दाहिने खुट्टा भारततिर चाल्ने कि देब्रे चिनतिर ?

नेपाल किन भारतसँग टाढिएर चीनसँग नजिकिंदै छ ?

नेपालको तिब्बत र चीनसँगको सम्बन्ध पहिलो सहस्राब्दीमा सम्पर्कको शुरूआतदेखि अठारौं शताब्दीमा उपत्यकामा शाह शासन विस्तार हुँदासम्म मुख्य रूपमा गैरराजनीतिक एवं स्थानीय व्यापार तथा धर्मसँग गाँसिएको थियो। जब चीनले नेपाली शासकहरूको कल्पनाशीलताको भेउ पायो, दुई सभ्यताहरूबीचको सम्बन्ध विभिन्न चरणका कमजोरीहरूका बीचबाट गुज्रिए।

तिब्बत नेपालका लागि नजिकको ढोका थियो, बज्रयान र व्यापार धार्मिक तथा तात्कालिक सम्पर्क-सेतुका रूपमा रहँदै नेपाल र तिब्बतको सम्बन्ध आपसमा जेलिएर अघि बढ्दै गयो। कर्मपाले अगुवाइ गरेको तिब्बती बौद्धधर्मको कग्यु सम्प्रदायमार्फत नेपालको तिब्बतसँगको सम्बन्ध -विशेष रूपमा ल्हासा नजिकैको याङपाछेन गुम्बासँग जोडिएका श्यामर्पा लामा परम्परामार्फत- अझ बलियो भयो।

नेपाली इतिहासकार रमेश ढुंगेलले पन्ध्रौं शताब्दीको यो परम्परा पत्ता लगाए, जुनबेला चौथो श्यामर्पाले काठमाडौंको स्वयम्भू नजिकै गुम्बा बनाएका थिए। परम्पराका अन्तर्गतका आठौं लामा काठमाडौंको पूर्वी दिशामा हिमाली उपत्यकाका रूपमा रहेको हेलम्बुमा सन् १६९५ मा जन्मिएका थिए।

नेपाली व्यापारी तथा तिब्बती बौद्ध भिक्षुले सम्बन्धको यो विनियम अघि बढाए। तिब्बती विद्रोहको केही वर्षपहिले सन् १९५६ को उत्तरार्धमा पनि कग्यु सम्प्रदायका प्रमुख सोह्रौं कर्मपा प्रसिद्ध नेवार व्यापारी भाजुरत्नको निधनको ठीक अगाडि उनको घरमा गएका थिए। भाजुरत्नको जीवनीमा उल्लेख छ, “उक्त सप्ताहमा कसैलाई पनि कर्मपा र भाजुरत्न दुई जनाले पूजा तथा ध्यान गरिरहेको कोठामा जान अनुमति थिएन, केवल खाना पुर्‍याउनका लागि मात्रै अनुमति थियो।”

व्यापारी र आध्यात्मिक गुरुबीचको सम्बन्ध सन् १९४७ मा शुरू भएको थियो, जब कर्मपाले रोलेक्स घडीको इच्छा जनाएका थिए, जसलाई भाजुरत्नले आयात गरी कालिम्पोङ हुँदै ल्हासा पुर्‍याएका थिए।

“चीन र तिब्बतसँगको नेपालको सम्बन्धले मध्य एसियाका ठूला एवं गतिशील घटनालाई प्रतिबिम्वित गर्छ। आफ्नो (सीमा) विस्तारको सबालमा चिनियाँ प्रभाव कुन तहसम्मको उच्च बिन्दुमा पुग्छ भन्ने कुरा नेपाललाई हेर्दा थाहा हुन्छ,” लेभी लेख्छन्। ‘हाल अवरुद्ध, पुनः चासो लिइएको, सुधारका लागि ढिलो गरिएको’ नेपालसँगको सम्बन्धबारे चिनियाँ वा तिब्बती स्रोत, दस्ताबेज वा सूत्रहरू उन्ने क्रममा लेभीले के निष्कर्ष निकालेका छन् भने यी तीनबीचको सम्बन्ध तिब्बती जनजातिको आदिम सभ्यतासँग जोडिएको छ। उनका अनुसार तिब्बतका जनजातिहरू संगठित राज्यका रूपमा उदाएसँगै नेपाल, चीन र तिब्बतको सम्बन्ध शुरू भएको थियो। यो कोणबाट व्याख्या गर्ने लेभी सम्भवतः पहिलो यूरोपली अध्येता हुन् जसले उत्तरसँगको नेपालको सम्बन्धबारे राम्रोसँग उल्लेख गरेका छन्।

 

अठारौं शताब्दीको मध्यसम्म नेपाल पहाडी राज्यहरूको सँगालोका रूपमा रहेको थियो। त्यसपछि, शाहवंशीय राजा पृथ्वीनारायण शाह -जो गोर्खा भन्ने एउटा पहाडिया राज्यबाट आए- ले महत्त्वाकांक्षी सैन्य अभियान शुरू गरे। अठारौं शताब्दीको अन्तिमसम्ममा काठमाडौं, भक्तपुर र ललितपुरका नगर-राज्यमा सीमित नेपाल भनी चिनिने उपत्यका त्यसपछि अहिलेको आधुनिक राज्यका रूपमा विकसित हुनपुग्यो।

इस्ट इन्डिया कम्पनीसँग सन् १८१४-१६ को युद्धमा भाग लिएको नेपालले आफ्नो भूमिको ठूलो हिस्सा गुमाउन पुग्यो। देशभित्रको आन्तरिक राजनीतिक खिचातानी अन्ततः सन् १८४० को दशकमा जंगबहादुरको उदयसँगै राणावंशीय शासन प्रणाली स्थापनाका रूपमा विकसित भयो। यसपछिको करीब एक शताब्दी -हत्यामा समाप्त हुने नियमलाई छोडेर- जंगबहादुरका भाइहरूले वंशजका आधारमा प्रधानमन्त्रीका रूपमा शासन गरे, जब कि शाह राजाहरूको अधिकार पूर्ण रूपमा समाप्त गरिएको थियो।

बेलायतको साथले राणा प्राधिकार सर्वोच्च रूपमा स्थापित भयो। सन् १९५० मा लोकप्रिय क्रान्तिपछि राणावंशमा रहेको शासनको अधिकार राजा त्रिभुवनको हातमा पुग्यो। राजा त्रिभुवनलाई स्वतन्त्र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको साथ थियो, जब कि नेपाली कांग्रेस सम्बद्ध आदर्शवादी क्रान्तिकारीको एक समूहले राणा शासनको खिलापमा सशस्त्र संघर्ष शुरू गरेको थियो। नेहरूले दिल्ली सम्झौताका लागि तीन वटै पक्षसँग कुरा गरे, जसले राजाको हातमा शक्ति फर्काइदियो।

अंग्रेजले नेपाललाई कसरी हेरे भन्ने कुराले नेपाल-भारत सम्बन्धलाई बुझाउँछ। नेपालको वैदेशिक र सुरक्षा मामिलामा नियन्त्रणमार्फत अंग्रेजले काठमाडौंको राजपाठमा आफ्नो प्रभुत्वलाई कायम राखेका थिए। सन् १९२३ को सन्धिको माध्यमबाट अंग्रेजले पहिलो पटक नेपाललाई स्वतन्त्र देशका रूपमा मान्यता दिएको थियो। त्यसबेलासम्म, औपनिवेशिक प्राधिकरणको नेपालप्रतिको दृष्टिकोण भायसराय लर्ड कर्जनको सन् १९०३ मा राज्य सचिवलाई लेखेको पत्रमार्फत अनुमान लगाउन सकिन्छ, “(नेपालको साथ बेलायतको सम्बन्ध) अन्य कुनै मूल राज्यको तुलनामा भुटानसँगको हाम्रो सम्बन्धको नजिक छ… नेपाललाई हाम्रो विशेष राजनीतिक प्रभाव र नियन्त्रणका रूपमा मानिनुपर्छ।”

जब ब्रिटिशले नेपालमा राणा शासनलाई सुनिश्चित गरिदिएको थियो, राणा शासकले गोरखा रेजिमेन्टलाई सैनिक आपूर्ति गरिदिएका थिए, जसकारण दुई वटा विश्वयुद्धमा २ लाख ५० हजारभन्दा बढी नेपाली युवाले बेलायतको तर्फबाट युद्ध लडेका थिए। राणावंशले ब्रिटिश भारतलाई काठ र अन्य प्राकृतिक संसाधनको आपूर्ति गरेर मनग्गे निजी धनसम्पत्ति थुपार्न सफलता पाएका थिए।

सन् १९२३ को सन्धि सन् १९५० को नेपाल-भारत सम्झौताको आधार मानिएको थियो, जसलाई नेपालले असमान सन्धिका रूपमा लिँदै आएको छ। जवाहरलाल नेहरूको अधीनमा रहेको उपनिवेशकाल पश्चात्को भारत तीन वटा हिमाली छिमेकी राज्यहरू नेपाल, भुटान र सिक्किममाथि आफ्नो सुरक्षा छाताको आधारमा एक विशेष सम्बन्ध बनाउन चाहन्थ्यो। जब कि जटिलता यो थियो, उसले यी तीनवटै स्वतन्त्र र सम्प्रभु भएको कुरा पनि दृढताका साथ बताइरहेको थियो।

नेहरूले सन् १९५० मा भारतीय संसद्को भाषणमा हिमालयलाई भारतको ‘शानदार-सीमा’का रूपमा रेखांकन गरेका थिए। नेपालको साथ स्वतन्त्र भारतको सम्बन्धका बारेमा आफ्नो विचारलाई चित्रित गर्दै नेहरूले भनेका थिए, “ब्रिटिश शासनका दिनहरूदेखि नै हामी कैयौं राम्रा कुराको उत्तराधिकारी हौं, त्यस्तै कैयौं खराब चिजको पनि। छिमेकी देशहरूसँग हाम्रो सम्बन्ध ब्रिटिश साम्राज्यवादको विस्तारवादी नीतिसँगै अघि बढ्यो…स्वाभाविक र प्रष्ट रूपमा हामी नेपालमा कुनै पनि विदेशी हस्तक्षेपलाई मन पराउँदैनौं.. हाम्रो सम्बन्ध अन्तरंग छ र अन्य कुनै देशको नेपालसँगको सम्बन्ध यति गहिरो हुनसक्दैन। र, अन्य देशहरूले भारत र नेपालबीचको गहिरो भौगोलिक, सांस्कृतिक र अन्य सम्बन्धका बारेमा थाहा पाउनैपर्छ र सराहना गर्नुपर्छ। यो तथ्यलाई बुझ्ने बाहेक अर्को बाटो छैन।”

आज समकालीन भारतको नेपाल र दक्षिण एसियामाथिको प्रभाव र प्राथमिकता चीनतर्फ सर्दै गरेर भारतले अनुभूत गरेको असुरक्षामा सत्यता छ। एक हिसाबले यो चीनको छिमेकमा नयाँ महत्त्वाकांक्षाको परिणाम पनि हो। तर, नेपालमा माओवादी द्वन्द्वपश्चात्‌काे शान्ति प्रक्रियामा भारतको नेपाली राजनीतिमा सूक्ष्म व्यवस्थापन (माइक्रो-म्यानेजमेन्ट) को कारणले नेपाली नेताहरूका लागि उत्तरतर्फ फर्कनु एउटा महत्त्वपूर्ण तर्कका रूपमा रहेको छ।
भारत र नेपालको राजनीतिक निकटता दुई देशबीचको निःसन्देह धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धसँग जोडिएको छ, तर नेपालका शासकहरूले यसले जन्माएको ‘विशेष प्रकृतिको’ सम्बन्धलाई सन् १९५० पछि अनुभूत गर्दै आएका छन्।

नेपालमाथि जसले शासन गरेका छन्- उनीहरूमध्ये धेरै भारतीय सहयोगले सत्तामा आएको भए पनि- भारतलाई उनीहरूको शासनको खतराका रूपमा मानेका छन् र भारत विरोधलाई प्रोत्साहन दिएका छन्, ताकि काठमाडौंमा आफ्नो सत्तालाई बलियो बनाउन सकियोस्। यदि नेपाल भारतसँग विशेष आर्थिक सम्बन्ध चाहन्छ भने विशेष राजनीतिक सम्बन्धलाई पनि स्वीकार गर्नुपर्छ भन्ने भारतको तर्कको पनि जग छ।

जे होस्, नेपालको राजतन्त्र तथा नेताहरूले देशमा कथित भारतीय हस्तक्षेपको विरुद्धमा भारतविरोधी भाष्यलाई एक प्रभावकारी र लोकप्रिय प्रतिवादका रूपमा लामो समय प्रोत्साहित गरिरहे। जब कि दिल्लीले नेपाललाई भारतीय प्रभावलाई सन्तुलनमा राख्न ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाउने गर्थ्याे, तर यो एक्काइसौं शताब्दीको पहिलो दशकसम्म अवस्था यस्तो थिएन कि त्यस्तो कार्डले कुनै वास्तविक परिणाम निकालोस्।

आज समकालीन भारतको नेपाल र दक्षिण एसियामाथिको प्रभाव र प्राथमिकता चीनतर्फ सर्दै गरेर भारतले अनुभूत गरेको असुरक्षामा सत्यता छ। एक हिसाबले यो चीनको छिमेकमा नयाँ महत्त्वाकांक्षाको परिणाम पनि हो। तर, नेपालमा माओवादी द्वन्द्वपश्चात्‌काे शान्ति प्रक्रियामा भारतको नेपाली राजनीतिमा सूक्ष्म व्यवस्थापन (माइक्रो-म्यानेजमेन्ट) को कारणले नेपाली नेताहरूका लागि उत्तरतर्फ फर्कनु एउटा महत्त्वपूर्ण तर्कका रूपमा रहेको छ।

यी सबै दशकको दौरान, चीन नेपालमा असल छिमेकीका रूपमा मानिन्थ्यो, नेपालको सम्प्रभुताप्रति बेइजिङको सम्मान तथा परियोजनाहरूमा चिनियाँ सहयोग र अनुदानका कारण नेता र सर्वसाधारणमा समान रूपमा यस्तो धारणा थियो। तर, ध्यानपूवर्क हेर्दा के देखिन्छ भने, चीन पनि आफ्नो चासोलाई सम्बोधन गरे बापत काठमाडौंप्रति दानी भइरहेको देखिन्छ।

जे होस्, नेपालमा वर्षौंको भारतीय राजनीतिक खेल तथा दिल्ली आफैंले काठमाडौंमा स्थापित गराएको एउटा अभिजात्य वर्ग, जसले भारतविरोधी धारणालाई शक्ति आर्जनका लागि प्रयोग गर्‍यो, जसका कारण यो अनुभूति भने अझै कायम छ। सन् १९५० को सन्धिलाई दुई देशका बीच असमान सम्बन्धको जडका रूपमा इंगित गर्ने नेपाली शासकको लामो समयको प्रवृत्तिलाई बुझेको चीनले स्वाभाविक विकल्पका रूपमा प्रस्तुत हुँदै त्यसलाई पुँजीकरण गरिरहेको छ।

(अमिशराज मुल्मीको भर्खरै प्रकाशित ‘अल रोड्स लिड नर्थः नेपाल्स टर्न टु चाइना’ को  सम्पादित अंश।)
थप सामग्री : https://www.himalkhabar.com/news/122731

आइतबार, २२ चैत, २०७७, बिहानको ०६:३९ बजे

सम्बन्धित खवर