जीवनमा आधारित शिक्षाको मार्ग

शिक्षा


वाई.पी. आचार्य
शिक्षा जीवनको लागि हो, जीवन शिक्षाको लागि होइन । शिक्षा साधन हो, साध्य होइन । साध्य त मानिसको सम्पूर्णताको विकास हो । यहाँ साध्यमा होइन, साधनका बारेमा व्यापक बहस, छलफल र लडाई छ । नेपालमा पनि शिक्षाको विभिन्न नाममा वाक्युद्ध चलिरहेछ । गरिखाने शिक्षा, जनमुखी शिक्षा, व्यवहारिक शिक्षा, जीवनोपयोगी शिक्षा, जनवादी शिक्षा, माटो सुहाउँदो शिक्षा आदि नाममा तीर हानाहान छ । यी नाममा विद्वत मथिङ्गल पनि तरङ्गित हुँदै आएका छन् । तर पनि एउटा साझा शैक्षिक मान्यता समेत पाउन सकिएको छैन ।
जीवनमा आधारित शिक्षालाई मुख्यतया निम्न प्रश्नहरूको कसीमा नाप्नुपर्ने हुन्छ । शिक्षाले व्यक्तिको दैनिकी चलाउँछ कि चलाउँदैन ? व्यक्तिको आत्म सम्मान गर्छ कि गर्दैन ? कार्ल माक्र्सले भनेजस्तो मानिस मानिस भएर बाँच्न पाँउछ कि पाउँदैन ? चीनमा जस्तै गाउँघरका खेतबारी, कार्यस्थल, फार्म, उद्योग, बन, जंगल, हिमाल, खोलानाला आदि विद्यार्थीका अध्ययनस्थल बन्छन् कि बन्दैनन् ? पाउलो फ्रेरेले भनेजस्तो ज्ञानको ‘फस्टहेण्ड’ प्रयोग गर्न पाउँछन् कि पाउँदैनन् ? शिक्षा अनिवार्य श्रमसँग जोडिन्छ कि जोडिँदैन ? माओले भनेजस्तो जनताबाट सिक्ने अवसर मिल्छ कि मिल्दैन ? रबिन्द्रनाथ टैगोरले भनेजस्तो विद्यार्थीहरू कुनै पनि ‘इन्डोक्ट्रीनेशन’ बाट मुक्त हुन पाउँछन् कि पाउँदैनन् ? महात्मा गान्धीले भनेजस्तो अहिंस्रक बन्छन् कि बन्दैनन् ? बुद्धले भनेजस्तो कारण खोजी समाधान सुझाउने हुन्छन् कि हुँदैनन् ?
मूल मान्यता
हरेक राष्ट्रका आफ्नै शैक्षिक मान्यता हुन्छन् । पुँजीवादी देशले व्यक्तिवाद र उपभोक्तावादलाई मूलमन्त्र मान्छन् । समाजवादीहरूले माक्र्सवादी दर्शन र यसको जगमा निर्मित सामाजिक जीवनशैलीलाई मूल आदर्श ठान्छन् । केही देशहरूले आफ्नै देश र परिवेशअनुसार शैक्षिक मान्यता तयार गरेका हुन्छन् । हाम्रो देश यहीँनिर चुकेको छ । अहिलेसम्म राज्यको शैक्षिक नीति र मान्यता छैन । त्यसैले जति सरकार फेरिन्छन् त्यति भाका फेरिन्छन् । जीवनमा आधारित शिक्षाको मूल मान्यता मानवीय, स्वःपहिचान गर्न सक्ने, समालोचक बनाउने हुनुपर्छ । माटो, संस्कृति र राजनीतिको मिलन खोज्ने राष्ट्रिय प्रकृतिको हुनुपर्छ । अधिकार खोज्ने र कर्तव्य पालन गर्ने कर्मठ योद्धा उत्पादन गर्ने लोकतान्त्रिक मूल्यसहितको हुनुपर्छ । निश्चयवादीको ठाँउमा आइन्सटाइनले भने जस्तो सापेक्षतावादी सोचको बिजारोपण गर्नुपर्छ । निश्चयवादले अन्धभक्त बनाउँछ, सापेक्षतावादले सिर्जनात्मक बनाउँछ । वोड्र्युले भने जस्तो पुनर्उत्पादनको ठाँउमा रचनात्मकताको खेती गर्नु पर्छ ।
श्रमसँग जोडिएको शिक्षा
जीवनमा आधारित शिक्षाको सारपक्ष नै शिक्षा र श्रमको एकत्व हो । श्रमले एकातिर उत्पादनमा सघाउँछ, चरित्र निर्माण गर्छ, सामन्ती संस्कृतिको अन्त्य गर्छ अर्काेतिर यसले उद्विकासमा सघाउँछ । यस्तो श्रम शारीरिक र मानसिक दुवै हुन सक्छ । यो उमेर अनुसार फरक फरक हुन्छ । नेपालमा शिक्षालाई श्रमसँग जोड्न निम्न कार्य गर्न सकिन्छ । १) सकेसम्म शिक्षण संस्थाको आफ्नै फार्म खोल्ने, आफ्नै नभए गाउँमा वा अन्य व्यावसायिक फार्ममा जाने २) कलकारखानामा जाने त्यहाँ प्रयोग भएको प्रविधि, विज्ञान बुझ्नेसँगै त्यसलाई चलाउन सिकाउने, शिक्षण संस्था र कलकारखानाको सम्बन्ध स्थापित गर्ने ३) परम्परागत कार्यस्थल जस्तै फलाम वा माटाका भाँडा बनाउने, कपडा सिलाउने, सुनका गहना बनाउने आदि व्यक्तिकोमा जाने र उनीहरूसँगै काम गर्न लगाउने ४) गृहकार्य दिँदा किताब सार्न होइन, घर वा समाजमा काम गर्न दिने त्यसको बयान स्कुलमा आएर गर्न लगाउने ५) कर्णालीको विद्यार्थीलाई स्याउ, यार्सागुम्बा, जडिबुटी सम्बन्धी काम गर्न लगाउने ६) तराईको विद्यार्थीलाई धान, तरकारी खेती गर्न लगाउने, पूर्वको विद्यार्थीलाई चिया, अलैंची खेती र हिमालकोलाई पर्र्यटन सम्बन्धी काम दिने, कसैलाई निर्माण कार्य गर्न लगाउने । काम नगरेसम्म तह पार नहुने व्यवस्था गर्नु पर्छ ।
जनताबाट सिकाइ
जनताबाट सिक्ने कुरा नै जीवनमा आधारित शिक्षाको मूल आधार हो । जनता नै जीवन हुन् । गरिब, किसान, मजदुर पछाडि परेका जनता अशिक्षित होइनन्् । उनीहरूलाई पढाउने मात्र होइन, उनीहरूबाट सिक्ने पनि हो । जीवनमा आधारित शिक्षाले उनीहरूलाई ज्ञानको स्रोत मान्छ । माओले यिनै किसान, तिनीहरू बस्ने समाज, तिनीहरूले काम गर्ने कार्यस्थललाई विद्यार्थीको प्रयोगात्मक कक्षा गर्ने गराउने गुरु र प्रयोगशालाको रूपमा व्याख्या गर्छन् । उनले चीनमा यस्तै अभ्यास गरे । नेपालमा पनि दलित, जनजाति, अल्पसंख्यकहरूबाट ज्ञान, सीप, कला, प्रविधि सिक्न सकिन्छ ।
गरिखाने शिक्षा
जीवनमा आधारित शिक्षाले छिटो काम पाउने, खानलाई दाम आउने शिक्षा खोज्छ । वर्तमान नेपाली शिक्षा टाउकोले टेकेर हिँडेको छ । साधारण शिक्षा बढी छ व्यावसायिक र प्राविधिक कम छ । हामीलाई चीनमा खालिखुट्टे डाक्टर भएजस्तो जनशक्ति बढी चाहिएको छ । थोरै लगानी गरेर पढ्ने पढेपछि काम पाउने वा आफैँ रोजगारी सिर्जना गर्न सक्ने शिक्षा दिनु पर्छ । यसका लागि निम्न काम गर्न सकिन्छ १)े तल्लो तहदेखि बहुप्राविधिक चरित्रको शिक्षा समावेश गर्ने । यसमा ठूला प्रविधि होइन, दैनिक घरायसी जीवनमा प्रयोगमा आउने सामान्य प्रविधि सिकाउने । २) आधारभूत तहपछि दुई मोडमा–साधारण र प्राविधिक शिक्षा दिने । ३) उच्च शिक्षामा साधारण शिक्षा घटाएर अहिले भएका क्याम्पस र विश्वविद्यालयलाई प्राविधिक र व्यावसायिक केन्द्रका रूपमा स्थापित गर्ने ४) परम्परागत रूपमा चलेका व्यवसायलाई आधुनिकतासँग जोड्न सिकाउने ।
निरन्तर शिक्षा
यसले समय अनुसारको सिकाइलाई जोड दिन्छ । पुरानोमा नयाँको मिलान खोज्छ । यसमा निम्न कुरा समेट्न सकिन्छ । १) प्रौढ शिक्षा– अक्षर चिन्न मात्र नभएर पाउलो फ्रेरले भने जस्तो ‘रिफ्लेक्ट’ विधिमा आधारित समुदायलाई नै सशक्तिकरण गर्ने खालको हुनुपर्छ । २) पुरानोलाई नयाँ बनाउने– यसमा मूलतः परम्परागत ज्ञान सीपलाई आधुनिकतासँग जोड्ने हो । जस्तै बालिघरे कपडा सिलाउनेलाई व्यावसायिक र आधुनिक सिलाई सिकाउने । उनीहरूसँग ज्ञान, सीप छ तर अद्यावधिक नहुँदा विस्थापित हुने खतरा भयो । स्थापित गर्न निरन्तर शिक्षा चाहिन्छ ।
शिक्षकलाई जिम्मेवार बनाउने– शिक्षामा सबैभन्दा जिम्मेवार व्यक्ति शिक्षक नै हुन् । शिक्षकले चाहँदा र गर्दा गुणस्तर बढ्छ भन्ने कुरा निजी विद्यालयका शिक्षक र ‘टिचर क्यान मेक डिफ्रेन्ट’ कार्यक्रमले प्रमाणित गरेको छ । शिक्षालाई जीवनसँग जोड्न शिक्षकलाई निम्न तरिकाले जिम्मेवार बनाउन सकिन्छ । १) शिक्षक साझा हुन् पार्टीका होइनन्, विचारमा स्वतन्त्र हुनेछन्, पार्टीको पद लिने छैनन् । २) शिक्षकले पनि विद्यार्थीसँगै श्रम गर्नैपर्ने व्यवस्था गर्ने ३) शिक्षकलाई पाठ्यपुस्तक पढाउन नदिने, अनुभव साट्न भन्ने, विद्यार्थीको अनुभवलाई स्थान दिने, विद्यार्थीलाई समस्या दिने समाधान खोज्न सघाउने । किताब पढाँउदा पुनरावृति भयो सिर्जना भएन । ४) शिक्षकलाई मूल्याङ्कनको अधिकार दिने, तर विद्यालयको छुट्टै निकाय निर्माण गरी क्रस परीक्षा लिने । विद्यार्थी असफल भए सम्बन्धित शिक्षकलाई जवाफदेही बनाउने, पटक पटक नतिजा नराम्रो आए शिक्षकलाई बिदा गर्ने ५) शिक्षकको छनोट स्वतन्त्र निकायले योग्यता क्रमका आधारमा गर्र्ने, सुविधा बढाउने तर अहिलेजस्तो स्थायी भएपछि छुनै नसक्ने होइन, गलत गरे, गुणस्तर दिन नसके तत्काल बिदा दिन मिल्ने बनाउने । ६) शिक्षकको पनि समय समयमा योग्यता परीक्षण गर्ने अयोग्य ठहर भएमा बिदा गर्ने ।
शिक्षण विधि
जीवनमा आधारित शिक्षाले अनुभव केन्द्रित शिक्षण विधि खोज्छ, बंैकिङ धारणाको विरोध गर्छ । यस शिक्षाको मुख्य उद्देश्य बोड्र्युले भनेजस्तो पुनरावृत्ति होइन, सिर्जना गर्ने हो । सिर्जना गर्नका लागि विद्यार्थीले रुसोले भनेजस्तो प्रकृतिबाट सिक्नु पर्छ, डिबेले भने जस्तो क्रियाकलाप गरेर सिक्नुपर्छ, पेट्रिकले भनेजस्तो परियोजना कार्यबाट सिक्नुपर्छ, भिगोत्स्कीले भनेजस्तो आफैं ज्ञान निर्माण गर्नु पर्छ । माक्र्सले भनेजस्तो श्रम गरेर सिक्नु पर्छ, माओले भनेजस्तो जनताबाट सिक्नु पर्छ, । प्रौढ शिक्षाका लागि फ्रेरेले भनेजस्तो रिफ्लेक्ट विधिद्वारा सिकाउनु पर्छ । जीवनमा आधारित शिक्षा स्वयं जीवनको सारथी हो । यसले व्यक्तिको तत्कालिक र दीर्घकालिक आवश्यकतालाई केन्द्रमा राख्छ । व्यक्तिको उमेर, रुचि, मनोविज्ञान र अपेक्षालाई सम्बोधन गर्न खोज्छ । व्यक्तिको दर्शन, मूल्य मान्यता, विश्वास, संस्कृति, आर्थिक अवस्था, उपलब्ध स्रोेतहरू आदिका आधारमा जीवनमा आधारित शिक्षा तय हुन्छ । यो ‘यूनिभर्सल’ नभएर ‘कन्टेक्सचुयल’ हुन्छ । त्यसैले नेपालीपनको जीवनमा आधारित शिक्षा खोजौँ, अरूको सिको नगरौँ ।