अर्जुनधारा नगरपालिकाकाले मिल्क होली डे नगर्ने

अजुनधारा / पूर्वार्ध कृषि सहकारी संस्था र अर्जुनधारा नगरपालिकाका बीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी आज ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रम समूहमा उत्पादित दूध खरिद गर्ने कार्यका लागि पूर्वार्ध कृषि सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगसँग सम्झौता गरिएको हो ।
उक्त सम्झौतामा अर्जुनधारा नगरपालिकाद्वारा सञ्चालित पशु पकेट प्याकेज कार्यक्रम अन्तर्गत खुदुनाबारी कृषक समितिले उत्पादन गरेको दूध पूर्वार्ध डेरी उद्योगले खरिद गर्ने तथा दूधको मूल्य नेपाल सरकारले तोकेको दूधको गुणस्तर अनुसार एसएनएफ र फ्याटको आधारमा निर्धारण गरी किसानलाई भुक्तानी गरिने उल्लेख छ ।
त्यसैगरी, डेरी उद्योगले खुदुनाबारी कृषक समूहका कृषकहरुलाई शेयर प्रदान गर्ने, बजारीकरण गर्नको लागि नगरले खुवा मेसिन तथा आइस क्रिम मेसिन खरिद गर्ने र अन्य कार्यको लागि सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौतामा दूध चिस्यान गरे वापत प्रतिलिटर एक रुपैयाँका दरले डेरी उद्योगले कृषक समूहलाई थप रकम दिनुपर्नेछ । उद्योगले समूहलाई टिएस रकम वापत २० प्रतिशतले प्रदान गर्ने, नगरपालिकाले सहयोग गरेवापत डेरी उद्योगले कृषकहरुलाई लाभदायक कार्यक्रमहरु सञ्चालन गर्ने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिनु भएको छ । त्यस्तै, डेरी उद्योगले विषम परिस्थिति बाहेक मिल्क होली डे नगर्ने, ऐन नियम अन्य कुराहरु फरक परेमा आवश्यकता बमोजिम आपसी समाझदारीमा थपघट तथा परिर्वतन गर्ने सक्नेगरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख हरिकुमार रानाको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल र सहकारी संस्थाको तर्फबाट अध्यक्ष कमल भण्डारीले हस्ताक्षर गर्नु भएको छ । चालू आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिकाले वडा नं. २ खुदुनाबारी क्षेत्रलाई पशु पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

