काठमाडौं / साना राजनीतिक शक्तिहरूबीच विभिन्न चरणमा एकताको प्रयास चलिरहेको छ । तर, एक भएर अघि बढ्न सकेका छैनन् ।
पछिल्लो समय कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई तीन वटा पार्टीले एकताका लागि औपचारिक पत्र नै पठाएका छन् । तर, यी दलबीच एकताको सम्भावना टरेको छ ।
लिम्बुवान आन्दोलनका नेतृत्वकर्ता लिङ्देन नेतृत्वको पार्टीलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र केपी पालुङ्वा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीले एकताका लागि वार्ता गर्न औपचारिक पत्र नै पठाएको थियो । तर, लिङ्देनबाट कुनै पनि पार्टीले ‘ग्रीन सिग्नल’ पाउन सकेनन् ।

लिङ्देन नेतृत्वलाई एकताका लागि प्रस्ताव गर्ने जसपा र नागरिक उन्मुक्ति संघीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल हुन् । त्यसैगरी, जनमुक्ति पुरानो पहिचानवादी शक्ति नै हो । यी चारै शक्ति पहिचानमा आधारित राजनीतिक शक्ति हुन् । तर, यी शक्तिबीच एकताका लागि आधारभूत वातावणरण समेत बन्न नसकेको हो ।
पार्टी एकताका लागि प्रस्ताव आएपछि लिङ्देन नेतृत्वको मञ्चमा छलफल हुँदा दुई धारबाट धारणा आएको थियो । एक समूह अहिले नै एकता गर्दै ठूलो पार्टी बनेर सत्ता उपयोग गर्नुपर्ने पक्षमा उभियो भने अध्यक्ष लिङ्देन सहितका नेता एकता गरे आन्दोलन समाप्त हुनसक्ने भन्दै एकता प्रस्तावबाट पछि हट्यो ।
अध्यक्ष लिङ्देन भन्छन्– ‘एकताको प्रस्ताव गर्ने सबै पार्टीले आफूलाई पहिचानवादी शक्ति नै भन्छन् । तर, उहाँहरु स्पष्ट हुनुहुन्न । जसपाले मधेसभन्दा अरु देख्दैन । जनमुक्तिले अहिलेसम्म लिम्बुवानबारे स्पष्ट धारणा बनाएकै छैन । नागरिक उन्मुक्ति त थरुहट भन्न पनि डराउँछ । यस्तो अवस्थामा एकता गरेर आन्दोलन अघि बढाउन सकिन्न । त्यसैले अहिले एकता नगरौँ भन्ने हो ।’

अहिलेकै अवस्थामा एकता हुने र बन्ने पार्टीले लिम्बुवान, खम्बुवान जस्ता पहिचानमा आधारित आन्दोलनका लागि उचित गति लिन नसक्ने लिङ्देनको बुझाइ रहेको छ । उनी भन्छन्– ‘एकताका लागि आह्वान गर्ने पार्टीहरू पहिचानमा आधारित आन्दोलनका लागि स्पष्ट हुन जरुरी छ । उहाँहरु स्पष्ट हुने हो भने हामी एकताका लागि तयार छौं । तर, एकता गर्ने शक्तिहरू नै आन्दोलनबारे स्पष्ट नहुँदा आन्दोलन समाप्त हुन्छ । त्यसैले यो हतार गर्ने विषय होइन ।’

पहिचान आन्दोलनको मानकको रुपमा स्थापित लिम्बुवान आन्दोलन पछिल्लो सयम कमजोर भएको छ । अध्यक्ष लिङ्देन पनि यो स्वीकार्छन् । तर, समूह सानो हुँदैमा, कमजोर हुँदैमा आन्दोलन छोड्ने या सत्ताको लोभमा अन्य कुनै शक्तिमा विलय भएर आन्दोलन समाप्त पार्न नसकिने उनको भनाइ छ । दृष्टिबाट साभार ।

Facebook Comments Box