फागुन २३, २०७५ काठमाडौं / आज ग्याल्बो ल्होसार, देशभरका शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीले मनाउदैछन्। शेर्पा समुदायले ग्याल्बो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ। आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ। ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा तथा बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण राख्न ल्होसारले सघाउने विश्वास व्यक्त गरिन्। राष्ट्रपतिको सन्देशमा यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको छ। ल्होसारका अवशरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि शुभकामना सन्देश जारी गरेका छन्। लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म्िनरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेकाले उपलब्धिलाई संस्थागत गर्न यस्ता सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments Box