धरान / धरानका होटलहरूमा अनुगमन भएको छ । धरानका १५ वटा भन्दा बढी होटलमा अनुगमन भएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत दिवस अधिकारीले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा अनुगमन भएको हो । होटलहरूको अनुगमन गरी होटलहरुको स्तर मापन समेत गरिएको उनले बताए। ‘जुन होटलमा अनुगमन गर्न पुग्यौं, त्यहाँको स्तर पनि मापन गरेका छौं ।’ उनले भने ।
धरानमा नाम चलेका गोरखा डिपार्टमेन्ट स्टोरद्वारा सञ्चालित गोरखा किचनलाई ‘क’ ‘अति उत्तम’ स्तर, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिद्वारा सञ्चालित बराह किचनलाई ‘ख’ उत्तमको श्रेणीमा राखिएको छ । त्यस्तै, न्यू ड्रिमल्याण्ड होटल, धरान किचन रेष्टुरेन्ट, मायावी बिबि क्यु गार्डेनलाई उत्तम स्तरमा मापन गरिएको उनले बताए ।
धरानको मारवाडी बासा, बीपी प्रतिष्ठानभित्रको टेक्सन भोजनालय, बगरकोटको भाइब्स रेष्टुरेन्ट एण्ड ग्रिल हाउसलगायतमा पनि अनुगमन भएको छ । कतिपय होटलले स्तरवृद्धि नगरे शिलबन्दी गर्ने चेतावनी दिइएको उनको कथन छ । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख विक्रम लिम्बू, उपभोक्ता हित संरक्षण मञ्चका कृष्ण ताम्राकार, इलाका प्रहरी कार्यालयका असइ रुद्र तामाङलगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box