महिलाका सवाललाई समानुभूति गर्ने गरौँ ।

महिलाहरु पनि यहि समाजका, यहि धर्तिका मानव हुन् भनेर स्थापित गर्नका निम्ति ठूलो संघर्ष गर्नुपरेको अहिलेको अवस्था छ । हामीले ईतिहासलाई पढ्ने जमर्को गर्ने हो भने इतिहासका विभिन्न कालखण्डहरुबाटनै महिलाहरु हेपिएर, दबिएर, चेपिएर, तड्पिएर बाँच्ने भएको र त्यहीँ अबस्थाबाट मुक्ति पाउनका लागि त्याग बलिदान र संघर्ष गरेको कुरा पढ्न पाईन्छ । महिलाहरुमा क्षमता नभएर उनीहरु कमजोर भएका होइनन् महिलालाई प्रयोग गरेर सफलताको सिँढी चढ्ने पितृसत्तात्मक सोचले कमजोर बनाएको हो । विश्वको इतिहास हेर्ने हो भने महिलाको सहभागिता प्रत्यक्ष वा अप्रत्यक्ष्य सहयोग र योगदानले देश विकासका चरणहरुले फड्को मारेको उदाहरणहरु पनि प्रशस्त छन् ।
नारीहरुले अवसर पाए भने के गर्न सक्छन् भन्ने कुरा घरको चुलो चौका भन्दा माथी उठेर शिक्षक, चिकित्सक, डा«ईभर, देखि लिएर पाइलट हुदै देशको विभिन्न जिम्मेवार ठाँउमा बसेर नेतृत्व गर्दै पुरुषहरु संग प्रतिस्पर्धामा निडर भएर उत्रिएको पनि हामी देख्न सक्छौं । यी उदाहारण र कार्यलाई पुरुषले नजानेका, नबुझेका पक्कै पनि होइनन् तर पनि हामी महिलालाई मानवसरह जीउने वातावरण सिर्जना हुन सकेको छैन । महिलासँग सम्बन्धित कार्यक्रममा भाषणका शब्दहरुमा महिला पुरुष बराबरीको नारा घन्किएतापनि व्यवहारमा लागू हून नसक्दा सामाजिक पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलाहरु निचोरिरहेका छन् ।

नेपाली समाजमा विभेदको रुपमा रहेको पितृसत्तात्मक सामाजिक संरचनाले गर्दा महिलाहरु समाजमा दोस्रो दर्जाको नागरिकको रुपमा रहन बाध्य भएका छन् । आदिम कालमा जब मातृसत्तात्मक परिवार ध्वस्त भएर परिवार र समाजमा पुरुषको वर्चश्व स्थापित भयो तब मातृसत्ताको पतनले नारीहरुको विश्व स्तरमा पराजय बन्न पुग्यो । पतिले घरमा शासनको बागडोर आफ्नो हातमा लिएपछि पत्नी अधिकारच्यूत भइन्, दासी बनिन्, पतिको वासना पूर्तिको साधन बनिन्, सन्तान उत्पादन गर्ने यन्त्रका रुपमा रुपान्तरण भईन् र एउटी नारी जन्मेदेखिनै समाजमा बहिष्कृत हुन थालिन् ।

पुरुषको वर्चश्व हाबी भएपछि नारीहरुलाई प्रयोगको साधनका रुपमा लिन थालियो । घरको चार किल्ला बाहेक बाहिर स्वतन्त्रता भएर कहिल्यै हिड्न सकेनन् । सामाजिक संरचनाहरु पुरुषहरुले आफ्नो पोल्टोमा पर्ने गरि निर्माण गरे । महिलाहरुमाथि हुने दमन र शोषणको एउटा महत्वपूर्ण कारण पितृसत्तात्मक सामाजिक संरचना हो । विश्वमै पितृसत्तात्मक संरचना यसरी हाबी भएको छ कि पुरुषको समान योग्यता, दक्षता र सक्षमता भएपनि नारीहरु पुरुषको दाँजोमा अघि बढ्न सक्दैनन् । उनीहरुलाई अगाडि बढ्नको लागि पुरुषको भन्दा बढि योग्यता र क्षमताको आवश्यकता पर्छ भनि उक्त संरचनाले ठोकुवा गरिदियो । त्यसको फलस्वरुप आजसम्म महिलाहरुले निरन्तर त्यो सिमासम्म पुग्नको लागि पल पल बलिदान दिनुपरेको छ ।

नारी शोषणको अर्को प्रमुख आधार विवाह पनि हो । हुन त सृष्टि धान्नलाई विवाह नगरी हुदैन भन्ने एकथरीको मान्यता छ तर मेरो कुरा के हो भने विवाह सम्मानजनक भएन, विवाहजस्तो पवित्र सम्बन्धलाई पुरुषहरुले महिलालाई बलात्कार गर्नको लागि समाज र कानुनले पुरुषलाई विवाह नामक लाइसन्स प्रदान गरेको सम्झन्छन् र ढुक्कसँग क्रुर व्यवहारलाई बढवा दिन्छन् । महिलाहरु दिनदिनै नचाहदा नचाहदै पनि यहि सम्बन्धको शिकार हुनुपरेको छ। अरुको खुसीका लागि आफुलाई र आफ्नो खुसीलाई समर्पण गर्नुपरेको छ ।

वास्तवमा वैवाहिक सम्बन्ध नारीहरुका लागि अत्यन्तै असमान र भेदभावपूर्ण रहेको छ । किनकि परिवार नै नारी शोषणको अर्को प्रमुख आधार हो । परिवारमा महिलाको भूमिका भेदभावपूर्ण छ । महिलाको भूमिकालाई होच्याइएको छ । कम आँकलन गरिएको छ । यौन सन्तुष्टि र गर्भाधारण गर्ने मेसिनको रुपमा बाहेक अरु कुनै महत्वका रुपमा लिईदैन । कहिले काहि त लाग्छ यस्तो कुराको खोजी होस् जुन गर्भाधारण गर्ने कुरा नारीको शरिरभन्दा बाहिरै हुन सकोस् । जसले गर्दा नारी पनि आफूलाई मानव सोचुन् । स्वतन्त्र पंक्षिजस्तै महसुस गरुन् र आनन्दको संसार प्राप्तिको खोजी कार्य थालनी गरुन् ।

नारी शोषणको अर्को दरिलो आधार भनेको धर्म पनि हो । संसारका जति पनि धर्म छन् ती सबैमा एउटा कुरामा मात्र समानता छ । त्यो हो नारीमाथि शोषण दमन,अत्याचार र विभेद। धर्मकै कारण नारीहरु लाचर भए ।अन्धभक्त भएर आफूलाई समर्पित गरिहेका छन् । धार्मिक ग्रन्थहरुमा जति पनि महिलाका लागि लेखिएका छन् ती सबै महिलालाई बन्धनमा पार्न रचिएका कुराहरु हुन् । आखिर ती ग्रन्थहरु पनि पुरुषले नै लेखेका त हुन् ।

विश्वमा विभिन्न समयमा उठेका आन्दोलनहरुमा यी सबै कुरामा चर्चा परिचर्चा र सार्वजनिक भइसकेका छन् । नारीहरु कमजोर भएर पछि परेका होईनन् उनीहरु सकेसम्म आत्मनिर्भर, सक्षम र स्वावलम्बि भएर अगाडि बढ्न चाहन्छन् ।आफूलाई सक्षम र योग्य नागरिकका रुपमा स्थापित गराउन चाहन्छन्। तर उनीहरुको ईच्छाशक्तिलाई प्रष्फुटन गराउने वातावरण सिर्जना हुन नै दिईदैन । यो समाजले नारीको योग्यता विकास गर्ने अवसर नै दिदैन। यो धर्तिको हरेक समाज नारीका लागि पूर्वाग्रही छ । पुरुष र महिलाको निर्माण प्रक्रिया एउटै प्रकारको हुने गर्छ तर पछि समाजको विभेदले गर्दा पुरुष अघि बढछन् र नारी पछि पर्छन् ।

संसारका कुनै पनि पुरुष नारी आफूभन्दा माथि पुगेको सहन सक्दैनन् , नारीहरुको सानो भन्दा सानो विद्रोह नै उनीहरुलाई मन पर्छ सह्य हुन्छ । जब नारीहरु विद्रोह लेख्छन् , विद्रोह बोल्छन् तब त्यो कुनै पनि पुरुषलाई मन प्रदैन । यदि कुनै पनि पुरुषले महिलाको कुनै पनि कुरामा समर्थन गर्छ भने त्यो एउटा नाटक मात्रै हो । किनकि उसको भित्री मनले मानिरहेको हुदैन। महिलालार्इृ सहयोग र समर्थन गर्नुपर्छ। बरु उ थाहा नै नहुने गरि महिलालाइृ गिराउने खेल खेलिरहेको हुन्छ।

नारीहरुमा रहेको ईच्छाशक्ति, क्षमता, सक्षमता अनि सुन्दरता देखेरनै पुरुष नारीप्रति बढी हिंसात्मक हुने गर्दछ । पुरुष हरतरहले नारीलाई जीवन दर्शनको मूल प्रवाहबाट अलग पारेर शासन गर्न चाहन्छ । पुरुषले नारीलाई बडो चलाखीपूर्वक घरायसी र अनुत्पादक काममा फसाइदिएको छ अनि उ आफू सामाजिक हैसियत र प्रभाव बढ्ने कार्यमा संलग्न हुन्छ । अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने आफूसँगै एउटै पद , हैसियतमा रहेर काम गर्ने नारीलाई पनि पुरुषले राम्रो मान्दैन । उनीहरुको कार्यलाई स्वीकार गर्न नसकेर अनेक बहाना बनाएको हामीले देख्न, सुन्न र महशुुस गर्न पाएका छौँ ।

पुरुषले आफूभन्दा माथिल्लो पदमा , तहमा रहेकी महिलाको काम र महत्वलाई जवरजस्ती स्वीकार गरेको हुन्छ । सकेसम्म असफल बनाउने कार्यमा प्रयासरत रहन्छ । स्वतस्फूर्त रुपमा अघि बढ्ने वातावरण पुरुषले नारीलाई कतै दिएको पाईदैन । इतिहाँसदेखि नै निजि स्वार्थर्का यज्ञमा नारीलाई पुरुषले जिवित नारीलाई घचेटिरहेका छन् । नारीलाई हजारौ वर्षसम्म पुरुषले बर्बाद गरिरहे । लोग्नेको चितामा जलेर नारीहरु सती गए तर कहिल्यै पुरषले नारीको लागि ज्यानको बाजी लगाएको ज्यानको आहुती दिएको सुन्न, पढ्न र देख्न पाईदैन ।किनकि सारा नियम, प्रपञ्च , कानुन , शासन व्यवस्था अनि अनुशासन पुरुषले आफ्नो फाइदालाई हेरेर निर्माण गरी नारीलाई जबरजस्ती थोपरेको छ ।
साँच्किकै इतिहाँसलाई नियालेर हेर्ने हो भने नारीहरुको अबस्था कहाली लाग्दो नैछ । तर अहिले नारीले जे जति उपलब्धि प्राप्त गरे त्यो पर्याप्त छैन किनकि अझैपनि नारीमाथि हुने अन्याय , अत्याचारले उत्तिकै बढवा पाएका छन् । जति जति नारी सशक्त रुपमा आवाज बुलन्द गर्दै आउँछन् त्यति त्यति महिलामाथि विभिन्न प्रकृतिका हिंसाले प्रश्रय पाउँछन्। यो हामीले महशुुस गरेको कुरा हो । महिला आन्दोलनको परिणामस्वरुप सरकारको विभिन्न निकायमा समावेशी सहभागिताको अवधारणालाई प्रयोग गरेतापनि पुरुषले महिलामाथि गर्ने अपराधजन्य, विभेदपूर्ण व्यवहारमा परिवर्तन आउन सकेन । सहभागितामै सिमित रहन पुग्यो ।

घटनाहरु यथावत नै रहे । पुरुषको कामवासनालाई नियन्त्रणमा लिदा पनि र नियन्त्रणमा लिनको लागि जवरजस्ती नारीलाई प्रयोग गरेतापनि अन्त्यमा नारी यो धर्तिमा जिउन पाउदिनन् । नारीको जीवननै पुरुषको हातमा हुन्छ । उसले जतिबेला जे जे गर्न मन लाग्यो गरिछाड्छ । हामीले महिला माथिका यस्ता क्रुर व्यवहारहरु समाजमा छर्लङ्ग देखेका छौँ । भोगेका पनि छौँ ।

समाजमा व्याप्त यस्तो विभेदलाई निर्मूलीकरण गर्नको निम्ति हामी महिला पुरुषले साझा समस्याको रुपमा समाधान गर्ने गर्नुपर्छ। अबको हाम्रो आशा विश्वास र कार्य के हो भने संसारलाई अझ सुखी र खुसी राख्ने हो भने नारी र पुरुष बिचको सम्बन्ध प्रेमपूर्ण, अपनत्वपूर्ण र समान हुनुपर्छ । नारी पुरुषजस्तो हुनुपर्छ भन्ने होईन यो पृथ्वीमा जति पनि अबसरहरु छन् ती अबसरहरु नारीले नारीजस्तै भएर पुरुषले बराबर उत्तिकै अनुपातमा उपभोग गर्न पाउनुपर्छ भन्ने हो । यसको लागि जसरी पुरुषलाई हुँ भन्ने महिलाको योगदान रहन्छ त्यस्तै पुरुषले पनि महिलालाई भित्री मनदेखिनै सहयोग गर्नुपर्छ ।

संसारका नारीहरुलाई एउटा के कुरामा विश्वास जाग्नु आवश्यक छ भने हामीहरु एउटा नयाँ संस्कृति , नयाँ समाज र नयाँ सभ्यता जन्माउन सक्छौँ भने जुन पुरुषको आधार छ त्यसको ठिक विपरित आधारमा हामीले हामीलाई क्रियाशिल बनाउन सक्नुपर्छ । नारीहरु आजसम्म कहिल्यै पनि आनन्दित रहेनन् । पूर्वमा होस् या पश्चिमी देशमा नारीहरु सधैँ पुरुषको दास बनेर जीवन गुजारिहको अबस्था हामी पाउँछौँ । त्यसैले पनि नारी कहिल्यै आनन्दित हुन सकेनन्। किनकि बिना स्वतन्त्रता आनन्द कहिल्यै उपलब्ध हुन सक्दैन । जबसम्म यस धर्तिमा आधाभन्दा बढि संख्यामा रहेका नारीहरु माथि यस्तो असमानपूर्ण, विभेदपूर्ण र मूढतापूर्ण व्यहार गरिन्छ तबसम्म कहिल्यै पनि मानवको जीवनमा कुनै पनि प्रकारको उध्र्वगमन हुनसक्दैन यो सम्पूर्ण पुरुष जातिले बुझ्नु जरुरी हुन्छ ।
अन्तमा नारी उत्पीडक सामाजिक स्थितिलाई मध्यनजर राख्ने हाुे भने नारीहरुको मुक्ति त्यतिबेलासम्म सम्भव छैन जतिबेलासम्म पुरुषले आफ्नो हरेक सफलतामा नारीको महत्व र योगदानको मूल्यांकन गर्दै नारीहरुको समानता प्राप्तिको लडाईलाई समर्थन गर्दैनन् । अपनत्व महशुस गरेर व्यवहारिक रुपमै साथ र सहयोग गर्दैनन् ।
आखिर यो धर्तिमा यो समाजमा महिला पुरुषको महत्व उत्तिकै छ भन्ने जान्दाजान्दै पनि विभेदको खाडललाई गहिराउँदै जाने हो भने दुई मानव जातिबिचको सम्बन्ध सधैँ मालिक र दासको जस्तै रहन्छ । नारीहरुले हामी मानव हौँ भन्नका लागि ,प्रमाणित गर्नका लागि लडेको लडाई पराजित हुन्छ । विना उपलब्धि अगाडि सारिएका , होमिएका कदमहरुलाई रोक्नुपर्ने स्थिति सिर्जना नहोला भन्न सकिदैन तर अहिलेको २१औं शताब्दीका शिक्षित महिलाहरु आफ्नो जीवनलिला ,जिम्मेवारी, कर्तव्य र अस्तित्वका बारेमा स्पष्ट भइसकेका छन् । तसर्थ पनि अब मौन बस्नेवाला छैनन् यो अबस्थामा पुरुषले सहयोग नगर्दा द्वन्द्व सिर्जना हुने सम्भावना झनै प्रवल हुन्छ यसले चर्को रुप लिदाको अवस्था एकछिन कल्पना गरेर सोचौँ त ।

महिला हिंसा विरुद्धको अभियानमा र नारी दिवसका दिनमा भेला भएर महिला मुक्तिका चर्का नारा र भाषणका वाण हान्दैमा मुद्दाहरु अगाडि बढदैनन् । अबको आबश्यकता भनेको हरेक पुरुषले नारीको महत्व र साथलाई आत्मसात गर्दै व्यवहारमा नारी प्रतिको समर्थनलाई प्रस्तुत गर्नुपर्छ । नारीका सबाललाई पुरुषहरु आफ्नो सबाल बनाउने हो भने हाम्रा मुद्दाहरुमा केही परिर्वतन आउन सक्छ । अधिनायकबादी पुरुषहरुको अहङ्कार र प्रभुत्वलाई त्याग गर्दै समानता अनि बराबरीको कुरालाई ध्यान दिदै महिलाका हरेक सबाललाई सहानुभूति होईन समानुभूति गर्नुपर्छ अनिमात्र सभ्य र मानविय समाजको निर्माण हुन्छ ।

सरु गैरे
मानवअधिकारकर्मि

आइतबार, २३ फागुन, २०७७, दिउँसोको ०१:५७ बजे

सम्बन्धित खवर