कांग्रेसले गर्‍यो सर्लाही बन्द

सर्लाही, १८ कातिक / सर्लाहीको रामनगरमा आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरिएको र दोषीलाई कार्बाही माग गर्दै नेपाली कांग्रेस सर्लाहीले आज (आइतबार) जिल्ला बन्द गराएको छ ।
गत मंगलबार रामनगर गाउँपालिकाको बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा कांग्रेस कार्यकर्ता स्थानीय ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा शनिबार साँझ जिल्लाका मुख्य बजारहरूमा मसाल जुलुस निकालेको कांग्रेसले आइतबार एक दिन सर्लाही बन्दको घोषणा गरेको हो ।

बिहान ७ बजेदेखि जिल्लाका सबै बजार र भित्री सडक बन्द गराइएको कांग्रेसका जिल्ला सभापति नागेन्द्र रायले जानकारी दिएका छन् । यसैगरी अहिले बिहान ११ बजेदेखि पूर्व पश्चिम राजमार्गमा एक घण्टाका लागि चक्का जाम गरिएको उनले जानकारी दिए । बजार बन्दको कार्यक्रम भने साँझ ५ बजेसम्म जारी रहने नेपाली कांग्रेस सर्लाही जिल्ला समितिले जनाएको छ ।

जिल्लाका भित्री बजारहरू बन्द भए पनि राजमार्ग क्षेत्रका लालबन्दी, हरिवन, नवलपुरजस्ता मुख्य बजारमा भने बन्दको प्रभाव आंशिक मात्र परेको स्थानीय बासिन्दाले बताएका छन् । यता प्रहरीले गोली काण्डमा संलग्न भएको भन्दै एक जनालाई भारतबाट पक्राउ गरेको छ ।

यसैबीच नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले गोली काण्डको दोषीलाई पक्रिएर कार्वाही नभएसम्म मृत्तक कार्यकता महतोको शव नउठ्ने बताएका छन् । उनले विराटनगरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सरकारले नागरिकको जीउ ज्यानको सुरक्षा गर्न नसकेको भन्दै ओली सरकारले सरकारमा बस्ने नैतिकता गुमाएको बताएका छन् ।

आइतबार, १८ कार्तिक, २०७५, दिउँसोको १२:१९ बजे

सम्बन्धित खवर