हुरी पीडितले वर्षाअघि घर पाउने, सेनालाई निर्माणको जिम्मा

चैत २२, २०७५ काठमाडौं / गत आइतबार रातिको हावाहुरीबाट घरबार गुमाएका बारा र पर्साका पीडितका लागि घर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले वर्षायामअगावै बेघरबार भएकालाई घर निर्माण गर्नका लागि योजना बनाएर आवास निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।


संचार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका प्रवक्ता बाँस्कोटाले घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाका प्रतिनिधि र सहरी विकास मन्त्रालयका प्रतिनिधिसहित पाँच सदस्यीय समिति पनि गठन गरिएको जानकारी दिए। बारा र पर्सामा आइतबार साँझ आएको हुरीका कारण हालसम्म २८ जनाको निधन र ६०० बढी घाइते भएका छन। घाइतेहरूको जिल्लाका विभिन्न अस्पताल र काठमाडौंमा उपचार भइरहेको छ। नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सामा हावाहुरीले पारेको विपदबाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ। प्रदेश सरकारले हुरी आएलगत्तै प्रिफ्याब घर बनाइदिने निर्णय गरेको थियो। तर, संघीय सरकारले भने व्यवस्थित र पक्की घर बनाउनका लागि नेपाली सेनालाई जिम्मेवारी दिएको बताइएको छ।