चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा आलुको आयात घटेको छ । साउनदेखि पुस मसान्तसम्मको अवधिमा ५ अर्ब ३९ करोड मूल्यबराबरको आलु आयात भएको हो । गत आर्थिक वर्षको सुरुका ६ महिनामा ५ अर्ब ५६ करोड रुपैयाँको आलु आयात भएकामा यसवर्षको ६ महिनामा भने ५ अर्ब ३९ करोडको आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
अघिल्लो वर्षको ६ महिनाको तुलनामा यसवर्ष ९ दशमलव ६ प्रतिशतले आलुको आयात घटेको हो । नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब ३० करोड रुपैयाँको आलु आयात गरेको थियो भने गत आर्थिक वर्षमा कूल ८ अर्ब १९ करोड मूल्यको आलु आयात भएको तथ्यांक छ । यस अवधिमा ३ लाख ४० हजार मेट्रिक टन आलू आयात गरिएको मन्त्रालयले जनाएको छ । जुन देशको कूल आवश्यकताको ८ दशमलव ९५ प्रतिशत हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देशका १९ जिल्लामा १७ हजार ४ सय ६५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएको छ । नेपालमा ओखलढुंगा, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, काठमाडौँ, बाग्लुङ, दैलेख, बझाङ, अछाम, पाँचथर, दोलखा, गोरखा, मनाङ, म्याग्दी, रोल्पा र रुकुम पूर्वमा जोनअन्तर्गत खेती गरिँदै छ भने काभ्रेपलाञ्चोक र डडेल्धुरामा सुपरजोनअन्तर्गत आलु खेती गरिँदै आएको छ । परियोजनाले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणअनुसार ३ लाख ९० हजार १ सय ६८ मेट्रिक टन आलु उत्पादन भएको छ । देशभर भने १ लाख ९८ हजार ७ सय ८८ हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ ।

सन् १९५७ मा फ्रान्सेली दर्शनिक तथा साहित्यिक आलोचक रोला बार्थले चिप्सलाई ‘देशभक्त’ बताएका थिए । सय वर्ष पहिले आलुमा लागेको एक रोगले केही वर्षमा नै आयरल्याण्डको आधा आवादी नष्ट गरिदिएको थियो । अहिले चीन, भारत, रुस र युक्रेन विश्वका प्रमुख आलु उत्पादक मुलुक हुन् ।

आलुसँगै यी मुलुकको आन्तरिक सम्बन्ध पनि जटिल छ । तर, यीमध्ये कुनै पनि मुलुकले आलु मूलरुपमा आफ्नो भएको दाबी भने गर्न सक्दैनन् । ८ हजार वर्ष पहिले दक्षिण अमेरिकाको एन्डिजमा आलुको खेती ? गरिएको थियो । सन् १५०० पछि यसलाई यूरोपमा ल्याइएको थियो । यहाँबाट यो पश्चिम र उत्तरतर्फ फलिँदै गयो र अमेरिका पुग्यो।

Facebook Comments Box