ओलीलाई आगोसँग नजिस्किन थापाको चेतावनी

बिर्तामोड/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुइतिहाइको दम्भ बोकेर आगोसँग नजिस्किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।थापाले हिन्दुलाई चिड्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। झापाको बिर्तामोडमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जनजागरण कार्यक्रममा पुगेका अध्यक्ष थापाले काठमाडौंमा भएको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लक्षित गर्दै आगोसँग नखेल्न सरकारलाई चेतावनी दिए। थापाले भने, ‘आइन्दा सरकारले यस्तो हर्कत नगरोस्, आगोसँग खेल्ने काम नगरोस्।’ उनले हिन्दु जनजागरण कार्यक्रम बेमौसमको बाजा नभएको बताए। हिन्दु राष्ट्र पुनः स्थापनाको अभियान चुनावका बेलामा मात्र गरिने मुद्दा नभएको भन्दै थापाले भने, ‘यो हाम्रो निरन्तरको संघर्ष हो, यो अभियान कुनै धर्मका विरुद्धमा गरिएको होइन, यो अभियान नेपालीहरू आस्था र विश्वासको संरक्षणका लागि गरिएको हो।’ त्यस्तै राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले अहिले राप्रपालाई भोट होइन, सपोर्ट चाहिएको बताए। हिन्दु राष्ट्र पुनः स्थापनाको अभियानमा जनताको सपोर्ट राप्रपालाई चाहिएको उनले बताए। लिङदेनले भने, ‘तपाईंहरूले केही दिनअघि काठमाडौंमा गरिएको जात्रा देखिहाल्नुभयो, विदेशीहरू धार्मिक द्वन्द्व निम्त्याउन पैसाको खोला बगाएर लागिपरेका छन्, तपाईं हामी सजग हुनुपर्छ।’ त्यस्तै कार्यक्रममा जगतगुरु मोहनशरणले हिन्दुराष्ट्र पुनः स्थापनाका लागि जुनसुकै कार्यक्रममा पनि आफू उपस्थित हुने बताए।

