन्। तोरी, गहुँ, फापर, मकैं र आलु जस्ता हिउँदे बाली लगाउने बेला घर्किन लागेको छ। तर किसानले समयमै मल र बीउ पाउन सकेका छैनन्। सरकारले पर्याप्त मल उपलब्ध भएको बताइरहँदा किसानले भने हिउँदे बालिका लागि मल नपाएको गुनासो गर्छन्।

धान रोप्ने सिजनमा चाहिने युरिया अभाव हुने र गहुँ छर्ने सिजनमा चाहिएको डिएपी मल अभाव हुने समस्याले आफूहरू हैरान भएको मोरङ जहदाका किसान पर्शुराम राजवंशीको भनाइ छ।

सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मलको आयात र बिक्री वितरण गर्दै आएको छ। यी संस्थानहरूले आवश्यकताअनुसार मल आपूर्ति नसक्दा किसानले मार बेहोर्नु परिरहेको हो। कटहरी गाउँपालिकामा रहेको राजा धनपाल बहुउद्देश्यीय सहकारी संस्थाको मल विक्री केन्द्रका प्रमुख राजु राजवंशीले दैनिक १०० बोरा डिएपी मल बिक्री हुने गरेकोमा कम्पनीले हप्तामा १०० बोरा मात्र दिने गरेको बताए।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादव भने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा पर्याप्त मल रहेको दाबी गर्छन्। प्रदेश सरकार प्रादेशिक मल नीति बनाउने कुरा अगाडि बढाइरहेको बताउँदै केही समन्वयको अभाव हुनसक्ने बताए। संघीय सरकार मातहत रहने साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेड हाल प्रदेश सरकार मातहतमा छन्।

यी दुई संस्थानमा प्रदेश अन्तर्गतका कृषि ज्ञान केन्द्रको मागका आधारमा मल बिक्री वितरण गर्दै आएको छ। मलको आवश्यकताका आधारमा स्थानीय निकायहरूबाट सिफारिस गर्ने गरी मल उपलब्ध गराउने र बिक्रीको प्रतिवेदन र मल उपलब्ध गराएको जानकारी स्थानीय तहमा पठाउने व्यवस्था प्रदेश सरकारले गरेको छ। तर सरकारको निकायबीचको समन्वय र ऐन कानुन निर्माणको समस्या देखाउँदा किसानले भने समयमा मल बीउ पार्न सकेका छैनन्।

Facebook Comments Box