श्रावण २०, दमक/ दमक नगरपालिकाबाट काठमाडौं गएको टोलीले रतुवा र मावा नदी तटबन्धनको ठेक्का सम्झौता अनुसार काम गर्न अटेर गर्ने निर्माण कम्पनीलाई तत्काल काम गराउन जलस्रोत तथा सिचाइँ विभागको ध्यानाकर्षण गराएको छ । ठेक्का लिएरपनि नदी तटबन्धनको काम नगर्ने निर्माण व्यवसायीलाई तत्काल काम अघि बढाउन ध्यानाकर्षणका लागि टोलीले विभागको ध्यानाकर्षण गराएको हो ।
दमक नगरपालिकाका प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई, नेकपा माओवादी केन्द्रका नेता गगन पुरी, रवि बस्नेतसहितको टोलीले विभागका आयोजना निर्देशक रूक्मागंत खनाललाई भेटेर त्यस्तो ध्यानाकर्षण गराएको हो ।
एशियाली विकास बैंकको अनुदान सहयोगमा दमक, कमल, गौरादह, उर्लाबारीलगायतको पालिकामा पर्ने गरी रतुवा र मावामा विभिन्न ठाउँमा करिब १२ किलोमिटर तटबन्धन गर्न ०७८ जेठमा ठेक्का सम्झौता भएको थियो ।
७० करोड ४६ लाखको लागतमा सो तटबन्धन गर्ने गरी एचजेडएमसी–मैनाचुली–रोशन जेभीले सम्झौता गरेको छ । निर्माणको जिम्मा लिएको कम्पनीले मुभिलाइजेसन वापत रकम समेत निकासा लिएर पनि तटबन्धनको काम अलपत्र पारेर छोडदा नदी प्रभावित क्षेत्र दमक, कमल, गौरादह र उर्लाबारीका हजारौं सर्वसाधारण नदी कटानको जोखिममा छन । सम्बन्धित निर्माण कम्पनीले समयमा काम नगर्दा खोला आसपास क्षेत्रका बस्तीनै जोखिममा परेका दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिम पौडेलले बताए । अस्थायी बाँधमा करोडौं खर्च भएको तर दिगो हुन नसकेपछि सरकारले ढुंगाको स्पर निर्माण गरि बाँध बाँध्ने योजना अनुसार काम अघि बढाएको थियो ।
विभागका आयोजना प्रमुख खनालले गत आर्थिक वर्षमा एडिबीको सो प्रोजेक्टका लागि ४० लाख छुटिए पनि काम हुन नसकेको बताए । उनले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि सन्तोषजनक काम नभएकोले अब चाँडै नै फिल्डमै निर्माण व्यवसायी, स्थानीय र जनप्रतिनिधिसहितको बैठक राखेर समस्याको निकास खोजिने बताए ।
निर्माण व्यवसायीले काम नगर्दा दातृ निकाय एशियाली बिकास बैंक समेत रुष्ट बनेको बताइएको छ । ०७८ जेठमा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले कागजात मिलाउनै माघसम्म लगाएको उनले बताए । यसअघि निर्माण व्यवसायीसँग छलफल गर्दा गल्ती भएको र अब काम सुरु गर्ने बताए पनि अझै काम हुन नसकेको विभागले जनाएको छ ।

Facebook Comments Box