ठाकुर – महतोबीच तिब्र विवाद , संसदीय दलको नेतामा दुवैको दाबी , तत्काललाई हस्ताक्षर संकलन अभियान रोकियो

बैकल्पिक खवर

काठमाडौं / जसपा भित्र साबिकको राजपा लाई ब्युताएर भएपनि प्रधानमन्त्री केपि शर्मा ओलीको सरकार लाई समर्थन गर्ने दाउमा रहेको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा तिब्र विवाद उत्पन्न भएको छ । संघीय संसद सदश्यहरुको बहुमत हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री लाई बुझाउने तयारी गरेको ठाकुर – महतो पक्षमा संसदिय दलको नेता को बन्ने भन्ने विषय लाई लिएर विवाद भएको हो ।यो विवाद संगै हाललाई हस्ताक्षर संकलन अभियान पनि स्थगित भएको छ ।
पार्टीमा अध्यक्ष ठाकुर र महतोले एउटा पक्षको नेतृत्व गरेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अर्को पक्षको नेतृत्व गरेका छन् । ठाकुर–महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने भनिसकेको छ । सोहीअनुसार बहुमत सांसदहरुको हस्ताक्षर संकलन भैरहेको थियो । यसअघि यादव–भट्टराई पक्षले १८ जना सांसदको हस्ताक्षर संकलन गरेको थियो । तर, यो बीचमा यादव पक्षधर चार सांसदले साथ छोडेपछि ठाकुर पक्ष बहुमतमा पुगेको दाबी गरिएको थियो ।

ठाकुर–महतो पक्षले आज विहानैदेखि सांसदहरुको हस्ताक्षर संकलन गरेको स्रोतको दाबी छ । तर, ठाकुर र महतो दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहमा पनि विवाद उत्पन्न भएको छ । जसपानिकट उच्च स्रोतकाअनुसार ठाकुरले संसदीय दलको नेता आफू नै हुने दाबी गरेका थिए । तर, महतोले यसअघि पनि आफूलाई नै संसदीय दलको नेता बनाउने सहमति भएको भन्दै उक्त सहमतिबाट आफू कुनैपनि हालतमा ब्याक नहुने अडान दोहोर्याएका थिए ।

ठाकुरले भने सत्ता समिकरणमा जसपा निर्णायक शक्ति भएकोले भोलि प्रधानमन्त्री बन्ने अवसर आए त्यसको लागि आफू नै उपयुक्त पात्र भएकोले संसदीय दलको नेता आफू नै बन्नुपर्ने जिकिर गरेका थिए । तर, महतोले भने आफू यसअघिको सहमतिबाट कुनैपनि हालतमा पछि नहट्ने जिकिर गरेका थिए । बरु, भोलि प्रधानमन्त्री बन्ने अवसर आए ठाकुरलाई नै अघि सार्ने र आफू ब्याक हुनसक्ने उनले विश्वास दिलाएका थिए ।

मङ्गलबार, २१ बैशाख, २०७८, रातीको ०९:०८ बजे

सम्बन्धित खवर