पाँचथरमा हावाबाट बिजुली, झलमल सप्तमी बजार

पुस २२, २०७५ पाँचथर / बाह्रै महिना हुस्से लागिरहने पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावा र सौर्य प्रणालीबाट विद्युत उत्पादन गरिएको छ। हावाबाट २० र सौर्य प्रणालीबाट ५० गरि ७० किलोवाट विद्युत उत्पादन गरिएको हो। उत्पादित विद्युत पुसको दोश्रो सातादेखि परीक्षण प्रसारणमा छ। पुस मसान्तसम्म परीक्षण गरिने र माघदेखि भने चौबिसै घण्टा विद्युत प्रसारण गरिने सप्तमी वायू तथा सौर्य उर्जा मिनी ग्रिड उपभोक्ता समितिले जनाएको छ। समितिकाअनुसार उत्पादित विद्युतबाट सप्तमी बजारसहित आसपास क्षेत्रका केही घर गरि कूल एक सय १० घरमा विद्युत जडान गरिएको छ। गत वैशाखको पहिलो सातादेखि निर्माण थालेको टप्सन कृष्णगृल जेभीले मंसीर मसान्तमा सम्पूर्ण काम सकेर विद्युत परीक्षण गर्नु पर्ने सम्झौतामा उल्लेख भएपनि काम सक्न भने दुई साता ढिला भएको थियो। उक्त मिनी ग्रिड, उपभोक्ताको २० लाख २५ हजार, मिक्लाजुङ गाउँपालिकाको २४ लाख ७५ हजार र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको चार करोड पाँच लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। सप्तमी वायू तथा सौर्य उर्जा मिनी ग्रिड उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर आङ्देम्बेले विद्युत प्रसारण लाइन विस्तारको काम भइरहेको बताए। पुसको अन्तिमसम्ममा प्रसारण लाइन विस्तारको काम सक्ने गरि प्राविधिकहरूलाई परिचालन गरिएको बताए। यससँगै विद्युत महसुल भने नेपाल विद्युत प्राधिकरणको महसुल दर भन्दा केही सस्तो हुने र उपभोक्ताहरूको आम भेलाबाटै सहमतिमा समितिले महसुल दर निर्धारण गरिने पनि अध्यक्ष आङ्देम्बेले जानकारी दिए। ‘पोल गाडिएको वर्षौपछि हालै विद्युतको केन्द्रिय प्रसारण लाइन जडान भएको छ।’ उनले भने, ‘त्यसको भन्दाचाँही महसुल दर केही सस्तो गछौँ। यसका लागि उपभोक्ताहरूको आम भेला बोलाउँछौँ।’ उत्पादित विद्युतबाट सप्तमी बजार रातमा पनि झिलिमिली भएको छ। सप्तमी बजारदेखि माथिको डाँडामा हावाको गति केही वर्षअघि मापन गरिएको थियो। इलेक्ट्रीकल इञ्जिनियरसहितको प्राविधिकहरूले गरेको प्रारम्भिक सम्भाव्यता अध्यय्न र त्यसपछि विस्तृत सर्भेक्षणको क्रममा हावाको गति तीब्र पाएपछि सो को आधारमा २० किलोवाटसम्म विद्युत उत्पादन गरिएको हो।

