कागतीको बोट मर्न थालेपछि किसानहरु चिन्तित

दमक, केही वर्ष यता झापामा व्यवसायिक कागती खेती सुरु भएपछि कागती खेतीमा लगानी गरेका कृषकहरु पछिल्लो समय अज्ञात रोगका कारण कागतीका बोटहरु मर्न थालेपछि चिन्तित भएका छन् । फल लाग्ने बेला भएका कागतीका बोटमा पात डढ्ने र मुना सुक्ने रोग लागे पछि कृषकहरु चिन्तित भएका हुन् ।
एक विगाह १० कठ्ठा जमिन भाडामा लिएर २० लाख रुपैयाँको संयुक्त लगानीमा व्यवसायिक खेती शुरु गरे पनि अहिले कागती धमाधम मर्न थालेपछि लगानी डुब्ने चिन्ता बढेको झापाको बिर्तामोड नगरपालिका– २ चारपानेका हरिभक्त उप्रेती र उमेश शर्माले गुनासो गरे । लटरम्म फल लागेका कागतीका बोटको मुना र पात पहेंलिँदै सुकेर जान थालेपछि चिन्ता थपिएको कृषकद्धयले गुनासो गरे ।
कृषि प्राविधिकहरुलाई गुनासो सुनाए पनि समस्याको समाधान गर्नुको सट्टा कुरा सुन्न समेत नमानेको उप्रेतीले गुनासो राखे ।
स्थानीय जनप्रतिनिधि, बिर्तामोड नगरपालिकाका प्रमुखसहित कृषि शाखा प्रमुख र प्राविधिक तथा कृषि ज्ञान केन्द्रलाई आफूहरुको समस्याको विषयमा जानकारी गराए पनि एकपटक फर्केर समेत हेर्न नआएको उप्रेतीको गुनासो छ ।

