दमक २०, कार्तिक / यमपञ्चकको दोस्रो दिन कुकुरतिहार। कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ। सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ। मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको पं.बालमुकुन्द देवकोटा बताउँछन्। मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन्। सुँघ्नसक्ने उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएको छ। यिनै गुणका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्री भट्टराई बताउँछन्।

Facebook Comments Box