संखुवासभामा खानेपानीको चरम अभाव, हजारौं नागरिक प्रभावित

चैत २६, २०७५ संखुवासभा /  खानेपानीको चरम अभाव भएपछि संखुवासभामा बसाइँ सर्ने क्रम तीव्र भएको छ। खानेपानीको हाहाकार भएपछि तीन स्थानीय तहका ४५ घरपरिवारले गाउँ छाडेका छन्। खानेपानी अभावकै कारण चैनपुर नगरपालिकामा १०, धर्मदेवी नगरपालिकामा २५ र पाँचखपन नगरपालिकामा १० घरपरिवार बसाइँ सरेका छन्। धर्मदेवीको दुई वडा वडाबाट मात्र २५ घर परिवार खानेपानी अभावकै कारण बसाइँ सरेका छन् ।

वडा नम्बर ७ मा १५ घर बसाइँ सरेको वडाध्यक्ष भोलामान श्रेष्ठले बताए। कुवापानी, आहाले, मालवासे लगायता गाउँमा चरम खानेपानी अभाव भएपछि यहाँका बासिन्दा बसाइँ सरेका हुन्। वडा नम्बर ८ बाट दुई वर्षमा १० घरपरिवार बसाइँ सरेका छन्। खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङ लगातका गाउँमा पानीको अभाव रहेको वडाध्यक्ष सञ्जिव कटुवालले जानकारी दिए ।

चुवाडे गाउँका ३५ परिवार पानी लिन तीन घण्टाभन्दा बढी समय लगाएर अरुण नदीसम्म धाउनुपर्ने बाध्यता रहेको वडाध्यक्ष कटुवालले बताए। नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ मा पनि खानेपानी अभाव रहेको नगर प्रमुख रमेशकुमार जिमीले बताए। खानेपानी चरम अभाव रहेको वडा नम्बर ७ र ८ मा डिप बोरिङबाट पानी निकाल्न नगरपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख जिमीले जानकारी दिए। ‘खानेपानी योजनाका लागि नगरपालिकाले ७० लाख रुपौयाँ बजेट विनियोजन गरेका छौँ,’ उनले भने, ‘खानेपानी ल्याउनका लागि पानीको मुहान नै छैन,त्यसैले योजना सञ्चालन गर्ने दुविधामा छौँ।’ केही ठाउँमा व्यक्तिको जग्गामा पानीको मुहान भए पनि सिँचाइमा समस्या हुने भन्दै उनीहरुल् मुहानबाट पानी लैजान दिएका छैनन्। पाँचखपन नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७ र ८ मा खानेपानी अभावले बसाइँ सर्ने क्रम तीव्र भएको छ।

नजिकमा भएका खानेपानीको मुहान सुक्ने थालेका स्थानीयको भनाइ छ। खानेपानी अभावमा धेरै परिवार बसाइँ सरेको नगर प्रमुख विपीन राईले बताए। नगरपालिकाका तीन हजारभन्दा बढी परिवारले खानेपानी अभाव झेलिरहेको नगरप्रमुख राईले बताए। खानेपानीको मुहान खोजी र योजना सञ्चालन गर्न नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ। विभिन्न मुहानलाई एकीकृत गरी पानी ल्याउन १५ करोड रुपैयाँ खर्च लाग्ने भएकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गरिएको नगरप्रमुख राईले बताए। चैनपुर नगरपालिका वडा नम्बर ६, ७, १० र ११ का करिब दुई हजार ५०० घरधुरीमा खानेपानीको अभाव रहेको छ। वडा नम्बर ११ नम्बरमा दुई वर्षमा आठ घरपरिवार बसाइँ सरेको वडाध्यक्ष धर्मराज चौहानले जानकारी दिए। पानी अभावका कारण कृष्णबहादुर दाहाल, डिकबहादुर दाहाल, झटक अधिकारी, धर्मराज कठेत, भद्रबहादुर दाहाल लगायतको घरपरिवार वसाएँ सरेका हुन्।

कुइवीर, मलाटे, अम्बोटे, रातमाटे, गैरीगाउँ, लुहाकोट लगायतका गाउँका ६३० परिवारमा खानेपानीको अभाव रहेको वडाध्यक्ष चौहानले बताए। त्यसैगरी, सभापोखरी गाउँपालिका–१ मा खानेपानीको उस्तै अभाव रहेको वडाध्यक्ष मणिसुन्दर राईले बताए। उक्त वडाको करिब ३०० घर परिवारमा खानेपानीको अभाव रहेको छ। खानेपानी योजना सञ्चालनका लागि धेरै आयोजनाहरु सञ्चालनमा रहे पनि मुहान टाढा भएकाले सफल नभएको वडाध्यक्ष राईले बताए। खाँदबारी नगरपालिकामा पनि पानीकोे अभाव उस्तै छ।

तीन हजार ५०० घरपरिवारलाई पानी वितरण गर्न खाँदबारी वृृहत खानेपानी आयोजना सञ्चालन गरेपनि सफल हुन सकेको छैन। आयोजनाको पाइप सडक हुँदै ल्याइएकाले यातायात सञ्चालनका क्रममा पाइप फुट्दा हप्तौँसम्म पानी बन्द हुँदा बजारबासी मारमा परेका छन्।

मङ्गलबार, २६ चैत, २०७५, दिउँसोको ०३:५९ बजे

सम्बन्धित खवर