आज पौषे औँसी, तीर्थमा श्राद्ध गर्ने दिन

पुस २१, २०७५ काठमाडौं / पौष कृष्ण औँसी अर्थात् पौसे औँसी। तीर्थश्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ। यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृहरूलाई तर्पण, श्राद्ध गर्ने चलन छ। काठमाडौंको गोकर्ण, उत्तरगया र रसुवाको वेत्रावतीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो लाग्छ। तीर्थस्थलमा पुगेर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्डदान गर्ने परम्परा छ। पुराणहरूमा वर्षा र हिउँदका औँसीमा तीर्थमा पुगेर श्राद्ध गर्ने विधान बताइएको छ। भदौ र पुसकोऔँसी तिथिमा गोकर्णेश्वर महादेव नजिकै पिण्ड दिए पितृहरूको उद्धार हुने नेपाल माहत्म्यमा उल्लेख छ। यी औँसीमा तीर्थमा श्राद्ध गर्नाले पितृकुल, मातृकुल र बन्धुकुलका पितृहरूको उद्धार हुने शास्त्रमा बताइएको पुराणवाचक पं.बालमुकुन्द देवकोटाले बताए। सामान्यतया तिथिको श्राद्धमा एक जनालाई, पार्वण श्राद्धमा बुबातर्फका तीन तथा आमातर्फका तीन पुस्तालाई र तीर्थमा सबै पितृलाई सम्झिने वा पिण्ड दिने परम्परा छ।

