पोखरामा किन हुन्छ लगातार प्याराग्लाइडिङ दुर्घटना ?

३ दिनमा ४ दुर्घटना, २ को मृत्यु
२२ फाल्गुण, २०७५ पोखरा / पोखरामा पछिल्लो तीन दिनसम्म लगातार प्याराग्लाइडिङ दुर्घटना भएको छ । तीन दिनमा भएको ४ दुर्घटनामा परी दुईको मृत्यु भएको हो । आज (मंगलबार) मध्यान्हः करिब १२ बजे सराङकोटबाट प्याराग्लाइडिङ उडान भरेका रसियन नागरिक करिब ४० बर्षीय विएमआइ जिभिआइएलको प्याराग्लाइडिङ दुर्घटनामा परी मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । व्लु स्काई प्याराग्लाइडिङ कम्पनीको टेकअफ गर्ने स्थान सराङकोटबाट उडान भरेका उनी उडेको करिब एक मिनेटमै एकाएक ग्लाडर खुम्चिन पुगि पथ्थरमा बजारीदा घाइते भएका उनको उपचारकै क्रममा मेट्रो सिटि हस्पिटलमा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङले बताए । पोखरामा व्यवस्थित प्यराग्लाइडिङ गराउन नसक्दा आइतबार, सोमबार र मंगलबार लगातार प्याराग्लाइडिङ दुर्घटना भएको हो । आइतबार प्यराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिकले ज्यान गुमानु पर्यो भने सोमबार प्याराग्लाइडिङ दुर्घटना हुदा दुई जना घाइते हुन पुगे । रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकाशमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासि तालमा डुब्न पुगेर उनको मृत्यु भएको घटना सेलाउन नपाउदै सोमबार र मंगलबार लगातार प्याराग्लाइडिङ दुर्घटना भएको छ । सोमबार माछापुच्छ्रे गाउँपालिका ८ ठाँटीमा पोल्याण्डका ३७ बर्षीय जानुज कारोल प्याराग्लाइडिङको ग्लाइडर बिजुलीको तारमा ठोकिदा घाइते भए । नाङगो बिजुलीको तारमा छुन पुग्दा उनको दाहिने हातमा बिजुलीको करेन्टले जल्न पुग्यो । उनको हाल मणिपाल शिक्षण अस्पताल पोखरा उपचार भइरहेको छ । त्यसैगरी सोमबार नै रसियाका ६३ बर्षीय यागुडीउ यलगिज मादी गाँउपालिकाको छाचोकमा प्याराग्लाइडिङ गर्ने क्रममा चिलाउनेको रुखमा अड्किदा सामान्य घाइते भए । किन हुन्छ लगातार दुर्घटना ? नागरिक उडड्यन कार्यालय पोखराले विदेशबाट प्याराग्लाइडिङ सिक्न आउने प्याराग्लाइडिङ पाइलटहरुको राम्रोसंग नबुझि उडान भर्न अनुमती दिंदा प्याराग्लाइडिङमा दुर्घटना बढेको माउन्टेन भ्यू प्याराग्लाइडिङ कम्पनीका संचालक चिन बहादुर बानियाले बताए । व्लु स्काई कम्पनीका संचालक नारायण पराजुलीले आफुहरुले विदेशीहरुको आवश्यक डकुमेन्ट मात्र अघि बढाएको तर यसको राम्रोसंग उडाउन दिन मिल्ने नमिल्ने कुरा नागरिक उडड्य कार्यालयले नै रेखदेख गर्नु पर्ने बताए । नागरिक उडड्य कार्यालय पोखराका प्रमुख भोलाप्रसाद गुरागाईले आफुहरुले विभिन्न कम्पनाीसंगको सहकार्यमा विदेशीहरुलाई १५ दिनको उडान अनुमति दिने गरेको बताए । पोखरा क्षेत्रमा हिजोआज दैनिक जसो प्याराग्लाइडिङ दुर्घटना बढ्दै जादा आफुहरु निकै दुःखि भएको एक प्याराग्लाइडिङ पाईलट बालकृष्ण बसेलले गुनासो गरे । उनले भने –‘पोखराको मुख्य पर्यटनको आकर्षणको रुपमा विकास हुदै आएको साहसिक खेल प्याराग्लाइडिङलाई अब व्यबस्थित पार्न नसके यसको जोखिम बढ्न सक्छ ।’ प्यराग्लाइडिङलाई नियमनकारी निकायले प्रभावकारी ढंगले नियमन गर्न नसक्दा, विदेशबाट पोखरा घुम्न आएका प्याराग्लाइडिङ पाइलटहरुले आफु खुसि तोकिएको सिमा भन्दा बाहिर उडान गर्दा पोखरामा प्यराग्लाइडिङको दुर्घटना बढ्दै गएको उनले बताए । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले पोखरामा यति वेला अवैध ढंगबाट प्याराग्लाइडिङ हुदा पोखरामा प्याराग्लाईडिङ दुर्घटना बढेको बताए । पोखरा नागरिक उडड्यन कार्यालयले दिएको सिमा सराङकोट, तोरीपानी र माद्रेढुंगाबाट प्याराग्लाईडिङ उडान र अवतरको लागि खपौंदी, चंखपुर क्षेत्रमा अनुमति दिए पनि हाल विभिन्न देशका सोलो(सिकारु) पाईलटहरुले विभिन्न ठाँउबाट उडान भर्दैै अवतरण गर्दा पोखरामा हाल प्यराग्लाइडिङमा ठुलो समस्या आएको महासचिव रावतले दाबी गरे । पोखरामा रसियन पाइलटहरुको एक समुहले हिमालयन ओपन कप भनेर विदेशी पाइलटहरुलाई समेट्दै आफु खुसि प्रतियोगिता गरेका छन् । यद्यपी उनीहरु मध्ये केहिले व्यक्तिगत रुपमा उडानको अनुमति लिए पनि नेपालका आधिकारिक कुनै पनि संस्थासंग अनुमति नलिई फेब्रुअरी २७ देखि मार्च ६ तारिख (फागुन २२) सम्म उक्त प्रतियोगिता आयोजना गर्दैछन ्। अन्तराष्ट्रिय स्तरका यस्ता प्रतियोगिता गर्दा सम्बन्धित देश र सम्बन्धित खेल संघ र स्थानियसंगको समन्वयमा हुनु पर्नेमा यसमा कुनै कुरालाई ख्याल नगरी खुलेआम रुपमा यस्तो प्रतियोगिता हुदा कास्की प्रशासन र सम्बन्धित निकाय मौन रहेको छ । उक्त प्रतियोगिताको लागि सुरक्षा, रेस्क्यु जस्ता कुरामा आयोजकहरुले ख्याल नै नगरेकोले गर्दा पनि पोखरामा अर्को गम्भिर त्रुटी भएको छ ।

