इटहरी ,/ नेकपाको इटहरी उपमहानगर कार्यालयमा तालाबन्दी भएको एक हप्ता भएपनि खुल्न सकेको छैन । पार्टी एकता प्रक्रियामा गएको अवस्थामा को नेता हुने भन्ने विषयलाई अघि सारेर गुट उपगुटको प्रभावले पार्टी कार्यालयमा ताला लागेको छ । तालाबन्दी किन लाग्यो ? त्यसको समाधान के हो ? भन्ने विषयमा नेता कार्यकर्ता मौन देखिएका छन् ।

नेकपाका तीन जना कार्यकर्ताले भदौ १२ गते ११ बजे तीन वटा माग अघि सार्दै अचानक तालाबन्दी गरिएपछि अहिले इटहरी क्षेत्र वरपर त्यसका विषयमा चर्चा भएको छ । तर, तालाबन्दी खोल्ने विषय भने अनिश्चित बनेको छ । तालाबन्दी गर्नेहरुले तीन वटा मागमध्ये पार्टी सचिव काशीनाथ ढुंगेललाई हटाउनुपर्ने मुख्य विषय बनाएका छन् ।

किन लाग्यो पार्टी कार्यालयमा ताला ?
इटहरी उपमहानगरपालिकाको नेकपाको कमिटीमा अध्यक्ष साविक माओवादीबाट बहादुर सिंह तामाङ ज्वाला र सचिवमा साविक एमालेबाट काशीनाथ दंगाललाई बनाइएको थियो । दंगाल माधव नेपाल समूहका हुन् । सुनसरीको पार्टी कमिटीमा नेपाल समूहको वर्चस्व रहेको छ । पार्टीका प्रदेश इञ्चार्ज भीम आचार्यको गृहक्षेत्र भएकाले उनको छायाँ पर्नु स्वभाविकनै मानिन्छ ।

भीम आचार्यसँग गएको निर्वाचनमा आफूले टिकट पाइन भनेर संविधानसभा सदस्य तथा तत्कालिन एमालेको दुई कार्यकाल जिल्ला अध्यक्ष भएका नेता रेवती भण्डारी रुष्ठ थिए । भीम आचार्यको इशारामा दंगाललाई नगरसचिव बनाइयो भनेर भण्डारीले युवाहरुलाई उचालेर अचानक तालाबन्दी गर्न लगाएको आरोप छ । यसबीचमा भण्डारीले पार्टी भित्र संगठनको पद्धती विपरित नेतृत्वप्रति अन्र्गल प्रचार गरेको आरोप पनि लाग्ने गरेको छ ।

रेवती भण्डारीले भदौ ११ गते राती पार्टीका नगर अध्यक्षलाई वैठक रोक्न भनेका थिए । नगर अध्यक्ष तामाङले पटक पटक भण्डारीलाई पार्टीको वैठक नरोकिने भनेर जानकारी गराए । उनिहरुबीचमा भोली पल्ट १२ गते विहान अन्तिम पटक छलफल भयो त्यो छलफलमा पनि नगर अध्यक्षले वैठक नरोक्ने भनेपछि भण्डारीलेनै चारवटा माग लेखिदिएर युवाहरुलाई तालावन्दी गर्न पठाएको स्थानीय नेताहरुको आरोप छ ।

रेवती भण्डारी तालाबन्दीका सूत्रधार ?
तत्कालीन नेकपा एमालेको दुई कार्यकाल जिल्ला अध्यक्ष, संविधान सभाका सदस्य तथा कानूनवेत्ता भण्डारीले तालाबन्दी गर्न लगाएको कुरामा लगभग नेकपाका नेताहरु सहमत भएका छन् । इटहरीका चलायमान नेता भण्डारी आफैंले पनि भने, ‘जायज मागलाई सबैले समर्थन गर्छन् । मैले पनि त्यसको समर्थन गरेँ । तालाबन्दी नगर्दासम्म नसुनेपछि गर्नै प¥यो,’ उनले भने ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पनि ताला–बन्दीका बिषयमा बुझ्न खोज्दा ‘रेवतीले लगाउन लगाएको हो, उसैलाई बुझनुस्’ भनेर जवाफ दिए । मेयर चौधरीले ‘पार्टीमा सरसल्लाह बिना नै पदाधिकारी र सदस्य छान्दा असन्तुष्टि चाहिँ बढेको’ बताए । यसको समाधान वार्ता र छलफलबाट समाधान खोजिनु पर्दछ भनेर आफूहरुले सम्बन्धित ठाउँमा सल्लाह दिइरहेको पनि चौधरीले बताए ।

ताला लगाउने तत्कालीन एमालेका २ नं क्षेत्रीय सदस्य सुजन लामाले पनि रेवतीसहितका नेताहरुले आफूहरुलाई तालाबन्दीमा सहयोग गरेको आशय व्यक्त गरे । उनले भने, ‘गलत कुराको भण्डारीसहितका नेताहरुबाट पनि विरोध हुन्छ ।’ ठूला नेताहरुमध्ये भण्डारीको सहयोग पनि आफूहरुलाई रहेको उनले बताए । पार्टीले पद्धति मिचेर वडा सदस्यलाई सचिव बनाएकाले आफूहरु असन्तुष्ट बनेको बताए ।

‘शपथ ग्रहण गरेको यति लामो समयपछि किन तालाबन्दी गरेको ?’ भन्ने प्रश्नको जवाफ दिंदै उनले भने, ‘यतिका दिनसम्म सच्चिने हो कि भनेर हामीले हे¥यौं । बैठक बस्न नदिने हाम्रो योजना थियो, त्यसैले बैठककै दिन तालाबन्दी गरिएको हो’, लामाले भने । ‘१२ गतेका दिन पार्टीको नगर सचिवालयको बैठक थियो तर बैठक त रोकिएन नि ?’ भन्ने प्रश्नको जवाफमा ‘पार्टी कार्यालयमा बैठक बस्ने मान्यता हो, त्यहाँ नबसेर अन्तै बसे भने हामीले के भन्नु र ?’, उनले भने ।

इटहरी उपमहानगरका पूर्व मेयर तथा प्रदेशसभा सदस्य सर्वध्वज साँवाले भने, ‘रेवती जस्तो पार्टीको नेता, संविधानसभाको सदस्य जस्तो मान्छेले तालाबन्दी गराएको हो भने त्यो उनैले जान्ने विषय हो ।’ तालाबन्दी गर्ने जस्ता काम गलत हो तर पार्टीले पनि नगर कमिटी बनाउँदा आफूहरुसँग सल्ला नगरेको विषयमा चाहिँ आफूलाई पनि दुख लागेको उनले बताए ।

नेकपा एमालेका पूर्व नगर अध्यक्ष रेवती घिमिरेले भण्डारीले तालाबन्दी गराएको कुरामा आफूलाई विश्वास नलागेको बताए । ‘तर, यदि उहाँले त्यसो गर्नुभएको हो भनेचाहिँ त्यो अत्यन्तै गलत हो’, उनले बताए ।

किन तालाबन्दी गराए त भण्डारीले ?
भण्डारी हक्की स्वभाव भएका नेता हुन् । उनी भविष्यभन्दा पनि वर्तमानलाई हेरेर काम गर्न रुचाउने नेतामा पर्दछन् । परिणाम जस्तो आए पनि अहिले ठिक भयो भने हुन्छ भन्ने मान्यतामा आधारित भएर उनले काम गर्ने गरेका छन् । यो तालाबन्दीमा उनको हात हुनुका मुख्य दुई कारण रहेको हुन सक्ने उनका नजिकका सहयोगीहरु बताउँछन् ।

नेकपा एमालेको अध्यक्ष हुनुपूर्व जिल्लामा विजय गच्छदारको दबदबा हुँदा पहिलो पटक उनलाई चुनौती दिएर त्यो बेलाको सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उमेद्वारी दिएर चर्चामा आएका भण्डारीलाई पार्टीका महत्वपूर्ण जिम्मेवारी दिने र उनलाई भरोसा गर्ने पहिलो नेता हुन् भीम आचार्य । आचार्यको अत्यन्तै विश्वास पात्र भएकै कारणले उनले पार्टीको दुई कार्यकाल निर्विवाद अध्यक्ष भए ।

संविधानसभाको सदस्य भए । तर, अहिले आचार्यसँग सबैभन्दा ठूलो मतभेद राखेका छन् भण्डारीले । आचार्यकै सेखी झार्नका लागि तालाबन्दी गर्न उक्साएको हुन सक्ने उनलाई चिन्नेहरुको बुझाइ छ । प्रतिनिधिसभाको गएको निर्वाचनमा आफूलाई टिकट नदिलाएको भनेर आचार्यसँग क्रुद्ध भण्डारी अहिलेसम्म पनि रिसाएकै छन् ।

आचार्यको दबदबाले पार्टी बिग्रियो भन्दै हिँड्न भण्डारी पछि हटदैनन् । आफूलाई लागेपछि गरेरै छाडने भण्डारीको स्वभावको शिकारचाहिँ यसपटक उपमहानगरको पार्टी भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनको आफूलाई मन लागेको गर्नका लागि जे पनि गर्न तयार हुने स्वभाव भएकाले यो समस्या आएको उनीहरुको बुझाइ छ ।

दोस्रो कारणचाहिँ भण्डारीले १२ गते हुने पार्टीको नगर सचिवालयको बैठकलाई रोक्न चाहेका थिए । नरोकिएपछि उनले नै युवाहरुलाई तालाबन्दी गर्न लगाएको पार्टीका कार्यकर्ताहरुले बताए । ‘किन रोक्न चाहेका हुन् त बैठक ?’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘जनता क्याम्पस व्यवस्थापन समितिको निर्वाचनको समयमा उनले गरेको आत्मालोचनालाई सो सचिवालय बैठकले अनुमोदन गर्ने भएपछि उनले बैठक रोक्न लगाएको बुझिएको छ ।

कम्युनिष्टहरुमा आलोचना आत्मालोचनाको ठूलो महत्व छ । लिखित आत्मालोचना पार्टीमा दर्ज भयो भने त्यो उनको बाधक पनि हुन सक्दछ । त्यसैले भण्डारीले त्यसलाई अनुमोदन गर्न नदिने योजना बनाएको बुझिएको छ । जनता बहुमुखी क्याम्पसको निर्वाचनमा उनले आफूबाट पटकपटक गल्ती भएको र आफू पार्टी निर्णय विपरीत हिँडेकाले अब आइन्दा त्यस्तो गतिविधि नगर्ने प्रतिबद्धतासहित आत्मालोचना गरेका थिए ।

के गल्ती गरेका थिए भण्डारीले ?
इटहरीको सामाजिक र राजनीतिक क्षेत्रमा रणनीतिक महत्व राख्ने जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको निर्वाचनमा पार्टीले उपाध्यक्ष सहित चन्द्र भट्टराई, सागर सुवेदी, ईश्वर भट्टराई, रेवती घिमिरे, टंक खनाल र उद्धव पौडेललाई पठाउने विषयमा नेपाली कांग्रेससँग सहमति गरेको थियो ।

अध्यक्ष नेपाली कांग्रेसलाई दिने र उपाध्यक्षको केहि कार्यकारी भूमिका रहने हुँदा त्यो लिने भन्ने सहमतिसहित निर्वाचनमा जान लाग्दा भण्डारी र नेपाली कांग्रेसका नेता हेमकर्ण पौडेलको सहमतिमा भण्डारीलाई अध्यक्ष बनाउने र त्यस वापत निकट भविष्यमा हुन लागेको खानेपानी व्यवस्थापन समितिको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने गोप्य सहमति गरेका थिए ।

त्यो कुरा बुझेपछि पार्टीले आन्तरिक निर्देशन दिएर सहमतिबाट पछि नहट्न मतदाताहरुलाई भनेको थाहा पाएपछि अत्तालिएर भण्डारी नगर पार्टीको शरणमा पुगेको एक पूर्व एमाले कार्यकर्ताले बताए । उनले व्यवस्थापन समितिको अध्यक्ष पाउने शर्तमा पार्टीले भनेका सबै कुरा मान्ने र आत्मालोचना पनि गर्ने भनेर पार्टीमा आएपछि उनलाई पार्टीले पूर्व निर्णयबाट पछि हटेर अध्यक्षमा सहयोग गर्ने निर्णय गरेको थियो ।

सो बेला पार्टीका केन्द्रीय सदस्य एकचन्द्र बराल ‘निर्मल’, प्रदेश सदस्य शिव डाँगी, ओम कोइराला, राजकुमार गिरी, एमालेका पूर्व अध्यक्ष रेवती घिमिरे, सागर सुवेदी, नगर पार्टी अध्यक्ष बहादुरसिंह तामाङ, सचिव काशीनाथ दंगाल, कार्यालय सदस्यहरु विनोद झा, दिवाकर रेग्मी, अर्जुन उप्रेती, उपमेयर लक्ष्मी गौतमसहितको बैठकमा भण्डारीले लिखित रुपमा आत्मालोचना गरेका थिए ।

उनले गरेको लिखित आत्मालोचनामा ‘जनता कलेजको सञ्चालक समितिको गठन प्रक्रिया सम्बन्धमा पार्टी पद्धति, प्रकृया र निर्णयलाई चुनोैती दिँदै पद्धति मिचेर प्रदेश कमिटीका सदस्य क. रेवती भण्डारीले गरेको गतिविधि पार्टी हित र निर्णयविरुद्ध भएको ठहर गर्दै अब आइन्दा पार्टी कमिटी निर्णय विरुद्ध नलाग्ने र हालसम्म भएको निर्णय प्रकृयामा गरिएको अहमति र प्रकृयालाई चुनौती दिइएको कुरा भूल भएकाले आत्मालोचना गर्दै आइन्दा यस्तो गतिविधि नगर्ने र गरे पार्टीको विधानअनुसार गरिएका सबै निर्णय र कारवाही मान्न तयार रहेको निर्णय सर्वसम्मतले पारित गरियो’ भन्ने उल्लेख गरिएको छ । सो निर्णयमा अरुले दुई ठाउँमा हस्ताक्षर गरेका छन् तर भण्डारीले भने तीन स्थानमा हस्ताक्षर गरेर सहमति जनाएका छन् ।

उपाध्यक्षमा जाने सहमति भएको अवस्थामा भण्डारीलाई कसरी अध्यक्ष बनाइयो र त्यसको स्वामित्व बोध पार्टीले गर्नुपर्दछ भनेर पार्टीको सचिवालय बैठकले सो विषयलाई अनुमोदन गराउनै लाग्दा भण्डारीले अवरोध गरेको पार्टीका नेता तथा कार्यकर्ताको बुझाइ छ ।

पार्टीको नेतृत्व तहसम्म पुगिसकेका नेता भण्डारीले आफूभन्दा धेरै तलका कार्यकर्ता पार्टी सचिवविरुद्ध लाग्नु र पदका लागि जेजस्तो निर्णय पनि गर्न पछि नहटने जस्तो गलत कामको उचित मूल्यांकन गरेर अघि बढनुपर्ने नेताहरुको भनाइ छ ।

पार्टीका पूर्व अध्यक्ष रेवती घिमिरे पार्टीका विभिन्न तहहरु अझै भएकाले कसैलाई उपेक्षा नहुने बताउँछन् । यत्रो विशाल पार्टीमा सबैलाई मिलाउने क्रममा कहिँकतै समस्या भएको भए अझै मिलाइने बताउँछन् । उनका अनुसार सचिव दंगाल सबै हिसाबले योग्य भएको पनि बताए । कसले के भन्छ र कसलाई के इच्छा लाग्छ त्यस अनुसार पार्टी हिँडन नसक्ने पनि उनले बताए । दंगालले योग्यताको कुनै प्रमाण देखाउनु पर्दैन स्थानीय तहको निर्वाचनदेखिका हरेक गतिविधिमा उनी अब्बल निस्केका छन्, उनी योग्य छन् । उनले सबै नेता कार्यकर्ताहरुलाई उचित स्थान दिने पार्टीको नीति नै हो
भने ।

नेता भण्डारीले भीम आचार्यको निर्देशनमा पार्टी विखण्डनको बाटोमा लागेको बताए । आचार्यको तानाशाही व्यवहारका कारण समस्या आएको उनले बताए । उनले आफूले जनता क्याम्पसको निर्वाचन ताका आत्मालोचना गरेको स्विकारे । त्यो सबैसँग भनेकै हो । तर, अब अहिले त्यो विषयलाई उचालेर कसैले राजनीतिक गर्न चाहेको हो भने समस्या हुने बताए ।

पार्टीलाई विधिसम्मत ढंगले चलाउनु पर्दछ भनेर आफूले सचिवालय बैठक बस्नुपूर्व आफूले पार्टीका अध्यक्ष बहादुर सिंह तामाङलाई बैठक रोक्न र असन्तुष्टहरुलाई सम्बोधन गर्न भनेको तर आफैंले ताला लगाउन चाहिँ नभनेको बताए । ‘मैले भनेको कसैसँग प्रमाण भए ल्याउनुस्’, उनले भने । तर,पार्टी स्रोतका अनुसार भण्डारीले बैठक नरोकिने देखेपछि युवाहरुलाई भनेर ताला लगाउन लगाएका थिए । ‘यसले भण्डारीको राजनीतिक जीवनलाई ठूलो घाटा गरेको छ’, उनका नजिकका सहयोगी भन्छन् ।

को हुन काशीनाथ दंगाल ?

इटहरीका रैथानेहरु भनेको त्यहाँका चौधरीहरुमात्र हुन । उनिहरु बाहेक त्यहाँ बस्ने अधिकांश मानिसहरु इटहरीबाहिरबाटै आएका हुन् ।
दंगाललाई बाहिरबाट आएको, नयाँ आदि भनेर उनिभन्दा दुईतहका नेताले प्रचार गरिरहेका छन् । उनि पनि अरु नेताहरु जस्तै खोटाङको बतासेबाट इटहरी आएका हुन् । उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिको आवरणमा हुर्किएको हो । उनका जेठा दाजु राम प्रसाद दंगाल बतासे गाउँविकास समितिमा २०४९ सालमा एमालेबाट उपाध्यक्षमा निर्वा्चित भएका हुन । उनका भाइ इन्द्रप्रसाद दंगाल जनमुक्ति सेना कार्यरत थिए । गाविस उपाध्यक्ष रहिसकेका दाजु दंगाल हाल नेकपाको खोटाङ जिल्लाको सचिव हुन । अहिले जुन नेताले उनको विरोध गरिरहेका छन् उनि नेपाली कांग्रेसबाट कम्युनिष्ट बन्नुभन्दा पहिलादेखि नै दंगालको परिवारमा कम्युनिष्ट चेतना आइसकेको थियो । नगर सचिव दंगालले परिवारको राजनीतिक सुझबुझको ब्याज खाएर मात्र एकीकृत पार्टीको सचिव बनाइएको हैन नेकपाको सुनसरी जिल्ला स्तरका एक नेताले बताए । उनि पढेलेखेका, लगनशील, इमानदार र जनताको काममा रातदिन खटनसक्ने ल्याकत राख्ने भएरै पार्टीले त्यो जिम्मेवारी दिएको हो उनले भने ।
नगर सचिव दंगालले २०४६ साल देखि जनता मावि भण्डारी डाँडा बतासेबाट अनेरास्ववियूबाट राजनीति सुरु गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनी २०५३ सालमा सुकुना क्याम्पसमा स्ववियु सदस्य पनि भए । त्यसपछि दंगाल खोटाङ्गमा
अनेरास्ववियूको जिल्ला कमिटिको सदस्य पनि भए ।त्यसपछि दंगाललाई २ नं.क्षेत्रीयसचिवको जिम्मेवारी दिइएको थियो ।त्यहाँ विद्यार्थी फाँटमा पाएको जिम्मेवारीलाई कुशतापूर्वक पूरा गरेपछि उनलाई तत्कालीन एमाले खोटाङ्ग जिल्ला समितिले पार्टीको गाउँ कमिटी सचिवको जिम्मेवारी दियो । गाउँमा उनले कुशलतापूर्वक संगठन गरेपछि दंगाललाई इलाका कमिटि सचिवको जिम्मेवारी दिइएको थियो । खोटाङ्गमा
रहेर क्षेत्रीय कमिटिमा काम गरिसकेका दंगाल २०६९ सालमा इटहरीमा आएर बसोबास गर्न थाले । दंगालको सांगठनिक गतिशिलतालाई हेरेर इटहरीमा पार्टीले दिएको वडा सदस्यको जिम्मेवारीलाई सहजै पार लगाए । उनी सहिद परिवारको पृष्ठभूमिबाट उदाएका नेता पनि हुन् । २०५८ सालमा द्वन्द्वको समयमा उनका बुबा लिलानाथ दंगाल सहिद भएका थिए । गाउँका सामन्तहरुले उनलाई जंगलमा मारेर फ्याँकेका थिए ।
२०७४ सालमा भएको स्थानीय निर्वाचन ताका तत्कालीन एमालेको इटहरी उपमहानगर कमिटिको निर्वाचन परिचालन कमिटीको जिममेवारी पाएका थिए । पार्टीको अधिवेशनपछि बनेको कार्यसमितिले उनलाई नगरको सचिवालय सदस्य र कार्यालयको उपसचिवको जिम्मेवारी दियो ।
स्थानीय, प्रदेश, संघिय निर्वाचनमा उनले पार्टीमा महत्वपूर्ण भूमिका र निर्वाह गरेको पार्टीका नेताहरु बताउँछन् ।
कांशीनाथ दंगाल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । इटहरीकै जनता नमूना माविको उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् ।
उनले खोटाङ्गमा रहदा आर्थिक तथा सामाजिक विकासका लागि सामाजिक अभियन्ताकै रुपमा लामो समय काम गरेका थिए । खोटाङ्गका केही गाविसहरुलाई चर्को ब्याजमुक्त घोषणा गराउन उनले अभियान नै संचालन गरेका थिए । दंगाल केहि समय शिक्षक पनि भए । खोटाङ्गमा हुँदा निमावि
राहत दरबन्दीमा नियुक्ती दिइएको थियो । तर, त्यसको विधि प्रक्रिया नमिलेको भन्दै आफ्नो जागिर जिल्ला शिक्षा कार्यालयमा गई आफैंले निवेदन दिएर छाडेका थिए ।
दंगालको कार्यकौशलताको एउटै उदाहरण काफी
देशैभरी सरकारी विद्यालय असफल भइरहेको सन्दर्भमा दंगाल इटहरीको नाम चलेको तर विद्यार्थीहरु आउनै नरुचाउने जनता माध्यमिक विद्यालयको २०७५ साल असारमा व्यवस्थापन समितिको अध्यक्ष भएर आए । त्यसपछि विद्यालय सुधारको कार्यक्रम लिएर उनि अभिभावक, दाता र इटहरीका सरोकारवालाका घरघर गए । उनको मेहनतले काम ग¥यो । सरकारले जनता माविलाई नमूना विद्यालयका रुपमा विकास गर्ने निर्णय ग¥यो र ३९ करोड रुपैयाको योजन स्विकृत ग¥यो । अवसरलाई कसरी जनहितमा लगाउन सकिन्छ भन्ने राम्रो ज्ञान भएका दंगालले पनि सरकार, अभिभावक र इटहरीका बासिन्दाको भावना अनूरुपको सुधारका काम गर्न थाले । विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपठान गर्ने निर्णय गरेर त्यसलाई कार्यान्वयन गरिहाले । हिजो सरकारी विद्यालय भनेर नाक खुम्च्याउनेहरु अहिले सो विद्यालयमा छोराछोरी पढाउनका लागि सिजन भन्दा पहिला नै निवेदन दिएर सिट बुक गर्न थालेका छन् । देशभरी नै यति छिटो सरकारी विद्यालयको सुधार गर्ने सायद दंगालको नेतृत्वकै टिम होला । त्यसैले उनी दिएको जिम्मेवारीलाई कसरी पूरा गर्नुपर्दछ भनेर बुझेका नेता हुन् ।

 

Facebook Comments Box