अझै गर्भवति महिला जोखिममा

पुस २० / सोलुखुम्बुको सोताङ गाउँपालिबाट एक गर्भवति महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। गाउँपालिका ३ की डोमा राईको बिहीबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। लामो समयदेखि प्रसव बेथा लागेकी राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेको छ। डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी छोरालाई जन्म दिनुभएको छिमेकी एवं युवा संघ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीले जानकारी दिए। उनका अनुसार गर्भवति महिलालाई बिहान ११ बजे उद्धार गरिएको हो। दुई दिनसम्म प्रसव बेथा लगेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि पठाइएको बताइएको छ। मङ्सिर २० गते सोताङ गाउँपालिका तीनकै गर्भवति महिला पार्वती बस्नेतकोसमेत उद्धार गरिएको थियो। घरआँगन नामक संस्थाका अध्यक्ष दीपक सिलवालका अनुसार विभिन्न जिल्लाका सात जना गर्भवती महिलालाई उद्धार गरिसकिएको छ। सोलुखुम्बुमा आर्थिक वर्ष २०७४र२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करिब २१ प्रतिशत २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन्। सोलुखुम्बु जिल्ला अस्पतालको प्रसूति गृहमा प्रसूति गराउन आएका महिलामध्ये २१ प्रतिशत २० वर्ष नपुगेरै आमा बन्ने गरेको चिकित्सकको भनाइ छ। २०२ जना आमामध्ये ६१ महिलाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन्। जम्मा ३०२ जनामध्ये ४१ जनाको शल्यक्रिया गरेर बच्चा जन्माएका र बाँकी २६३ जनाको सामान्य तरिकाबाट बच्चा जन्माएको जिल्ला अस्पताल फाप्लुका सूचना अधिकारी सानी शेर्पाले बताए।


छ गर्भवती महिलाको ज्यान गयो
गत आर्थिक वर्ष २०७४र०७५ मा सोलुखुम्बुमा छ जना गर्भवति महिलाले ज्यान गुमाएका छन्। छेस्काम पेल्माककी ३२ वर्षीया महिला र देउसा चेराखुकी १८ वर्षीया महिलाको शाल अडकिएर तथा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ। त्यसैगरी टाक्सिन्दु रिङमुकी ५० वर्षीय महिला र देउसा गैरीगाउँकी १८ वर्षीया महिलाकोे अत्यधिक रक्तस्रावका कारण ज्यान गएको कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै काँकु नामकी २४ वर्षीया महिला र देउसा रनेमकी ३० वर्षीया अर्की महिलासहित गत वर्षमा छ जनाको मृत्यु भएको अस्पतालको तथ्यांकमा उल्लेख छ। उनीहरुमध्ये चारको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनु वा अस्पतालमा प्रसूति नगराउनु मुख्य कारण रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङ्मार ग्याल्जेन शेर्पाले बताए।