इटहरी,२० मंसिर / इटहरी वडा नम्बर ९ मा जनता पार्क सिलान्यास भएको छ । विहीवार बिहान इटहरी जुट अनुसन्धान तथा रेशम खेती विकास कार्यक्रमको पूर्वी किनारमा जनता पार्क शिलान्यास गरिएको हो । पार्कको सिलान्यास १०२ बर्षीय जेष्ठ नागरिक भानुभक्त लम्सालले बिरुवा रोपेर गरेका छन् । यहाँ तीन विघाहाभन्दा बढी सार्वजनिक जग्गा छ । सो जग्गामा जनता पार्क उद्घाटन गरिएको हो ।
पार्क सिलान्यासको अवसरमा शुभकामना मन्तव्य वक्त गर्दै प्रदेश संसद सर्वध्वज सावाले इटहरीवासीका लागि स्वाच्छ हावा पानीका लागि जनता पार्क आवश्यक भएको बताए । उनले पार्क निर्माणको काममा कसैले विरोध र अवरोध गर्न नहुने बताए । विकास विरोधीहरुलाई इटहरीमा नाङ्गेझार पार्नु पर्ने उनको भनाइ थियो । सार्वजनिक जग्गामा पार्क सिलान्यास गरिएको प्रसंग जोड्दै उनले उपमहानगरपालिकालाई सार्वजनिक जग्गाको धनीपूर्जासमेत बनाउने अधिकार रहेको स्पष्ट पारे ।
जनता पार्क सिलान्यासमा सहभागीहरुलाई स्वागत मन्तव्य वक्त गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष भुपेन्द्र बरालले पार्क इटहरीको गौरवको विषय भएको बताए । उनले पनि सार्वजनिक जग्गाको खोजी गरी संरक्षण गर्नु पर्ने कुरामा जोड दिए । इटहरीका सार्वजनिक जग्गा खोजी गरी भौतिक संरचना निर्माण गरेर विभिन्न महाशाखा तथा विभागहरु सञ्चालन गर्नु पर्ने उनको भनाइ छ । उनले कार्यपालिका बैठकमा जनता पार्क सिलान्यासको एकमतले निर्णय भएको जानकारीसमेत दिए । उनले सोही ठाउँमा रहेको क्रिकेट मैदानलाई यथावत राखिने बताए । सो सार्वजनिक जग्गामा नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमी सञ्चालन छ । यो एकेडेमीमा विद्यार्थीहरुलाई भारतीय राष्ट्रिय गान र पाठ्यक्रमसमेत भारतीय मोडलमा भएको स्थानीयहरु बताउछन् ।
सिलान्यास कार्यक्रमका बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष दीपक गौतमले अवसर साथै चुनौतीवीच पार्क सिलान्यास गरिएको बताए । उनले कार्यपालिकामा पार्क सिलान्यासबारे विशिष्ट निर्णय गरिएको जानकारी दिए । उनले पनि सार्वजनिक जग्गा खोजी र संरक्षणको विषयलाई जोड दिए । उनले एकेडेमी सञ्चालन र क्रिकेट मैदानको विषयबारे आफूहरु सचेत भएरै निर्णयमा पुगेको बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इटहरी अध्यक्ष रेवतीरमण घिमिरेले पार्क सिलान्यासको विषयलाई अतिरञ्जित बनाउन खोजिएकोप्रति आक्रोश व्यक्त गरे । उनले इटहरी उपमहानगरपालिकाले गौरवको आयोजना सिलान्यास गर्दा विरोध गर्ने विवादित बनाउने पक्षको खोजी गर्ने बताए । उनले विवाद र विरोध गर्ने पक्षलाई पार्टीले ठेगान लगाउने बताए ।
सिलान्यास कार्यक्रमको सभापति रहेका इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आगामी बैशाख १ गते पार्कको आधारभूत संरचना तयार गरी उद्घाटन गर्ने प्रतिवद्धता जनाए । उनले घण्टाघर, भ्यूटावरजस्ता संरचना निर्माण गर्ने जानकारी दिए । उनले जनता पार्कको डिपीआर तयार भइसकेको जानकारी दिए । कार्यक्रमको सञ्चालन निमिक्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र कोइरालाले गरेका थिए । सो अवसरमा उनले जनता पार्क इटहरीको गौरवको आयोजना भएको बताए । उनले भने–‘यो ऐतिहासिक काम पनि हो ।’ पार्क सिलान्यास कार्यक्रमका प्रदेश १ का मुख्य मन्त्री शेरधन राई आउने प्रचार गरिएपनि उनी आएनन् । त्यसैगरी इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतम पनि सिलान्यासमा उपस्थित भइनन् । सिलान्यासमा सुरक्षाकर्मी, इटहरीवासी, अधिकांश वडा अध्यक्ष, उद्योग वाणिज्य संघ, शिक्षक, वुद्धिजीवी, खेलाडी, क्लबका प्रतिनिधिहरु भने सहभागी भएका थिए ।

Facebook Comments Box