श्रेष्ठ माथि हेल्मेट प्रहार

काँकडभिट्टा /  मेचीनगर नगरपालिकाको न्यायिक समिति बैठकमा मंगलबार कुटाकुट भएको छ । मेचीनगर ६ तल्लो भानु टोलका तोयानाथ चेपाड र अरुणोदय माविबीचको जग्गा विवादको छलफलमा कुटाकुट भएको हो । चेपाडको पक्षमा छलफलमा सहभागी नयाँ शक्ति पार्टी झापा अध्यक्ष वीरबहादुर श्रेष्ठलाई नेकपाका युवा नेता सुमन थापाले कुटेका हुन् ।

नगरपालिकाको मुख्य गेटमा रहेका श्रेष्ठलाई थापाले हेल्मेट प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । ‘एक्कासी टाउकोमा हेल्मेट प्रहार भयो’ श्रेष्ठले भने, ‘छक्क परें ।’
उनलाई प्रहार गरिएको हेल्मेट फुटेको छ । श्रेष्ठले टाउकोमा चोट लागेको र मुखबाट रगत निस्किएको जनाएका छन् । कुटपिटमा ज्योति तामाङ पनि सामान्य घाइते भएकी छन् । श्रेष्ठका छोरा सरोज र थापाका भाइ दिवाकर कार्कीबीच पनि हात हालाहालको स्थिति भएको प्रत्यक्षदर्शीले बताए । कुटपिटपछि श्रेष्ठले संलग्नलाई कारबाही माग गर्दै इलाका प्रहरी काँकडभिट्टामा उजुरी दिएका छन् । श्रेष्ठको हाल बिएण्डसी हस्पिटलमा उपचार भईराखेको छ
नगरकी उपमेयर मीना उप्रेतीले आफ्ना कोठामा प्रतिनिधिमूलक रुपमा छलफल भइरहेका बेला कोठा बाहिर कुटपिटको घटना भएको बताइन् । पक्षरविपक्षबीच हात हालाहाल भएपछि नगरका प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङगले नगरपालिका गुन्डागर्दी गर्ने स्थल नभएको भन्दै भीड तितरवितर पारेका थिए । उनले अश्लिल शब्द प्रयोगसमेत गरेको प्रत्यक्षदर्शीले बताए । यस बिषयमा मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले दुबैको गल्ती भएको बताए ।
घटनाको चुरो
१८ वर्षदेखि बसोबास गर्दै आएको जमिन अरुणोदय माविको नाममा रहेको भन्दै विद्यालयले उनलाई हटाउन नगरलाई पटक पटक आग्रह गरेको थियो । तर, चेपाङ परिवारले वर्षौदेखि बसोबास गर्दै आएको जमिन स्कुलको नभएको र आफ्नै भएको दाबी गर्दै आएको थियो । यही विषयमा छलफल गर्न नगरको न्यायिक समितिले छलफलमा बोलाएको थियो ।
छलफलमा चेपाङले कुनै हालतमा जमिन नछाड्ने जिकिर गरेका थिए । स्कुलले भने उक्त जमिन आफ्नो भएको भन्दै तत्काल जमिन छाड्न भनिरहेको थियो । स्कुलका संस्थापक भगिरथ राईले स्कुलको जमिन खाली गर्नुको साटो उल्टै निर्माण कार्यको गतिविधि बढाएका कारण बाध्य भएर नगरपालिकालाई गुहार्नु परेको बताए । राईले भने,‘५ लाख दिन्छु जमिन छाड्नु भन्दा पनि मान्दैनन् ।’
यता तोयानाथ चेपाङले आफू बस्दै आएको जमिन स्कुलको नभएको दाबी गरे । भने,‘यो जमीन कसैको पनि होइन । छेउछाउका जमीनबाट उभ्रिएको हो । १८ वर्षदेखि झुप्रो हालेर म बस्न थालें अब मेरो हो ।’
खास घर चितवनको टिकौली भएका तोयानाथ २०५४ सालदेखि यहाँ बस्न थालेका हुन् । छिमेकी कृष्णा सुवेदीसँग अन्तरजातीय बिहे गरेपछि उनी आफ्नो थातथलो छाडेर झापा आएका हुन् । तोयानाथले रिक्सा चलाएर ४ जना छोरी पढाइरहेका छन् ।
कान्तिपुर बाट साभार

बुधबार, २५ पुष, २०७५, दिउँसोको ०१:५६ बजे

सम्बन्धित खवर