नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको छ। फोनिज संघीय समितिले शनिबार विज्ञप्ति गर्दै कोशी प्रदेश खारेजको माग गरेको हो। विज्ञप्तिमा भनिएको छ‚ ‘संघीयताको मर्म विपरीत र निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्षण भएको छ।’

किरात, लिम्बुवान, कोचिला र शेपालुङसमेतको सभ्यता, राजनीतिक विरासत र पहिचानको थलो भएको जिकिर गर्दै पहिचानमाथि निर्मम प्रहार भएको फोनिजको ठहर छ। पहिचान प्राप्तिका लागि हुने शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्ने उल्लेख छ।

फोनिज प्रदेश १ समितिले ‘कोशी प्रदेश’ स्वीकार नगर्ने धारणा सार्वजनिक गरेको थियो।​ फोनिज मोरङले शनिबार बेलबारीमा कोशी प्रदेश खारेजीको माग राख्दै प्रदर्शनी गरेको छ।​ बेलाबारीमा आयोजित फोनिजको मोरङ भेलापछि पूर्वपश्चिम राजमार्गमा केही समय प्रदर्शन गरिएको हो। प्रदर्शनमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय समिति सदस्य सुजाता लिम्बू, प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राई लगायत थिए।

त्यसअघि आयोजित भेलामा फोनिज संघीय उपाध्यक्ष देवानले पहिचान चाहनेको मर्म र भावना कुण्ठित गरेर प्रदेशको नामकरण हुनु गम्भीर षड्यन्त्र भएको बताए। कार्यक्रममा वक्ताहरूले पहिचानको चाहनालाई कुठाराघात गरिनु निन्दनीय भएको टिप्पणी गरे। फोनिज प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेश सभाभित्र छलछाम गरेर पहिचान पक्षधरहरूमाथि प्रहार गरिएको जिकिर गरे।

Facebook Comments Box