भारतीय निर्माण कम्पनीले सयौं नेपाली मजदुरको ज्याला दिएन

संखुवासभा / संखुवासभामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम बनाइरहेको भारतीय निर्माण कम्पनी पटेल इञ्जिनियरिङ कम्पनीले कार्यरत सयौं मजदुरको ज्याला नदिएको खुलेको छ ।
आयोजनामा कार्यरत मजदुरलाई महिनौंदेखिको तलब र भत्ता सो कम्पनीले अझैसम्म भुक्तान गरेको छैन ।
मजदुरमात्रै नभइ सहायक ठेक्का लिएको नेपाली निर्माण कम्पनीले पनि भारतीय कम्पनीका कारण सकस भोगिरहेको छ । तलब नपाउँदा मजदुरका परिवारले समस्या भोगिरहेका छन् ।
सम्झौता अनुसार काम सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले जानकारी दिनुभयो । अरुण तेस्रो आयोजनाको ड्याम साइडमा भारतीय पटेल इञ्जिनियरिङ लिमिटेडले काम गरिरहेको छ । सोही कम्पनीसँग रौताहा कम्पनीले २० करोड रुपैयाँको पेटी ठेक्का लिएर काम गरेको थियो ।
मजदुरले पाउनुपर्नेमध्ये २० मध्ये १७ करोड रुपैयाँ अरुण तेस्रोले भुक्तानी दिएको, तर १ करोड ४९ लाख ९० हजार ६६ रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्देशक थापाले बताउनुभयो । काम सम्पन्न गरेर भुक्तानीका लागि पटक–पटक धाउँदा रकम भुक्तानी दिन आलटाल गरिरहेको उहाँको भनाइ छ ।
कात्तिक १ गते ८६ लाख रुपैयाँको भ्याट बिल काटेर पनि अहिलेसम्म भुक्तानी नदिएको निर्देशक थापाको भनाइ छ । रौताहा कम्पनीले अरुण तेस्रोमा गएको ०७५ भदौ देखि काम शुरू गरी ०७६ साउनभित्र तोकिए बमोजिमको काम सम्पन्न गरिसकेको छ ।

आयोजनाको काम सम्झौता अनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दा बेवास्ता गरेपछि मजदुरहरूलाई भुक्तानी दिन नसकिएको कम्पनीको भनाइ छ । बैंकले समेत धितो लिलाम गर्ने अवस्था सिर्जना भएको भन्दै थापाले संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रबार, २१ फागुन, २०७७, दिउँसोको १२:४८ बजे

सम्बन्धित खवर