इटहरी / इटहरीका पुराना स्कुलमध्येको एक हो, इटहरीको जनता स्कुल । यो स्कुल जति पुरानो छ, त्यती नै निरिह अवस्था थियो पहिला । तर अहिले अवस्था फेरिएको छ ।

निजि विद्यालयसँग प्रतिष्पर्धा गर्न नसकेर थलिँदै गएको जनता स्कुलले मुहार फेरेको छ । अंग्रेजी माध्यमबाट कक्षा ४ देखि ९ सम्म पढाइ हुने भएपछि अहिले अविभावकहरु निजी विद्यालयबाट निकालेर जनता स्कुलमा छोराछोरी भर्ना गर्न लागिपरेका छन् ।

इटहरीको एउटा राम्रै निजि स्कुलमा पढ्दै गरेको आफ्ना दुई छोराछोरीलाई जनता स्कुलमा भर्ना गराउन खोजिरहेका छन् । ‘निजि स्कुलमा पढाउनै नसकिने भयो,’ उनले भने, ‘अहिले जनता स्कुलको व्यवस्थापन पनि सुधारिएको छ, फेरी शिक्षकहरु पनि डिग्री गरेका छन् ।’

उनीजस्तै धेरै अविभावकहरु अहिले आफ्ना छोराछोरीलाई जनतामा पढाउन चाहन्छन् । अत्याधिक माग आएपछि स्कुलले बाध्य भएर प्रवेश परिक्षा लिन लागेको छ । कक्षा ४ देखि ९ सम्म जम्मा २४० जना विद्यार्थी पढाउने तयारी भइरहेको छ । तर ती कक्षाहरुमा पढ्नको लागि ९०६ जना विद्यार्थीले फर्म भरेका छन् । तीन वटा स्कुलमा परिक्षा सेन्टर कायम गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार परिक्षा निष्पक्ष हुनेछ । ‘मेरो छोराछोरीलाई भर्ना लिइदिनुपर्यो भन्दै अविभावकहरुले दबाब दिइरहनुभएको छ,’ उनले भने, ‘हामी दबाबमा विद्यार्थी लिँदैनौं, परिक्षामार्फत् छनोट गर्छौं ।’ उनका अनुसार यो वर्षदेखि अंग्रेजी माध्यमबाट पढाउन सुरु गरिँदैछ । सबै कक्षा कोठामा डिजिटल बोर्ड, प्रोजेक्टर आदि राखिनेछ ।

यही आर्थिक वर्षमै नेपाली माध्यमका विद्यार्थीको लागि पनि ती सबै सुविधा उपलब्ध गराइनेछ । ‘त्यसैले अंग्रेजीमा सिट नपाए नेपाली माध्यममै पढाउन भनिरहेका छौं,’ उनले भने, ‘पढाइमा भाषा मात्र फरक हो, सबै सुविधा र शिक्षकको स्तरीयता त्यही हो ।’

सरकारी विद्यालयमा सुधारका प्रयास सुरु गर्ने हो भने विद्यार्थीहरुको आकर्षण वन्न सक्ने उदाहरण बनेको छ यो स्कुल ।

जनता माविको अग्रेजी ब्लकमा २ सय ८ जनाले, जनता माविको अग्रेजी ब्लकमा ३ सय १५ जनाले र कचना स्कुलमा ३ सय ८३ जना विद्यार्थीले शनिबार प्रवेश परीक्षा दिदैछन् । विद्यार्थीहरुको आकर्षणले आफूहरु उत्साहित वनेको संचालक समिति अध्यक्ष दंगालले बताए ।

स्कुलमा ४९ वटा कम्प्यूटर सहितको ल्याब तयार गरिदै छ । पठन पाठनका लागि कम्प्यूटर इन्जिनियर सहित स्नातकोत्तर उर्तिण शिक्षकहरु छनौट गरिसकिएको छ । यातायातका लागि बस खरिद गरि सकिएको विद्यालयले जनाएको छ । नेपाली माध्यमको स्कुलमा समेत यो बर्षदेखि अंग्रेजी ल्याब स्थापना गरिने भएको छ ।

विद्यार्थीहरुलाई वुझन सजिलो होस भन्नका प्रयोगात्मक ढंगले अध्यापन गराउन ल्याव स्थापना गर्न लागिएको अर्का शिक्षक शिव दाहालले जानकारी दिए ।

जनता स्कुललाई नमूना विद्यालय बनाउन संघीय सरकारले ३९ करोड, इटहरी उपमहानगरले ८ लाख र प्रदेश सरकारवाट ६ लाख ५० हजार बजेट छुट्टिएको छ ।

चाँडै नयाँ भवन बन्ने र पाँच वर्ष्भित्र पाँच हजार विद्यार्थी पढ्ने स्कुल बनाउने योजना रहेको दंगालले जानकारी दिए ।

Facebook Comments Box