अर्जुनधारा / अर्जुनधारा नगरपालिकासँगको सम्झौतापछि वडा नम्वर १ को कार्यालयमा लगाएको तालाबन्दी नेपाल कम्युनिष्ट पार्टीले खोलेको छ । विरिङ र टाङटिङ खोलामा मजदुरले उत्खनन गर्ने क्षेत्र र खोला ठेकदारले खन्ने क्षेत्र निर्धारण गर्ने सहमति पछि १ नम्वर वडा कार्यालयमा नेकपाको स्थानीय समितिले लगाएको ताला आज खोलिएको हो ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सम्पन्न छलफलमा प्रदेश सासदद्वय बृख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, बृद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल लगायत सम्मिलित टोली र विरीङ्ग नदी सरोकारवालाहरुसँग भएको सर्वपक्षीय, सर्वदलीय वार्तामा विरीङ्ग नदी प्रणालीको नदीजन्य सामग्रीको उत्खननको विषयमा ७ बुँदे सहमति भएपछि नेकपाको स्थानीय कमिटीले तालबन्दी खोलेको हो । सहमति पत्रमा विरिङ्ग खोलाले वर्षे्नि गर्दै आएको कटान तथा खोला गहिरिने काम रोकथाम गर्न आवश्यक चेक ड्याम र स्पर बनाउने उल्लेख छ । त्यसका लागि अर्जुनधारा नगरपालिकाले बुद्धशान्ति गाउँपालिकासँग समेत समन्वय गरी आवश्यक पहल गर्ने निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताउनुभयो । जिल्ला समन्वय समिति, प्रदेश सासदसँग आवश्यक समन्वय, सहजीकरण गर्दै तत्काल डिपिआर कार्य प्रारम्भ गरिने निर्णय भएको प्रमुख रानाले जानकारी दिनुभयो । त्यस्तै विरिङ्ग, टाङटिङ लगायतका खोलाहरुमा कार्यरत मजदुरहरुको दश दिन भित्रमा लगत संकलन गरी सूचिकृत गर्ने, खोलाहरुमा खोलाजन्य पदार्थहरु ओसार प्रसार गर्ने ट्रयाक्टरहरुलाई करको दायरामा ल्याउन सूचीकृत गर्न आह्वान गर्ने पनि समेटिएको छ । त्यस्तै सम्बन्धित सबै पक्षहरुले स्थानीय रुपमा शान्ति सुव्यवस्था, अमनचैन तथा सेवा प्रवाहलाई प्रतिकुल हुने कुनै पनि क्रियाकलाप नगर्ने नगराउने ७ बुँदे सहमतिमा उल्लेख गरिएको छ ।
नगरको सभाकक्षमा भएको सो सहमतिमा मजदुर प्रतिनिधि, खोला ठेकदार प्रतिनिधि, नगर स्तरीय अनुगमन समिति तथा स्थानीय प्रतिनिधिहरु बसेर मजदुरले उत्खनन गर्ने क्षेत्र र खोला ठेकदारले खन्ने क्षेत्र निर्धारण गर्ने उल्लेख छ । त्यसका लागि कार्यरत मजदुरहरुको सूचिकृत भएको मितिले ५ दिनभित्र सम्पन्न गर्नुपर्ने जनाइएको छ ।
सहमतिको अन्तिम बुँदामा ठेकदारले उत्खनन गर्ने क्षेत्रमा उत्खनन गर्न बाधा अवरोध भएमा नियमानुसार आवश्यक कारबाही अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिनुभयो । न्युनतम माग तत्कालका लागि सम्बोधन भएकाले जनताका समस्यालाई ध्यानमा राखेर तालबन्दी खोल्ने सहमति भएको नेपाल कम्युनिष्ट पार्टी वडा नम्वर १ का अध्यक्ष भक्तिप्रसाद कोइरालले बताउनुभयो । प्रमुख रानाको अध्यक्षतामा सम्पन्न छलफलमा अर्जुनधारा नगरपालिकाका उप–प्रमुख कमला खतिवडा, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खडका, बृद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडा, नेकपाका प्रतिनिधि दिपेन्द्र लम्साल, मित्र खतिवडा, नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, अर्जुनधारा वडा–६ का अध्यक्ष लोकनाथ गौतम लगायतले विरीङ्ग नदी प्रणालीको अल्पकालिन र दिर्घकालिन समस्या समाधानका विषयमा धारणा राख्नु भएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष दिलिप राई, संघीय समाजवादीका नगर अध्यक्ष सिर्जलाल चौधरी, वडा–३ का अध्यक्ष जीवनकुमार भण्डारी, वडा–७ का अध्यक्ष नवराम ढुङ्गाना लगायतले छलफलमा सहभागिता जनाउनु भएको थियो । अर्जुनधारा–१ निवासी विष्णुलाल ढकाल, चन्द्र खत्री, अम्बर बस्नेत, राम निरौला, तारा श्रेष्ठ, तेजु भट्टराई, विजेन्द्र एकतेन, विरीङ्ग नदी प्रणालीका अध्यक्ष नयन अधिकारी, विरीङ्ग जलाधार क्षेत्रका अध्यक्ष मानबहादुर कार्की, ट्रयाक्टर व्यवसायी नवराज दाहाल, ठेकदार प्रतिनिधि नारायण दंगाल, गंगा गौतम, उत्सव ढकाल, सुरेन्द्र धिमाल लगायतले खोलाबाट उत्पन्न भएका समस्याको विषयमा धारणा राख्नु भएको थियो ।

Facebook Comments Box