अहँ! तिमी हामी त अझैं उस्तै छौँ

रस्मिला कवाङ 'रश्मी'

रस्मिला कवाङ ‘रश्मी’

 

नयाँ उज्यालो बिहानीसँगै
उत्पन्न हुन्छन् सुनौला आशाहरु
बसन्तको पालुवाजस्तै
घामको किरणभन्दा न्यानो
नूतन अनुभवको बहारजस्तै
मिठो सपनाका लहर
चिसो बतास, शितल भाव
यस्तै त थियो सुरुआत
मान्छेको रहरजस्तै
अनि,
विस्तारै परिवर्तित हुँदै
घामले बादललाई
बादलले छायालाई
पर परसम्म आफू हुनुको
आफू नहुनुको अर्थ केलाउँछ
तब नै हो सही रंग देखिने
प्रकृतिको त कहिले मौसमको
मान्छे पनि त अंश हो यहीको
र त,
घमण्ड अनि स्वार्थ उम्रन्छ
त्यो रक्तिम साँझ
कुनै बेला कुरुपझैं लाग्ने
एकाएक सुन्दर लाग्नु
परिवर्तनको सूचकझैं लाग्छ
स्थिर त संसारै छैन
समयको गति तेज रफ्तारझैं
जिन्दगी किन बढ्दैन होला
कहिले दोधारे दोभान
त कहिले जालझेलको संघार
कहिले देश त कहिले परदेश
कहिले खुसी त कहिले रोदन
यस्तै त चल्दैछ
युग अघि बढ्दैछ
प्रगतिमार्ग बन्दैछ
मान्छे अनेक रुप बोक्दैछ
विकास कहाँ नभाको छ र?
कर्णाली बगेकै छ निरन्तर
ती डाँडा, पाखा उस्तै छन्
खेतका डील उही छन्
फसल उही नै छ
फरक त मात्र सोच छ
समयले सिकाएका
परिबन्धले फुकाएका
अनि,
विवशताले रुमलेका
तिमी हामी मात्र त बदलेका छौँ
खुला मनले सोच्न सकेका छैनौँ
अपार भण्डार बोकेर हिँडेका छौँ
नैराश्यता अनि कुण्ठाको
कतिन्जेल हो र?
समय फेर्न जुग लाग्दैन
अर्थहीन कुरामै व्यस्त छौँ
सपनाहरु,
बगरका अनि रहरका
खै, कहिले पो साकार हुने हो?
हिँड्दा हिँड्दै थाकिन्छ बरु
तर,
संघर्षका कथाहरु पूर्ण हुँदैनन्
अभावका झरीले उथुलपुथुल हुन्छ
र नि,
मृगतृष्णा उस्तै अनि उही
अनि,
यस्तै तवरले रोकिन्छन् पाइलाहरु
विश्वासहरु ढल्छन्
आशाहरु मर्छन्
जोशजाँगर बिलाएर जान्छन्
कोपिलाहरू झर्छन्
यस्तै त हुँदै आएको छ
युगदेखि नै
अझै हुँदै गर्छन्
अनि,
तिमी हामी मुकदर्शक त छदैछौँ नि
फेरि सबेरै चिच्याउने छन्
बुलन्द आवाजहरु
अफसोच!
गला सुक्छ
बोली चितरबितर हुन्छ
तर सुन्ने आँट छैन
एकपल फुर्सद छैन
कमजोरका चित्कारहरु बुझ्न
किनकि,
तिमी हामी त व्यस्तै छौँ नि
दिन हुन्छ, रात ढल्छ
वर्ष बित्छ
जीवन बदलिन्छ
संसारका रुपरेखा फेरिन्छ
लक्ष्य बोकिन्छ
संघर्ष गरिन्छ
तर,
अहँ! तिमी हामी त अझैं उस्तै छौँ।

आइतबार, २३ फागुन, २०७७, बिहानको १०:०० बजे

सम्बन्धित खवर