सन्दर्भ महिला दिवशः भर्‍याङको कथा

रिस्तो मिनेस्की

“तँ को होस्”, सिपाहीले सोध्यो।

“म जन्मजात सर्वहारा, मजदूर-किसान हुँ। संसारका सबै सर्वहारा, मजदूर-किसान मेरा दाजुभाइ दिदीबहिनी हुन्। यो संसार अति निर्दयी छ र सर्वहारा, मजदूर-किसानको अवस्था अति नै दयनीय छ !”

शिर ठाडो पारेको त्यस युवकले मुठ्ठी उठाएर भन्यो।
ऊ गुलाफको बुट्टा कुँदिएको मार्बलको सेतो, अग्लो भर्‍याङको सबैभन्दा तल उभिएको थियो। ऊ टाढा, धेरै टाढा एक टकले हेरिरहेको थियो। उसले हेरेको दृश्य यस्तो थियोः गरीबीको घुर्मैलो भीड बाढी आएको नदी झैँ मडारिइरहेको थियो। भीड उद्वेलित थियो, उम्लिइरहेको थियो।

भीडबाट दुब्ला, मैला पाखुराको घारी उठ्यो। भीडले निकालेको क्रोध र क्षोभको गर्जनले गगन थर्कायो। त्यसको प्रतिध्वनि टाढा पड्किएको बन्दुकको आवाज झैँ विस्तारै र गहनतापूर्वक मलिन हुँदै हरायो। पहेँलो धुलोको बादल उडाउँदै त्यो भीड नजिक, अझ नजिक आयो। खरानी रङको क्षितिज अघिल्तिर एउटा छायाँ प्रष्टसँग देखियो। एकजना बूढा मान्छे अघि बढे, आफ्नो गुमेको जवानी खोजे झैँ गरेर भुइँ छोउँला झैँ गरी झुके।

जुत्ताचप्पल नलगाएकी सानी केटीले आफ्ना फाटेका लुगा समाती र आफ्ना फुस्रा-नीला आँखाले त्यो अग्लो सिँढीतिर एक टकले हेरी र मुस्कुराई। त्यसपछि दुब्ला, घुर्मैला, झुत्रा लुगा लगाएका आकृति उदास र शोकगीत गाउँदै अघि बढे। भीडका कोही कर्कश आवाज निकालेर पसेल्दै थिए, कोही आफ्ना हात खल्तीमा हालेर ठूलो, कठोर आवाज निकालेर हाँस्दै थिए। उनीहरूका आँखामा उन्माद छाएको थियो।

सिपाही हाँस्यो।

“म जन्मजात सर्वहारा, मजदूर-किसान हुँ। संसारका सबै सर्वहारा, मजदूर-किसान मेरा दाजुभाइ दिदीबहिनी हुन्। यो संसार अति निर्दयी छ र यहाँका सर्वहारा, मजदूर-किसानको अवस्था अति नै दयनीय छ ! तर माथि, सत्तामा बस्ने तिमीहरू…”
शिर ठाडो पारेको त्यस युवकले मुर्मुरिँदै मुठ्ठी उठाएर भन्यो।

“त्यसो भए तिमी माथि सत्तामा बस्नेहरूलाई घृणा गर्छौ, हैन त ?”, सिपाहीले सोध्यो र सान दिएर युवकतिर झुक्यो।

“म ती राजारजौटा र सामन्तहरूसँग उनीहरूले हामी सर्वहारा, मजदूर-किसानमाथि गरेको शोषणको बदला लिन चाहन्छु। बालुवा जस्ता पहेँला अनुहार पार्न र शिशिरको स्याँठभन्दा नराम्ररी पीडा व्यक्त गर्न बाध्य पारिएका मेरा सर्वहारा, मजदूर-किसान दाजुभाइ दिदीबहिनीहरूलाई तिनीहरूले गरेको शोषणको निर्ममतापूर्वक बदला लिन चाहन्छु। उनीहरूका रक्ताम्मे शरीर तिमीले देखेका छौ ? उनीहरूलाई हेर, उनीहरूका चित्कार तिमीले सुनेका छौ ? म तिनीहरूसँग बदला लिएरै छाड्छु। मलाई नरोक, माथि जान देऊ !”

“म माथि बसेका ती मानिसहरूको रक्षा गर्न खटिएको हुँ। घुस नपाइकन म उनीहरूको विश्वासघात गर्दिनँ”, सिपाहीले हाँसेर भन्यो।

“मसँग धनसम्पत्ति केही छैन। तिमीलाई के घुस दिनु र ! ..म गरीब, फाटेका लुगा लगाउने युवक… तर मेरो लक्ष हासिल गर्न म मेरो ज्यानको आहुति दिन तयार छु…”

सिपाहीले फेरि हाँसेर भन्यो, “अँह, अँह, मलाई ज्यान जस्तो बहुमूल्य घुस चाहिँदैन। तिम्रा दुईवटा कान दियौ भने पुग्छ।”

“मेरा कान ? कान दिएँ भने त म केही पनि सुन्न सक्दिनँ‍…”

“धन्दा नमान। तिम्रा दुईवटै कान मलाई दिएपछि पनि तिमी सुन्न सक्छौँ”, सिपाहीले वचन दियो र उसका दुईवटा कानको घुस लिएर उसको बाटो छाडिदियो। “जाऊ !”

युवक दौडियो र एकै सासमा तीन खुड्किला माथि पुग्यो। त्यति नै बेला हातमा भुत्लैभुत्ला भएको अर्को सिपाहीले उसलाई समात्यो।

“यहाँसम्म आइहाल्यौ। अब यहीँ रोकिऊ र तिम्रा महान सर्वहारा, किसान-मजदूर दाजुभाइ दिदीबहिनीले तल बसेर हालेको सुस्केरा सुन।”

युवक रोकियो र उनीहरूका सुस्केरा सुन्न खोज्यो।

“अरे, कस्तो अचम्म ! उनीहरू त उमंगले भरिएका गीत पो गाउँदैछन् त ? उल्लासपूर्वक ख्यालठट्टा पो गर्दैछन् त ? उनीहरूले अचानक यसो गर्न किन थालेछन ? ”

युवक दौडेर माथि जान खोज्यो।

सिपाहीले उसलाई रोक्यो र भन्यो, “अरु तीन खुड्किला माथि जानका लागि तिमीले मलाई तिम्रा दुईवटा आँखा दिनुपर्छ।”

युवकले निन्याउरो अनुहार लगायो। भन्यो, “मेरा आँखा तिमीलाई दिएपछि त मैले आफ्ना दाजुभाइ दिदीबहिनीलाई देख्न सक्दिनँ, मैले जोसँग बदला लिनुपर्नेछ तिनलाई पनि देख्न सक्दिनँ।”

“होइन, होइन। आँखा मलाई दिएपछि पनि तिमी देख्न सक्छौ। म तिमीलाई नयाँ, अझ राम्रा आँखा दिन्छु”, सिपाहीले भन्यो।

आफ्नो लक्ष्यमा पुग्न र माथि बसेका, भोगविलासमा हुर्केका राजारजौटा र सामन्तलाई सजाय दिन त्यो युवक तीनवटा खुड्किला चढ्यैपिच्छे खुशीसाथ आफ्ना शरीरका एउटा न एउटा अङ्ग घुस दिँदै अघि बढ्यो। अब एक खुड्किलो माथि उक्लँदा ऊ भर्‍याङको सिरानमा पुग्छ। त्यहाँ पुगेर उसले महान सर्वहारा, मजदूर-किसानको शोषणको बदला लिनेछ।
आफ्ना दुईवटा आँखा सिपाहीलाई बुझाएर युवक भर्‍याङका अरु तीन खुड्किला चढ्यो। उसले फर्केर तल हेर्‍यो।

“फाटेका लुगा लगाएका, शरीर रक्ताम्मे भएका आफ्ना दाजुभाइ दिदीबहिनीलाई हेर”, त्यहाँ बसेको सिपाहीले उसलाई हौस्यायो।

“अरे, कस्तो अचम्म ! मेरा दाजुभाइ, दिदीबहिनीले त अति नै सुन्दर लुगा पो लगाएका छन् त ! उनीहरूले कहिलेदेखि राम्रा लुगा लगाउन थाले ? उनीहरूका शरीरमा घाउ छैनन्। उनीहरूका शरीर त राता, भव्य गुलाफले पो ढाकिएका छन् त ! कहिलेदेखि यस्तो भयो ?

आफ्नो लक्ष्यमा पुग्न र माथि बसेका, भोगविलासमा हुर्केका राजारजौटा र सामन्तलाई सजाय दिन त्यो युवक तीनवटा खुड्किला चढ्यैपिच्छे खुशीसाथ आफ्ना शरीरका एउटा न एउटा अङ्ग घुस दिँदै अघि बढ्यो। अब एक खुड्किलो माथि उक्लँदा ऊ भर्‍याङको सिरानमा पुग्छ। त्यहाँ पुगेर उसले महान सर्वहारा, मजदूर-किसानको शोषणको बदला लिनेछ।

“म जन्मजात सर्वहारा, मजदूर-किसान हुँ। संसारका सर्वहारा, मजदूर-किसान…”

“हे युवक ! तिमी माथि पुग्न अब एक खुड्किला मात्र बाँकी छ। त्यसपछि तिमीले महान सर्वहारा, मजदूर-किसानमाथि भएको शोषणको बदला लिन पाउँछौ। तर, यो एक खुड्किलो उक्लन तिमीले मलाई दुईगुणा घुस दिनुपर्छ। तिम्रो मुटु र स्मरण शक्ति मलाई देऊ”, अन्तिम खुड्किलामा बसेको सिपाहीले भन्यो।

युवकले सिपाहीका कुराको विरोध गर्‍यो।

“मेरो मुटु दिनु ? अर्काको मुटु माग्नु अतिशय क्रुर हुनु हो !”

सिपाहीले गहिरो र रोबदार हाँसो हाँस्यो। भन्यो, “म तिमीले सोचजस्तो क्रुर हुइनँ। तिम्रो मुटु र स्मरण शक्तिका बदलामा म तिमीलाई सुनको मुटु र नयाँ स्मरण शक्ति दिन्छु। मुटु र स्मरण शक्ति नदिने भए तिमीले बालुवा जस्ता पहेँला अनुहार पार्न र शिशिरको स्याँठभन्दा नराम्ररी पीडा व्यक्त गर्न बाध्य पारिएका तिम्रा महान सर्वहारा, मजदूर-किसान दाजुभाइ दिदीबहिनीहरूमाथि भएको शोषणको बदला लिने अवसर कहिल्यै पनि पाउँदैनौँ।”

सिपाहीका नीला आँखामा युवकले बिडम्बना देख्यो।

ऊ सिरानमा पुग्यो। उसको अनुहारमा अचानक उन्मुक्त हाँसो छायो, उसका आँखा शान्ति र आनन्दले चम्किए, उसको मुठ्ठी खुकुलियो। उसले त्यहाँ आनन्दसँग बसिरहेका राजारजौटा र सामन्तलाई हेर्‍यो। त्यसपछि तल बसेर चिच्याइरहेका, गाली गरिरहेका, क्रोधित मानिसको मैलो भीड हेर्न खोज्यो। तर, अहिले जे देख्यो त्यसबाट उसको अनुहार रिसले काँपेन, बरु उज्यालो भयो।
“मुटु र स्मरण शक्ति दिएँ भने म संसारको सबैभन्दा दुःखी मानिस हुन्छु। तिमी मसँग मेरा सबै मानवीय स्वभाव माग्दैछौ।”

“त्यसो होइन। त्यसको ठीक उल्टो, तिमी संसारको सबैभन्दा सुखी मान्छे हुनेछौ। अब त तिमी तिम्रा मुटु र स्मरण शक्ति मलाई दिन राजी भयौ, हैन त ?”

युवक सोचमग्न भयो। उसको अनुहारमा बादल छायो। रिसले गर्दा उठेको उसको आँखी भौँबाट पसिनाका दाना झरे। उसले रिसाएर मुठ्ठी कस्यो। किटकिटाइरहेका उसका दाँतभित्रबाट आवाज आयोः “ला, मेरा मुटु र स्मरण शक्ति लैजा !”

…अनि क्रोध र रोषको बर्खे आँधीको वेगमा, कालो कपाल हावामा हल्लाउँदै उसले अन्तिम खुड्किलो पार गर्‍यो। ऊ सिरानमा पुग्यो। उसको अनुहारमा अचानक उन्मुक्त हाँसो छायो, उसका आँखा शान्ति र आनन्दले चम्किए, उसको मुठ्ठी खुकुलियो। उसले त्यहाँ आनन्दसँग बसिरहेका राजारजौटा र सामन्तलाई हेर्‍यो। त्यसपछि तल बसेर चिच्याइरहेका, गाली गरिरहेका, क्रोधित मानिसको मैलो भीड हेर्न खोज्यो। तर, अहिले जे देख्यो त्यसबाट उसको अनुहार रिसले काँपेन, बरु उज्यालो भयो। ऊ खुशी भयो, आनन्दित भयो। उसले तल हेर्दा देखेको भीडका मानिस राम्रा लुगामा सजिएका थिए, अलि पहिलेसम्म चिच्याइरहेका ती मानिस अहिले भजन गाइरहेका थिए।

“तिमी को हौ ?” त्यहाँ बसेको सिपाहीले कुटिल बोलीमा सोध्यो।

“म जन्मले राजकुमार हुँ र भगवानहरू मेरा दाजुभाइ हुन्। यो संसार कति सुन्दर छ र यहाँका मानिस कति सुखी छन् !”

(२४ वर्षकै उमेर सन् १९२३ मा निधन भएका बुल्गेरियाका वामपन्थी लेखक मिनेस्कीलिखित ‘द टेल अफ द स्टेयर्स’ कथाको नेपाली भाषान्तर। कथाको नेपाली संस्करण, यसका नायक युवकलाई आफ्नो लक्ष्यमा पुर्‍याउन तन, मन र धनले सहयोग गर्नुहुने महान सर्वहारा मजदूर-किसान र उनीहरूका देशीविदेशी हिमायती कविकलाकार, संगीतकार, साहित्यकार, बुद्धिजीवि-मानवाधिकारवादीप्रति समर्पित छ। कथा पढ्न सुझाउने मधु आचार्यप्रति आभार।)

भाषा तथा परिवेश रुपान्तरः मोहन मैनाली

सोमबार, २४ फागुन, २०७७, साँझको ०५:०० बजे

सम्बन्धित खवर