काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री रावलले आफूलाई विश्वास मत प्राप्त होस् भनेर छलफल गर्न राखेको प्रस्ताव नै प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको हो ।

मुख्यमन्त्रीले विश्वासको मत माग्ने सम्बन्धि प्रस्ताव छलफलमै जान नसकेकोले विश्वासको मत लिने प्रस्ताव मतदानमा लैजानै परेन । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले आजसम्म विश्वासको मत पाइसक्नुपर्ने संबैधानिक व्यवस्था थियो ।

जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित अन्य जनाको जेलमुक्तिको सर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार नै ढलेको हो । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।

एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनबाट २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिने बिहीबार अन्तिम दिन थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नागरिक उन्मुक्ति बैठकमै सहभागी भएन । सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्‍थ्यो ।गत पुस २७ मा सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि एमाले संसदीय दलका नेता रावललाई समर्थन दिएको नागरिक उन्मुक्तिका सांसद आजको बैठकमा सहभागी नै भएनन् ।

Facebook Comments Box