एजेन्सी /  पाकिस्तानले भातरीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरी भारतलाई बुझाएपछि भारत पाकिस्तानबीच पछिल्लो समय उत्पन्न तनाब केहि कम हुने विश्वास गरिएको छ । कश्मिरमा हमलापछि भारत केहि उग्र रुपमा प्रस्तुत भइरहँदा पाकिस्तानले भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दनलाई भारतको जिम्मा लगाएर बुद्धिमतापूर्ण काम गरेको र दुई देशबीचको तनाव कम गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुद्धिमानी देखाएको भन्दै उनको चौतर्फी प्रशंसा भइरहेको छ । बिबिसी हिन्दीका लागि सौतिक विश्वास लेख्छन्,–यस्तोमा दुईदेशबीच पछिल्लो चरणमा सुरु भएको यो तनावको अन्त्यमा जीत कसको भयो ? भन्ने सवाल उठेको छ । विहिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘पाकिस्तानले शान्तीको आशासहित भारतीय पाइलट भारतलाई सुम्पिने संसदमा घोषणा गरेका थिए । त्यसै दिन दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुको एक बैठकलाई सम्बोधन गर्दै इमरान खानको घोषणालाई व्यंग्य कस्दै भनेका थिए, ‘पाइलट प्रोजेक्ट पूरा भयो अब यसलाई साँच्चीकै गरेर देखाउनु छ’ । मोदीको उक्त टिप्पणीलाई उनका समर्थकले खुब रुचाए तर यहि कुरा उनका आलोचकलाई भने बेस्वाद र आत्मरतीपूर्ण लाग्यो । मंगलबार भारतीय लडाकु विमान पाकिस्तानी इलाकामा प्रवेश गरी बालाकोटस्थित एक क्याम्पमा बम खसालेको दावी गर्यो । त्यसै दिन एक चुनावी र्यालीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘म तपाईहरुलाई आश्वस्त पार्छु कि देश सुरक्षित हातमा छ’ । त्यसको २४ घण्टामा पाकिस्तानले जवाफी कारवाही गर्यो र दावी गर्यो कि उसले पाकिस्तान प्रशासित कश्मिरमा भारतको एक लडाकू विमानलाई खसालेको छ । पाकिस्तानले भारतीय लडाकु विमान खसालेको खबर तब पुष्टी भयो जब एक भिडियोमा पाइलट अभिनन्दन पाकिस्तानको कब्जामा देखिए । यो सबै घटना भइरहँदा दुबै देशमाथि शान्ती स्थापनका लागि दबाब बढिरहेको थियो । यस्तो अवस्थामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान मोदी भन्दा दुई कदम अगाडि बढ्दै भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गरे । भारतीय कुटनीतिक मामिलाका जानकार केसी सिंहका अनुसार इमरान खानको कुटनीतिक ‘रिवर्स स्विङमा मोदीले आफैलाई फसेको पाए । सुरक्षा संकट भारततमा सन् २०१४ मा जब भारी बहुमतका साथ मोदी सत्तामा आए त्यसयता उनको पकड भारतीय राजनीतिमा झन बलियो हुँदै गयो । स्थानीय मिडियाले उनलाई राष्ट्रवादी नेताका रुपमा उभ्याए । तर यतिबेला भने उनको लोकप्रियता केहि खस्किएको छ । विपक्षी दलहरु उनीसँग रिसाएका छन् र आफ्नो आफ्नो क्षेत्रका विज्ञहरुको उनीप्रति गुनासो छ । किनभने परमाणु शक्ति सम्पन्न दुई देशबीच युद्धको अफवाह फैलिरहँदा मोदीले सेनाका अधिकारी, ब्युरोक्राट्सलाई मिडियाका अघि सार्नुको सट्टा उनी आफै किन अघि सरेनन् ? विपक्षी २१ वटा पार्टीले मोदीको यस्तो रवैयाप्रति आलोचना गरेका छन् । उनीहरुले मोदीको कार्यकालमा देशमा ठूलो सुरक्षा संकट आइपरेको छ तर मोदी भने चुनावी र राजनीतिक कार्यक्रममा व्यस्त छन् । यहाँसम्मकी उनी एक मोबाइल एप लन्चिङ कार्यक्रममा पनि सहभागी हुन पुगे । पाकिस्तानले गरेको जवाफी कारवाहीमा भारतीय लडाकु विमान खसाल्नु तथा एक पाइलटलाई गिरफ्तारर गर्नु मोदीका लागि झट्का थियो । यो बिचमा इमरान खान भने तानव कम गर्ने तथा बार्ताका लागि प्रयासरत थिए । यसैक्रममा उनले पाइलटलाई रिहा गर्ने घोषणा पनि गरे । विश्लेषक केसी सिंह भनछन्, ‘इमरान खान गरिमामयी तथा धैर्यशील छवि बनाउन सफल रहे’ । यसबाट खानले एउटा गज्जबको सन्देश पनि दिए कि पाकिस्तान समस्याको समाधान संवादको माध्यमबाट गर्न तयार छ । तनाबका दौरान इमरान खान आफ्ना नागरिक, सुरक्षा अधिकारी तथा मिडियासँग नियमित सम्पर्कमा रहे । यी सबले खानलाई भारतमा पनि एक उदाहरणीय नेताका रुपमा प्रस्तुत गर्यो । अर्को तर्फ भारतीय प्रधानमन्त्री मोदीको हातबाट भने सबै घटनाक्रम छुट्दै गएको देखियो । इतिहासकार श्रीनाथ राघवन भन्छन्, ‘पाकिस्तानले सबै मामिलामा भारतलाई अचम्भित पार्यो’ । भारतीय अधिकारीहरुका अुनसार भारतीय पाइलट पाकिस्तानको कब्जामा पुग्नुले पुरा घटनाक्रमको रुपरेखा नै उल्टियो । भारतीय मिडियाको ठूलो हिस्सा पाइलटलाई भारत फर्काउनुलाई मोदीको जीतका रुपमा प्रस्तुत गरिरहेका छन् तर केहिको प्रश्न छ की पुलवामा हमलामा गुप्तचर निकाय असफल भएका हुन ? वा पाकिस्तानले कसरी दिन दहाडै विमान खसाल्न सक्यो ? भारतका रक्षा विशेषज्ञ अजय शुक्ला पाकिस्तानले पछिल्लो घटनाक्रमबाट आफु भारतसँग् बराबरीको हैसियतमा पुगेको देखाएको छ । उनका अनुसार अब दशकौँदेखि फण्डको अभावमा स्तरोन्नती नभएको भारतीय सेनाले पाकिस्तानमाथि कुनै ठूलो कारवाही गर्न सक्दैन । इमरान खानले यो पुरा घटनामा ‘विचारको लडाई’ जितेको मान्ने अधिकारीहरु मोदीले सजिलै आफ्नो पकडबाट यी घटनाक्रमलाई नछोड्ने मान्छन् । स्तम्भकार सन्तोष देसाई भन्छन्, ‘मिडियाको पटकथामा मोदीको लगभग पूर्ण नियन्त्रण छ । मलाई लाग्दैन मोदी विचारको लडाइ हारिरहेका छन्, उनको समर्थकलाई लाग्छ कि मोदीकै दबाबमा इमरान खानले भारतीय पाइलटलाई छोडेका हुन्’ ।

Facebook Comments Box