एमालेका हिक्मत कार्की १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दै

विराटनगर / प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्तारुढ गठबन्धनले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने जनाएका छन ।


प्रदेश १ सरकारको नेतृत्व एमालेबाट हिक्मत कार्कीले गर्ने जनाइएको गठबन्धन दलहरूले बताएका छन्।
‘आज हामी एमाले संस्दीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेश गर्दैछौं’, एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘गठबन्धनका सबै दलहरुसहित जानेछौं।’
झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।
प्रदेश १ को मुख्यमन्त्री दाबी गरिरहेको नेकपा माओवादी केन्द्रले १२ संसदीय दलको बैठक बसेर निर्णय गर्ने जनाएको छ ।
पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।
९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ। प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।