खोप खरिदमा ‘बिचौलिया कनेक्सन’

पुष्पराज आचार्य 

बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यवसायिक उत्पादन हाम्रै छिमेकी भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूट इण्डिया प्रा.लि.ले सुरु गर्‍यो । खोपको व्यावसायिक उत्पादन सुरु भएपछि भारतले नेपाललाई पनि १० लाख डोज खोप अनुदानमा दियो ।

माघ ८ मा भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे । खोप आएपछि नेपालले माघ १४ मा सातै प्रदेशमा स्वास्थ्यकर्मीहरूलाई खोप लगाएर राष्ट्रव्यापी खोप अभियान शुरु गर्‍यो । अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौं ।’

प्रधानमन्त्रीले घोषणा गर्नुमा केही आधारहरू भने पक्कै थिए । भारतसँग उनको सम्बन्ध सुधार भएको थियो र भारतले सहृदयतापूर्वक १० लाख डोज खोप अनुदानमा दिएलगत्तै नेपालले थप खोप खरिद प्रक्रिया अघि बढायो । थप २० लाख डोज खोप प्रति खोप ४ डलरमा किन्‍ने गरी सम्झौता भयो । त्यतिबेला विश्‍वव्यापी खोप सहकार्यअन्तर्गत नेपालले १९ लाख २० हजार डोज खोप प्राप्त गर्ने क्रममा थियो ।

बाँकी ५० लाख खोप सेरुमसँगै किन्‍न प्रस्ताव तयार हुँदै थियो । बेलायतले नेपाललाई २० लाख डोज खोप सहयोगको प्रतिबद्धता गरेको थियो । चीनले ८ लाख डोज खोप पठाउने वचन दिएको थियो । तीन करोड ३ लाख जनसंख्यामा १८ वर्ष मुनिका र गर्भवती महिला लगायतलाई खोप लगाउनुनपर्ने र झण्डै ४० लाख नेपाली देशबाहिर रहेको परिप्रेक्ष्यमा तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको उद्घोष थियो ।

सेरुमसँग खरिद सम्झौता भएकोमध्ये अर्को १० लाख डोज खोप फागुन ५ गते नेपाल आइपुग्यो । यसैबीच फागुन २३ गतेदेखि नेपालले देशभरका ३,००० खोप केन्द्रबाट दास्रो चरणको खोप अभियान सुरु गर्दै ६५ वर्षमाथिका लाई अनिवार्य गरियो र आपतकालीन उपचारमा खोपको प्रयोग अनुमति दिइयो । अभियानमा प्रधानमन्त्री र ‘फर्स्ट लेडी’ राधिका शाक्य पनि खोपकेन्द्रमा उपस्थित भएर खोप लगाए । त्यहाँ पनि प्रधानमन्त्रीले राष्ट्रव्यापी खोप अभियान सुरु गर्ने दक्षिण एसियामै भारतपछि नेपाल दोस्रो देश भएको गर्वका साथ सुनाए ।

दोस्रो चरणको खोप अभियान शुरु हुँदासम्म बिचौलियाहरूको दौडधुप सुरु भैसकेको थियो । नेपालले २० लाख डोज खोपका लागि सेरुमसँग सम्झौता प्रक्रिया अघि बढाउँदासम्म उनीहरूले पत्तै पाएका थिएनन् । खोप किन्‍ने निधो भैसकेपछि आफूलाई सेरुमको स्थानीय एजेण्ट हुकुम इन्टरप्राइजेजका साझेदार बताउँदै विजय दुगड र ऋतु सिंह वैद्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मन्त्रिपरिषद्ले अनुमति दिए अनुसार १० प्रतिशत कमिसन समावेश गर्न माग गरे ।

सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेण्ट सुरज वैद्य र विजय दुगड हुन् । सेरुमसँग खोप किन्‍ने सबै तयारी अन्तिम चरणमा पुगेपछि मात्र वैद्यले जानकारी पाए, त्यतिबेला उनी न्यूयोर्कमा थिए । खोप किन्‍ने अन्तिम चरणमा पुगिसकेकाले कमिसन समावेश गर्न नसकिने भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएपछि उनीहरूले खोप अभियानको पहिलो चरणमा खरिद गर्न लागिएको २० लाख डोज भ्याक्सिनमा कमिसन छुट गर्न मञ्जुर रहेको माइन्युट पनि गराए । तर, त्यसपछि उनीहरूको दौडधूप सुरु भयो ।

भारतमा दोस्रो लहरको कोरोना भाइरस महामारी शुरु हुनुभन्दा एक महिना अघि नै फागुनको दोस्रो सातातिरै सेरुमले अचानक स्वास्थ्य मन्त्रालयलाई सम्झौता भैसकेको १० लाख डोज खोप दिन आनाकानी गर्दै स्थानीय एजेण्टमार्फत् प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्र पठायो । जवाफमा स्वास्थ्य मन्त्रालयले सम्झौता अनुरुप खोप पठाउन सेरुमलाई आग्रह गर्‍यो । त्यतिबेलासम्म वैद्य र दुगडको पुणेमा दौडधुप तीव्र भैसकेको थियो ।

सेरुमले पत्र नै पठाइसकेपछि कमिसन एजेण्टको चालबाजी बुझेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफ गरे । ‘हजुरहरूकै मान्छे हुन्, यस्तो चलखेल गरिरहेका छन् । के गर्ने हो ?’ जवाफमा प्रधानमन्त्रीले भने, ‘ए हो र ! तिनै पो रहेछन् ।’ त्यसभन्दा बढी प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीसँग पनि केही भनेनन् । प्रधानमन्त्रीको आशय चतुर स्वास्थ्यमन्त्रीले नबुझ्ने कुरै भएन ।

वैद्य नेकपा एमालेसँग निकट व्यवसायी हुन् । प्रधानमन्त्री ओलीसँग उनको व्यक्तिगत सम्बन्ध छ । प्रधानमन्त्री ओलीले उनलाई नेपाल भ्रमण वर्ष, २०२० अभियानको संयोजकसमेत बनाएका थिए । लहरो तान्दै जाँदा फेरि खोप आपूर्तिमा पनि यसअघि महामारीको स्वास्थ्य सामग्री आपूर्तिकै घटना पुनरावृत्ति हुने जानकारहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले अर्को चरणमा सेरुमसँगै ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अघि बढाउन लागेपछि कमिसन एजेण्ट थप सक्रिय भए । दुई सरकारको तहमा (जीटुजी) खरिद गर्नेगरी स्वास्थ्य मन्त्रालयले पहल अघि बढाएपछि उनीहरू थप सक्रिय भएर आफैंले कमिसन छाड्ने भनि माइन्युट गरेको सम्झौतीत १० लाख डोज खोप रोकेर सरकारलाई दबाब दिनेतर्फ लागे ।

कमिसन एजेण्टले भारतीय कर्मचारीतन्त्रमा पनि प्रभाव पारे, जसका कारण त्यहाँ कुरामात्रै हुने फाइल अघि नबढ्ने भयो । ५० लाख डोज खोप खरिद अघि बढाउँदा १० प्रतिशत कमिसन सुनिश्चित नभइ उनीहरू कुनै हालतमा खोप खरिद प्रक्रिया अघि बढ्न नदिन भारतमा पनि उत्तिकै सक्रिय भए । तर सेरुमका नेपाल एजेन्टमध्येका एक विजय दुगडले इकागजसँगको कुराकानीमा भने, ‘हामीले त पहिलो चरणमा वैधानिक कसिमन छोडिदिएका हौं । मन्त्रिपरिषद्कै निर्णय अनुसार पनि १० प्रतिशत कसिमन हाम्रो हक हो । ५० लाख डोज भ्याक्सिन खरिद गर्ने बोलपत्र निकालेको तपाईंको जानकारीमा छ र ?’

कमिसन एजेण्टको चलखेल शुरु भएको यही एक महिनाको बीचमा भारतमा कोभिड-१९ को दोस्रो लहर देखापर्‍यो । त्यो अहिले उत्कर्षमा छ । नेपालमा समेत अहिले दैनिक ७-८ हजार नयाँ संक्रमित बढीरहेका छन् । खोप लगाएका व्यक्तिमा कोभिड-१९ संक्रमण भएपनि अस्पताल भर्ना हुने दर अत्यन्त न्यून छ । महामारीबाट जीवन रक्षा गर्ने जीवनाधार प्रमाणित भएको खोपमा समेत कमिसन एजेन्टको दौडधूपले धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन् । ठूलो मानवीय क्षति मुलुकले व्यहोर्नुपरेको छ ।

अहिले कमिसन एजेण्टको दलील छ, भारतमा त्यस्तो अवस्था छ । भारत सरकारले खोप निर्यात रोकेको छ । यस्तो अवस्थामा कमिसन एजेण्ट देखाएर स्वास्थ्यमन्त्रीले राजनीतिक ‘स्टन्ट’ गरे ।

तर, स्वास्थ्य मन्त्री भन्छन्, ‘सेरुमले बाँकी १० लाख खोप दिन आनाकानी गर्न थालेको फागुन दोेस्रो सातातिरदेखि नै हो । हामीसँग २७ दिनको निर्णायक समय थियो । २० लाख डोजमात्र होइन, कमिसन एजेण्टले भाँजो नहालेको भए अर्को ५० लाख डोज खोप भारतमा कोभिड-१९ को दोस्रो लहर आउनुअघि नै नेपाल भित्रिसकेको हुन्थ्यो र हामीले ठूलो मानवीय क्षति रोक्न सक्थ्यौं ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमका अनुसार, सेरुमबाट आपूर्ति हुन बाँकी १० लाख डोज समेत गणना गरेर नेपालले खोप योजना कार्यान्वयन गरेको हो । अहिलेसम्म पहिलो डोज अष्ट्राजेनिका (कोभिशिल्ड) खोप लगाइसकेकालाई अर्को खोप दिन मिल्ने या नमिल्ने, मिश्रित खोपको प्रमाणिक अध्ययन भैनसकेको र अन्यत्रबाट अरु प्रकारका खोप ल्याएर वितरण गर्न सक्ने अवस्था पनि नरहेकाले सेरुमले मानवीयताका आधारमा पनि सम्झौता भैसकेको १० लाख डोज खोप तुरुन्त आपूर्ति गर्नुपर्छ ।

बुधबार, २२ बैशाख, २०७८, बिहानको ११:०८ बजे

सम्बन्धित खवर