प्रदेशसभा बैठक अबरुद्ध

विराटनगर । सांसदहरुले उठाएका प्रश्न र सरकारका कामबारे प्रदेशसभााई जानकारी दिनुपर्ने माग गर्दै प्रदेश १ प्रदेशसभाका विपक्षी दलले बिहीबारको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख प्रदीपकुमार भण्डारीले आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङलाई प्रदेशसभा सदस्य पदबाट हटाएको पत्र पढेर संसदलाई जानकारी गराएपछि विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठेर बैठक अवरुद्ध गरेका थिए । विपक्षी दलका तर्फबाट कांग्रेसका सचेतक सूयर्माराज राईले चालु आर्थिक वर्षमा स्वीकृत विकास निर्माणका योजनाहरुको स्रोत सूनिश्चितताका साथै सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए ।

राईले बोलेपछि पुनः विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठेर बैठक अवरुद्ध गरे । सभामुख भण्डारीले पटक–पटक बस्न आग्रह गर्दापनि नमानेपछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

बिहीबारको शुन्य समयमा सांसद उमिता विश्वकर्माले निर्वाचन क्षेत्र पूर्वाधार र विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बजेट व्यवस्था गर्न माग गर्दै सरकारले कार्यक्रमको बजेट कटौती गरेकाले प्रदेशसभा सदस्यहरु जनतामाझ आलोचित हुनु परेको गुनासो गरिन् । अर्का सांसद नारायणबहादुर मगरले बजेट अभावमा निर्माण कम्पनीले प्रदेशभरि बहुवर्षीय सडकलगायतका योजनाहरुको काम अघि नबढाउँदा योजनाहरु अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले सरकारले ८५ प्रतिशत प्रगति गरेको विवरण सदनमा जानकारी दिएपनि त्यसअनुसार काम नभएकाले बजेट खर्चबारे सदनलाई जानकारी ध्यानाकर्षण गराए ।

बिहिबार, २६ चैत, २०७७, रातीको १०:४४ बजे

सम्बन्धित खवर