विराटनगर / बेलबारी नगरपालिका–९को काली माध्यमिक विद्यालयको कम्प्युटर ल्याब प्रयोग गर्न निजी क्षेत्रलाई दिइएको छ ।ल्याब बेलबारीको क्रिमसन एकेडेमीलाई जिम्मा दिइएको हो ।

९ नम्बर वडाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत वडाका जनतालाई कम्प्युटर सिकाउने गरी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । बजेट कोटेसनमार्फत क्रिमसन एकेडेमीलाई योजना दिइएको थियो ।

वडाको योजनाबाट पैसा लिएर क्रिमसनले विद्यालयको ल्याबमा वडावासीलाई कम्प्युटर सिकाइरहेको छ । त्यहाँ विद्यालयका विद्यार्थीले कम्प्युटर सिक्न पाउँदैनन् । पटक–पटक विद्यार्थीले कम्प्युटर सिकाउन माग राख्दै विद्यालय प्रशासनमा समेत निवेदन दिएपनि उनीहरुको माग लाई भने वेवास्ता गरिने गरीएको छ । कम्प्युटर सिकाउने शिक्षक नभएको जबाफ बिद्यालय प्रशासनले दिने गरेको छ ।निजी व्यवसाय गर्नका लागि विद्यालयले एकेडेमीलाई निःशुल्क ल्याब उपलब्ध गराउँदा समेत सम्बन्धित निकाय मौन छ ।

कम्प्युटर तथा हलको व्यवस्थापन एकेडेमीले आफैं गर्ने गरी वडामा सम्झौता गरे पनि क्रिमसनले प्रधानाध्यापक र वडाका कर्मचारीको सेटिङमा कार्यक्रम गरेको आरोप समेत लाग्ने गरेको छ ।

९ नम्बर वडाका वडा सचिव इन्दिरा भण्डारी यसलाई सहजरुपमा लिनुपर्ने बताउँछिन् । विद्यार्थीलाई असर नगर्ने गरी विद्यालयसँगको सहकार्यमा विद्यार्थीलाई सिकाउने गरिएको उनले बताइन् । दैनिक २ घण्टा सिकाउने गरिएको छ । दिनमा २ पटक ल्याबमा ४५ जनालाई सिकाइन्छ । बिहान ९ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि २ बजेसम्म विद्यार्थीलाई सिकाउने गरिएको छ ।

प्रधानाध्यापक नारायण कोइरालाले विद्यालयमा ३ महिना मात्रै विद्यार्थीलाई कम्प्युटर सिकाउने गरिएको बताए । ‘हामीसँग छुट्टै कम्प्युटर शिक्षक हुनुहुन्न,’ उनले भने, ‘निजी क्षेत्रबाट शिक्षक राख्ने अवस्था पनि छैन ।’ वडाले कम्प्युटर ल्याब दिन अनुरोध गरेपछि दिएको बताए । नगरपालिकाले कम्प्युटर शिक्षक नदिएसम्म विद्यार्थीलाई सिकाउन समस्या परेको उनले बताए ।

वडाध्यक्ष शालिग्राम कोइरालाले आफूलाई यसबारे जानकारी नभएको बताए । सम्झौताअनुसार नभए कारबाही गर्ने बताएका छन् ।

विद्यालयमा कम्प्युटर ल्याबका लागि चाहिने उपकरण १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो । क्रिमसनले २ वडामा यस्तै कार्यक्रम गरेको छ । ५ र ९ नम्बर वडामा कार्यक्रम सञ्चालित छ । ५ नम्बर वडामा व्यक्तिको घरमा आफैंले कम्प्युटर लगेर सिकाउने गरिएको छ । क्रिमसनका सञ्चालक विप्लव पोख्रेलले विद्यार्थीलाई असर नपुग्ने गरी वडाको सहकार्यमा कम्प्युटर सिकाउने गरेको बताए । ‘सबैलाई पायक पर्ने स्थानमा हल नभेटिएकाले विद्यालयको ल्याब प्रयोग गरेका हौं,’ उनले भने, ‘त्यहाँ धेरै कम्प्युटरहरु बिग्रिएको पायौं, त्यसलाई निःशुल्क बनाइदिन्छौं ।’

बेलबारी नगरपालिकालाई पनि यसबारे कुनै जानकारी छैन । ‘वडाकै कार्यक्रम भए पनि व्यापारिक प्रयोजनका लागि दिनु हुँदैन,’ बेलबारी नगरपालिका शिक्षा शाखाका अधिकृत भूपेन्द्र कोइरालाले भने, ‘अहिलेसम्म मलाई जानकारी छैन । थप कुरा बुझेर मात्रै भन्छु ।’

विद्यालयमा ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई कम्प्युटर सिकाउने उद्देश्यका साथ ल्याबको स्थापना गरिएको थियो । ८, ९ र १० कक्षामा डेढ सय विद्यार्थी छन् । ती विद्यार्थीले परीक्षा आउने बेला मात्रै कम्प्युटर छुन पाउँछन् ।

कालिका माध्यमिक विद्यालयनजिकै रहेको एक निजी विद्यालयमा दैनिक कम्प्युटर सिकाउने गरिएको छ ।

Facebook Comments Box