काठमाडौं / ‘भ्यालेन्टाइन डे’को पूर्वसन्ध्यामा सरकारले विदेशबाट फ्रेस गुलाबको फूल ल्याउन रोक लगाएको छ । कृषि मन्त्रालयले एक सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रल मातहतका नाका कार्यालयहरुलाई आयात अनुमति जारी नगर्न भनेको हो .नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयलाईहरु पत्राचार गर्दै केन्द्रले विशेष कारण भन्दै गुलाबको फूल आयातमा रोक लगाएको हो ।

यो सूचनासंगै पूर्वको काँकडभिट्टा देखि पश्चिमको गड्डा चौकी र उत्तरका कुनै पनि निकाबाट गुलाव आयात गर्न पाइने छैन् । ‘केन्द्र मातहतका सबै कार्यलयहरुबाट विशेष कारणले अर्को व्यवस्थमा नभएसम्म गुलाबको फूल आयात अनुमति जारी नगर्न हुन अनुरोध गरिन्छ’ परिपत्रमा भनिएको छ ।
प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले भने वनस्पतिजन्य रोगको जोखिमका कारण आयातमा तत्कालका लागि रोकिएको जनाएको छ । केन्द्रले यसलाई रोकिएको भन्दा पनि होल्ड गरिएको भनेर बुझ्न आग्रह गरेको छ । विरुवाजन्य चीजमा रोग र किराको सम्भावना भएपछि तत्काल आयातलाई रोकिएको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताए ।

‘नेपालमा गुलाब र अन्य बिरुवामा रोग आउने जोखिम देखियो । जोखिम अध्ययन पनि नभएका कारण अहिलेलाई रोकिएको हो’ उनले भने । यसबारे प्राविधिक समितिको बैठक बाँकी नै रहेकाले त्यसपछि मात्रै थप निर्णय हुने आचार्यले बताए ।

भन्सार विभागको विवरणअनुसार आर्थिक वर्षको पुससम्म नेपालले १३ लाख ३३ हजार रुपैयाँ बराबरको १० हजार ६१२ किलो गुलाबको फूल आयात गरेको छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएनका कार्यक्रम संयोजक जेबी तामाङले सरकारको निर्णय बजारमा अब अभाव देख्न सक्ने बताए । एसोसिएसनकाअनुसार प्रणय दिवस आसपासमा नेपालमा झण्डै तीन लाख पिस (स्टिक) गुलाबको फूलको खपत हुन्छ । नेपालमा झण्डै २० हजार पिस मात्रै गुलाबको फूल उत्पादन हुने उनले बताए ।

Facebook Comments Box