धरानमा बिषादी रहित तरकारी

दमक/ पहाडी जिल्लासँगै धरानको पानवारी, ठिंगाबारी, विष्णुपादुकालगायत क्षेत्रमा उत्पादन भएको हरियो सागसब्जीमा बिषादी रहीत पाइएको छ ।


धरानमा बिक्री हुने सागसब्जीमा बिषादीको मात्राबारे गरिएको परीक्षणबाट बिषादीको न्युन मात्रा पनि नभेटिए पछि ढुक्कले किनेर खान बिज्ञहरुले आग्रह गरेका छन् । हिउँदे बालीकोरुपमा उत्पादन भएर धरानमा बिक्री हुन आउने हरियो तरकारी एवं सागसब्जीहरुको नमुना परीक्षणबाट बिषादी नभएको रिपोर्ट आएको हो । अब बर्खायाममा उत्पादन हुने तरकारीको नमुना पनि परीक्षण गर्ने तयारी भइरहेको छ । धरान उपमहानगरपालिकाले आर्थिक सहयोग गरेर फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्टलाई बिषादी परीक्षण गर्ने जिम्मा दिएको थियो ।
यो संस्थाका अध्यक्षसमेत रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बूले भने,‘हामीले धरानमा कहाँ कहाँबाट तरकारी आउछ भनेर सर्वे गर्यौं, त्यसपछि ती ठाउँमा कति बिषादी बिक्री हुने पसल छ, र कुन बिषादी बढी बिक्री हुन्छ भनेर पनि सर्वे गर्यौं । त्यसपछि तरकारी उत्पादन हुने क्षेत्रमा पनि पुग्यौं ।’ उनका अनुसार गत पुष, माघ, फागुन र चैतमा बजारमा आएको तरकारीको नमुना संकलन भएको थियो । त्यसक्रममा आलु, टमटर, काक्रा, रायो साग, धनिया, बोडी, तोरी सागको नमुना परीक्षण गरिएको थियो । ‘कुनै पनि तरकारीमा बिषादीको मात्रा भेटिएन, सबै निल नै थियो,’लिम्बूले भने,‘यो ज्यादै खुशीको कुरा हो, धरानमा बिक्री हुने तरकारी सुरक्षित छ, ढुक्कले खादा हुन्छ ।’
लिम्बूका अनुसार धरानको तरकारी बजारहरु भानुचोकस्थित सब्जी बजार, पुरानो बजार, अमान बजारको अर्गा्निक हटिया, बुढासुब्बा मन्दिर क्षेत्र, देवी गाउँ, बसन्तटारलगायत क्षेत्रको नमुना संकलन गरेर परीक्षण गरिएको थियो । ‘आलु, टमटर, काक्रा, रायो साग, धनिया, बोडी, तोरी सागलगायतको नमुना परीक्षण गरेका थियौं,’लिम्बूले भने,‘किसानले पनि सरकारले प्रतिबन्ध नलगाएको नै बिषादी हालेका छन्, तर उत्पादन भएको तरकारीमा परिक्षण गर्दा बिषादीको मात्र छदैछैन, त्यसैले तरकारी पखालेर ढुक्कले खादा हुन्छ ।’ किसानहरुले प्रयोग गरिरहेको बिषादीको मात्रा नभेटिए पनि अन्य केही बिषादीको मात्रा भेटियो । तर, ती बिषादीले मानव स्वास्थ्यलाई कुनै असर नपार्ने भएकोले चिन्ता नलिन उनले आग्रह गरे ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले पनि हिउँदे उत्पादनको तरकारीको बिषादी परीक्षण भएको जानकारी दिदै अब बर्खा यामको उत्पादनको पनि परीक्षण गरिने बताइन् । ‘यो बेमौषमी उत्पादनमा बिषादी हुन्छ भन्ने कुरा थियो, तर बिषादी देखिएन, हामीले खाने सागसब्जी सुरक्षित रहेछ,’उनले भनिन्,‘अब धरानमा आउने दुधको पनि परीक्षण गर्न सम्झौता भइसकेको छ, मासुको पनि परीक्षण गछौं ।’
विश्वकै उत्कृष्ट प्रविधिबाट परीक्षण
फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्टले गरेको परीक्षणबाट धरानमा बिक्री भइरहेको तरकारीमा बिषादीको मात्रा भेटिएन । यो ज्यादै खुशीको कुरा हो । के यो परीक्षण विश्वसनीय हो त ? भन्ने प्रश्न पनि उब्जिएला । तर, यो संस्थाले विश्वकै उत्कृष्ट बिषादी परीक्षण गर्ने प्रविधिबाट परीक्षण गरेको जनाएको छ ।
संस्थाका अध्यक्षसमेत रहेका माइक्रोबायोलोजी विभागीय प्रमुख लिम्बूका अनुसार हरियो तरकारी परीक्षण जिसिएमएस( ग्याँस क्रोमेटोग्राफि मास स्टोक्ट्रोमेटी ) प्रविधिबाट गरिएको हो । यो प्रविधि विश्वकै उत्कृष्ट र अत्याधुनिक हो । यो प्रविधि नेपालको ३ ठाउँमा मात्र छ । त्यसैले यो प्रविधिबाट परीक्षण गर्ने प्राविधिकहरुको संख्या पनि ज्यादै न्युन छ । विश्वस्तरीय प्रविधि भएकोले परीक्षणको रिपोर्टबारे शंका नहुने प्रमुख लिम्बूले बताए । ‘यो विश्वकै उत्कृष्ट प्रविधिबाट गरिएको परीक्षणको नतिजा हो, त्यसैले तलमाथि हुने शंका छैन, र जे रिपोर्ट आएको छ, त्यो धरानबासीको लागि हितकर छ,’उनले भने ।